२०८२ भाद्र ७ गते शनिवार
नेपाली साहित्यमा र बालसाहित्यमा आफ्नो छुट्टै पहिचान बनाउन सफल बिशिष्ट प्रतिभाका धनी व्यतिक्त विजयराज आचार्यको जन्म पिता पीताम्बर आचार्य र माता मनकला आचार्यको सातौँ सन्तानका रुपमा वि.सं. २०३३ साल माघ ९ गते प्यूठान जिल्लाको ऐरावती गाँउपलिका–१ , च्यान्धारामा उनले पहिलो पाइला टेकेका हुन् । साहित्यका विभिन्न विधाहरुमा हात हालेका आचार्यले हाइकु विद्यामा पनि हातहालेका छन् । साहित्यको क्षेत्रमा भन्ने हो भने उनले १०० भन्दा बढी कृतिहरु प्रकाशन गरिसकेका छन् । हाइकुको क्षेत्रमा उनले दुईवटा कृतिहरु प्रकाशन गरेका छन् । उनका हाइकु सङ्ग्रहमा रातकी रानी र पग्लिाएको धर्ती हुन् । रातकी रानी उनको पहिलो हाइकु सङ्ग्रह हो ।
रातकी रानी हाइकु सङ्ग्रहभित्र उनले आफ्नै वरिपरिको संस्कृति, समाज, वतावरण, संस्कार र माया प्रेमका कुराहरुलाई संयोजन गरेर हाइकु लेखेका छन् । आफ्नो देशको मात्र नभई विदेशी भूमि घुम्न जाँदा विदेशमा देखिएका त्यहाँको रहन सहन,संस्कृति, संस्कार, वातावरण, खानपानलाई समेत उनले आफ्ना हाइकुमा समेटेका छन् । जब उनी केही नयाँ नौला कुराहरु देख्दछन् र अनुभव गर्न पुग्दछन् , तब उनका मनमा हाइकुका हरफहरु फुर्दछन् तिनै आफुले आफ्नो जीवनमा देखेका भोगेका र अनुभव गरेका विषयहरुको प्रस्तुती नै उनका साहित्यिक क्षेत्र वा हाइकु सङ्ग्रह हुन् ।
उनका हाइकुले समाजका विकृति र विसङ्गतिलाई देखाउने मात्र होइनन् त्यो विकृति र विङ्गतिलाई कसरी सुधार गर्न सकिन्छ भन्ने तर्फ सुधारको बाटो समेत उनले देखाएका छन् । नेपाली संस्कृति र विदेशी संस्कृति बिचको के कस्तो समानता के कस्तो असमान्ता रहेका छन् भन्ने कुराहरुलाई पनि उनका हाइकुहरुमा पाइन्छन् ।
उनी जापान जाँदा जापानको हिरोसिमामा अमेरिकाले खसालेको बमबाट हिरोसिमा सहर मरुभुमि भएको र त्यहाँका मानिसमात्र नभई प्रकृति नै ध्वस्त भएको कुरालाई देखाएका छन्:
हिरोसिमामा
एटम बम खस्यो
दुखायो मन
शक्तिशाली देशले कमजोर राष्ट्रमाथि आफ्नो प्रभुत्व कसरी जमाउँछन् भन्ने कुरालाई उक्त हाइकुका हरफहरुले देखाएको छ । हाइकुकार आचार्य मुगुको राराताल घुम्न जाँदा रारातालमा इन्द्रेणीका सातै रङ्गदेख्दा मन रमाएको कुरालाई पनि उनले हाइकुका हरफहरुमा व्यक्त गरेका छन् :
मुगुको रारा
सातै इन्द्रेणी रङ्ग
मन रमायो
नेपाल प्राकृतिक छटाले भरिपूर्ण भएको मुलुक हो भन्ने कुरालाई हाइकुकारले आफ्ना रचनाहरुमा व्यक्त गरेका छन् र त कास्कीको घान्द्रुक पुग्दा उनले घान्द्रुकबाट देखिने अन्नपूर्ण हिमश्रृङखलाका विभिन्न हिमालहरुको वर्णन गरेका छन् :
घान्द्रुक गाँउ
मुस्कान् अन्नपूर्णको
बिहानीपख
बिहानको र अन्नपूर्ण हिमश्रृङखलाको काखमै रहेको पर्यटकीय स्थल घान्द्रुक गाँउको पनि चर्चा गरेका छन् । हाइकुकार आचार्यले हाइकुका हरफहरुका माध्यमबाट जगदीशपुरको ताल, दोलखाको च्छो रोल्पा हिमताल, मकवानपुरको इन्द्रसरोवर, काठमाडौँको कीर्तिपुरमा रहेको टौदहको, त्यसरी नै पोखरा घुम्न जाँदा पोखराको डेविडफल झर्नाको वर्णन र डेविडफलमा केटी हाम्फालेर मरेको कुरा पनि दर्शाएका छन् नारायणीको नदीमा गोहीको बासले मनिसहरु नारायणीमा जलबिहार गर्न डराएका कुराहरु छन् । काठमाडौँको घण्टाघर नजिकै रहेको रानीपोखरी हाल निर्माणधीन अबस्थामा रहेको छ त्यो पोखरी मरुभूमि जस्तो भएको कुरालाई पनि आचार्यले हाइकुमा व्यक्त गरेका छन् । आकाशमा हवाइजहाजमा उड्दा हवाइजहाज बादलको घुम्टोभित्र पस्दै बाहिर निस्कदै गरेको प्रसङ्गलाई पनि बडो रोचक ढङ्गबाट प्रस्तुत गरेका छन्:
जहाज यात्रा
बदलुको घुम्टीमा
बन्द कोठा झै
महाकाली नदी नेताहरुले भारतलाई बेचेका र भाषणमा राष्ट्रवाद र देशप्रेमको कुरा गरेको सुन्दा आचार्यले नेताहरुलाई व्यङ्ग्य गर्दै भन्छन्:
महाकालीमा
नेताको राष्ट्रवाद
डुव्यो पानीमा
त्यसरी नै आफ्नै जन्मभूमि नै भारतलाई सुम्पिन खोजेको कुरालाई व्यङग्यात्मक रुपमा हाइकुकार आचार्यले यसरी व्यक्त गरेका छन् :
लिपु लेकमा
देखियो राष्ट्रियता
चिप्लिए नेता
काठमाडौँमा रहेका ठिटा र ठिटीहरु चोभारको जङ्गलमा डेटिङ गएको कुरालाई पनि हाइकुका हरफहरुमा देखाएका छन् जहाँ जङ्गल छ जहाँ केही छेल परेर बस्न सकिन्छ र मानिसको कोलाहल भन्दा केही पर गएर धुवाँ, धुलो र गाडीको आवाजबाट उन्मुक्ति पाएर मनको कुरा धित मरुनजेल खोल्न पाएको प्रसङ्गलाई यसरी प्रस्तुत गरेका छन् :
चोभार डाँडा
मायालुको जङगल
जोडियो मन
जाडोको समयमा नेपालका कैयौँ चराचुरुङगीहरु साइबेरियातिर गएका र गर्मी सुरु भएसँगै फुल पार्न र बच्चा हुर्काउन फेरि नेपालमै फर्केका कुरालाई पनि लेखकले मानिसहरुमात्र होइन चराचुरुङगीहरु पनि मौसम अनुसार बसाईँसरार्इँ गर्दछन् भन्ने कुरालाई यसरी प्रस्तुत गरेका छन् :
पाहुना चरा
साइवेरियाबाट
टौदहभरि
आचार्यले आफू जापान घुम्न गएको बेलामा देखेका कुराहरुलाई पनि हाइकुका हरफहरुका माध्यमबाट धेरै कुराहरु व्यक्त गरेका छन् । जापानको जङ्गलमा सल्लाका रुखहरु भएको र ती सल्लाका रुखबाट वास्ना आएको विश्वको सबै भन्दा महङगो सदर टोकियोमा करोडौँ मानिसहरुको बसोबसभएको र मानिसहरु कोहीपनि सडकमा लखरलखर नहिँडेका वा सबै मानिस यातायातका साधनमा नै आउजाउ गरेका कुरा आचार्यले हाइकुका हरफहरुमा व्यक्त गरेका छन् :
करोडौँ मान्छे
टोकीयो सहरमा
रित्तो सडक
आचार्यले नेपालको पश्चिमी भू–भाग कर्णालीका जनताले ज्वरो आएको बेलामा सामान्य ज्वरोले थलिएका पेटभरि आँटोपिठो खान नपाएर जनता भोकभरीमा परेको प्रसङ्गलाई यसरी व्यक्त गरेका छन् :
भोकले मरे
कर्णलीका जनता
चामल मात्र
पश्चिम रोग, भोक र शोकले डुवेको छ भने पूर्व सिन्धुपाल्चोकतिर जुरेको पहिरोले प्रकृतिले नै प्रकृति र मानव निर्मित संरचनालाई ध्वस्त बनाउँदा मानिसका सपनाहरु खोलामा भलपानी बगेझै खोलाको पानीसँगै बगेको कुरा देखाएका छन् :
जुरेको पैरो
प्रकृतिको विनाश
बगे सपना
(कृतिकार विजयराज आचार्य)
राष्ट्रप्रेमी र प्रकृतिप्रेमी हाइकुकार विजयराज आचार्य प्रकृतिमै रमाउन र प्रकृतिमै हराउन चाहान्छन् । उनी प्रकृति भनेपछि हुरुक्क हुन्छन् । प्यूठान जिल्लाको दुर्गम ठाँउमा जन्मेका आचार्य आफ्नै देशको ढुङगा, माटो, झारपात, झर्ना, बोटविरुवा, तालतलैया, खोला, नालामा र आफ्नै देशको हावापानीमा डुबुल्की मार्न मन पराउँछन् । अहिले उनी आफ्नो जीवन जीउने क्रममा नेपालको राजधानी काठमाडौँ सहरमा रहे पनि त्यहाँको धुलो, मैलो, धुवाँ, कोलाहल वातावरण पिउने र नुहाने पानीको समस्या आफ्नो गाँउको जस्तो स्वच्छ र सफा हावापानी नभएको, आफ्नो गाँउमा जे जस्तो खानेकुरा खाँदा पनि सजिलैसँग पच्ने र धुवाँधुलो नभएको वातावरणलाई उनी हर समय सम्झिरहन्छन् तर काठमाडौँ सहरभित्र बस्न पाए पनि उनी यहाँ बस्नुको पीडा बेग्लै रहेको कुरालाई उनी आफ्ना हाइकुमा व्यक्त गर्दछन् र त आफ्ना प्रायः हाइकुहरुमा गाँउ, पाखा, पखेरा, खोलानाला, ताल, तैलाया, जङ्गल, भिर, पहरा, जङगली फूल, जङ्गली जनावर, चराचुरुङ्गी यस्तै हिमाली र पहाडी परिवेशका प्राकृतिक चित्रणहरु नै उनका हाइकुका विषयवस्तुहरु रहेका छन् ।
त्यसैले उनका हाइकुका हरफहरु गाँउले जीवनबाट अलग हुन सकेका छैनन् र त गाँउको परिवेशमा जन्मे हुर्केका व्यक्तिहरुले उनका हाइकुका हरफहरुलाई सजीलैसँग रसस्वादन गर्न सक्दछन् । उनका हाइकुका शब्दहरु सरल र सरस भाषशैलीमा रहेका छन् । उनका हाइकुहरु कही कही क्रमभङ्ग भएको पाइन्छ । यसो भन्नुको अर्थ पहिलो हरफमा ५ अक्षर ,दोश्रो हरफमा ७ अक्षर र तेस्रो हरफमा ५ अक्षर वा ५,७,५ अक्षर हुनुपर्नेमा कतै कतै पहिलो र तेस्रो हरफमा ६ अक्षर र दोस्रो हरफमा ८ अक्षर देखिएको छ समग्रमा भन्दा उनका हाइकुले आफ्नो धर्म छोडेको पाइदैन वा हाइकुको सिद्धान्तअनुसार नै हाइकु लेखिएको छ ।
खगेश्वर सापकोटा
गोरखा
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij