Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

‘पैतालामा हिउँ, आँखामा हिमाल’ : सङ्क्षिप्त समीक्षा

‘पैतालामा हिउँ, आँखामा हिमाल’ : सङ्क्षिप्त समीक्षा


  • 8.4K
    Shares

    ‘पैतालामा हिउँ, आँखामा हिमाल’ : सङ्क्षिप्त समीक्षा
    images

    विषय प्रवेश
    मौसम र पुस्तकले एकैसाथ मनलाई यति धेरै चञ्चल र चङ्गा बनाएको सायदै पहिलो अनुभव हो मेरो । जतिबेला म यी हरफ लेख्न बसिरहेछु, ठीक यहीबेला उपत्यकालाई फेरो मारेका चुलीहरू सेताम्मे छन् हिउँका कनिकाले । कतै ती लाप्सा बनेर मस्त निद्रामा सुतिरहेछन् त कतै ताप सहन गर्न नसकेर मेटाइरहेछन् आप्mनो अस्तित्व शनैः शनैः । जिल ख्वाइरहेछन् मलाई चुलीका हिउँका फाल्साले तर तिनको आँतलाई स्पर्श गरी रमाउन मलाई मिलिरहेको छैन समुचित समय र निजी सवारी । बरू यतिबेला अध्ययनमा लिप्त छु म नियात्राकार राजेन्द्रमान डङ्गोलकृत दोस्रो नियात्रा सङ्ग्रह ’पैतालामा हिउँ, आँखामा हिमाल’ ।
    मसँग पैतालामा हिउँको परिकल्पना मात्र छ, किन्तु आँखाले भ्याए जतिका चुलीमा हिमाल फुलिरहेको देख्दैछु । सुखद संयोग लागेको छ यो आफैँलाई । राजेन्द्रमान डङ्गोलको पहिलो नियात्रा सङ्ग्र्रह ‘यात्राका पाइला’ पनि मैले मिहीन ढङ्गले अध्ययन गरेकी थिएँ । र, मलाई निकै आनन्द लागेको थियो अध्ययन गर्दा । जहाँसम्म यो ‘पैतालामा हिउँ, आँखामा हिमालय’ कुरा छ, यो मैले आजसम्म पढेका नियात्रामध्ये सर्वोत्कृष्ट पाएँ । पठनको विषयमा कुरा गर्दा मलाई मन पर्ने विधा या त आख्यान हुन् या कविता । इमानपूर्वक कुरा गर्दा मैले आजसम्म आधा दर्जन भन्दा बेसी नियात्रा पढेकी छैन कारण मलाई नियात्राले खासै तान्न सक्दैनन् । हाई काढी काढी पढ्न जाँगर नि चल्दैन मलाई । सायद दुई बसाइँमै आद्योपान्त पढेको मेरो पहिलो नियात्रा सङ्ग्रह यही नै हो । 

    जादुमयी लेखनशैली
    बान्की परेको र काव्यात्मक लेखन शैलीले नियात्राकार डङ्गोलले पाठकलाई आफूसँगै विचरण गराउन सक्ने सामथ्र्य राखेका छन्— ‘पैतालामा हिउँ, आँखामा हिमाल’ मा । एकपछि अर्को वाक्यहरुले तान्छन् असाध्यै । नियात्रा पढिरहँदा जुन ठाउँमा उनी पुगेका छन् त्यहाँका प्राकृतिक, सांस्कृतिक र सामाजिक जीवनसँग उनी मितेरी गाँस्न सक्छन् भन्ने अनुभव भयो मलाई । हरेक पानामा नाटकीय ढङ्गले पाठक तानिएको हुन्छ तर उसलाई पत्तै हुँदैन । मलाई यस्तै भयो, म तानिएँ— हरेक शीर्षकका हरेक पानाहरुमा । 

    पर्यटन व्यवसायी राजेन्द्रमान डङ्गोल प्राकृतिक सौन्दर्यसँग मात्र मोहित हुँदैनन्, स्थानीयताका सान्दर्भिकताप्रति पनि सचेत छन् भन्ने कुरा उनले वर्णन गरेका मठ, मन्दिर, गुम्बा, विहार आदिबाट पनि अनुमान लगाउन सकिन्छ । अरू त अरू स्थानीय श्रमिकका श्रम सम्बन्ध समेत उनले उल्लेख गर्नुले उनको श्रमजीवी वर्गप्रतिको सामीप्यता बुझ्न सकिन्छ । स्थानीयसँग गरेका वार्तालापका अंशले पाठकले आफूले आख्यान पढिराखेको महसुस गर्छ भन्ठान्छु म चाहिँ । सायद मलाई आख्यानमा समावेश संवादले दिल छुने हुनाले पनि त्यस्तो लागेको हुनसक्छ । नयाँ मान्छे उनले यात्रा गरेका ठाउँमा जाने हो भने कृतिलाई हाते गाइड पनि बनाउन सक्छ । उनको लेखनमा पनि ’अग्र्यानिक’ स्वाद छ । कतिपय शब्द झर्रा छन् भने कुनै संस्कृतका । अझ स्थानीय भाषीले प्रयोग गर्ने शब्द पनि प्रयोग भएकाले के होला त्यो भनेर जान्ने हुटहुटी हुन्छ पाठकमा । 

    साहित्य र पर्यापर्यटनको सेतु 
    पर्यावरणीय सन्तुलन र संरक्षणविना मानव विकास असम्भवप्रायः छ भन्ने कुरा अब सामान्य मान्छेहरूले पनि बुझ्ने भइसकेका छन् । फेरि पर्यटन र साहित्य पनि नङ, मासु जत्तिकै निकट सम्बन्ध भएका विषय हुन् । लेखनमा समकालीन जीवन आएन र समसामयिकता झल्किएन भने त्यसलाई बलशाली लेखन मानिँदैन आजको युगमा । पर्यावरणीय संरक्षणमा उनले हरेक नियात्रामा जसरी जोड दिएका छन् त्यसले उनी दिगो पर्यटन प्रवर्द्धन र विकासको पक्षपाती भएकोझैँ लाग्छ समग्र कृति अध्ययन गर्दा । तसर्थ यो पुस्तकबारे त पर्यटन प्रवर्द्धनका योजनाकार र सरकारी सरोकारवाला निकायले पो गम्भीर मन्थन गर्नुपर्छ झैं लाग्छ मलाई । 

    भौगोलिक दृश्य, थुम्काथुम्की, भन्ज्याङ–देउराली, छाँगा–छहरा, ताल–तलैया, प्राकृतिक सम्पदाको महिमा, जडीबुटीका नाममात्र नभई तिनबाट प्राप्त हुने लाभ सरल, सहज र सरस भाषामा प्रस्तुत गरेबाट उनी पर्यावरण–मैत्री पर्यटन व्यवसायी हुन्, नियात्राकारका अतिरिक्त भन्ने आकलन सहजै गर्न सकिन्छ । उनी गएका हेलम्बु, मुस्ताङ, नारपाभूमि, पोखरा, सिराइचुली, कोरोला,रूबी भ्याली,सिन्धुली र काठमाडौं उपत्यकाका चुलीहरू घुम्दा अनुभूत गरेका विषयवस्तु जस्ताको तस्तै राख्दै गर्दा त्यहाँ भएका मानवीय अतिक्रमणलाई उनले निर्मम ढङ्गले उठाएका मात्र छैनन् यदि ती मुद्दालाई यथासमयमा र यथासम्भव सम्बोधन गरिएन भने पर्यापर्यटन ध्वस्त हुने चेतावनीसमेत दिएका छन् । पुस्तक केवल पर्यटन आबद्ध व्यक्तिहरूले मात्र नभई विद्यालयमा प्राध्यापनरत शिक्षकले पनि पढ्न अति आवश्यक छ ।

    अन्त्यमा, नेपाली नियात्रा साहित्यमा एक सक्रिय,सचेत एवम् उम्दा नियात्राकारको स्थान बनाइसकेका राजेन्द्रमानले गरेको नियात्रा खेती फस्टाउँदै जानुपर्छ र अझ गुणात्मक फसल दिनुपर्छ उनले । यो एकमुस्ट नियात्रा फसल भण्डारण गरिसकेपछि अवश्य यो भन्दा थप गुणस्तरीय फसलको पर्खाइमा छौँ र रहनेछौँ म र मजस्तै हजारौँ पाठक । नियात्राकारलाई अर्को अझ जादुमयी नियात्रा सङ्ग्रह पाठकमाझ ल्याउन उत्प्रेरणा मिलोस् । अस्तु । — सुजिता अविरल 

     

    प्रकाशित मिति :माघ २५ २०७८ मंगलवार - १०:४३:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij