२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौँ । शिक्षक सेवा आयोगले तिनै तहको विज्ञापन खोलेर आवेदन संकलन गरिसकेको छ। विविध कारणले ढिला खुलेको आयोगले चैतमा मात्रै परीक्षा तोकेको हुँदा नयाँ शैक्षिक सत्रमा शिक्षकहरू विद्यालय पुग्ने अवस्था छैन। यस्तोमा कहिले पुग्छन् विद्यालयमा शिक्षक भन्ने चासो सर्वत्र छाइरहेको छ।
आयोगले मावि तर्फको शिक्षक पदको परीक्षा मिति चैत १५ गते, निमावि तहको चैत १७ गते र प्रावि तहको चैत १९ गते तोकेको छ । ओएमआर (अप्टिकल मार्क रिडिङ) प्रविधिबाट उत्तरपुस्तिका जाँच्ने आयोगको तयारी रहेको छ ।
चैतमा भएको परीक्षाको नतिजा प्राविधिक समस्या नभएको खण्डमा दुई महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेको आयोगले जनाएको हो ।
आयोगका प्रवक्ता मरहट्टा भन्छन् ‘प्रविधिले धोका नदिए, सिस्टमहरु सबै अपडेट भए हामी दुई महिनाभित्रमा सामान्य तर्फको नतिजा सार्वजनिक गर्छौं ।’
सामान्य परीक्षामा पास हुन कम्तीमा ५० अंक ल्याउनुपर्छ । सामान्य परीक्षाबाट विषयगत परीक्षामा सहभागी हुन योग्य भएका उम्मेदवारलाई जेठ अथवा असार पहिलो हप्तामा आयोगले विषयगत परीक्षा लिने तयारी गरेको छ । विषयगत परीक्षा भएको ढिलोमा ६ महिनाभित्र शिक्षकलाई कक्षा कोठामा पठाउने तयारी गरेको आयोगको भनाइ छ ।
आयोगका प्रवक्ता सुदर्शन मरहट्टा भन्छन्, ‘हाम्रो कार्ययोजना अनुसार विषयगत परीक्षा भएको सकेसम्म छिटो र बढीमा ६ महिनाभित्र नतिजा सार्वजनिक गर्ने छ । कात्तिकसम्म हामीले शिक्षकहरुलाई सिफारिस गरिसक्छौं होला ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij