Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

१८ हजार शिक्षक दरबन्दी खुलाउने शिक्षामन्त्री पौडेलको घोषणा

१८ हजार शिक्षक दरबन्दी खुलाउने शिक्षामन्त्री पौडेलको घोषणा


  • 17.5K
    Shares

    १८ हजार शिक्षक दरबन्दी खुलाउने शिक्षामन्त्री पौडेलको घोषणा
    images

    शिक्षा‚ विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले १८ हजार शिक्षक दरबन्दी खुलाउने बताएका छन् । प्रेस सेन्टर बागलुङले आयोजना गरेको पत्रकार सम्मेलनमा आइतबार बोल्दै मन्त्री पौडेलले आन्तरिक बढुवा खुलाउने, नयाँ दरबन्दी खोल्ने र विद्यालय मर्जको अभियान थाल्ने बताए । देशभरका विद्यालय र शिक्षक अनुपात अध्ययन गरेर दरबन्दी थप्न सरकार तयारीमा पुगेको उनले बताए ।

    संघीय शिक्षा ऐन, विश्वविद्यालय ऐन र प्राविधिक शिक्षा व्यवस्थापन गर्ने नयाँ ऐन बनिसकेको र संसद्‌मा लैजाने तयारी भएकाले कानुनी समस्या पनि छिटै अन्त्य हुने उनको धारणा छ । ती ऐन पारित हुँदा देशको शैक्षिक स्थितिमा धेरै सुधार हुने उनले दाबीसमेत गरे ।

    शिक्षा क्षेत्रमा सुधार ल्याउन ५५ बुँदे कार्ययोजना ल्याएको समेत मन्त्री पौडेलले बताए । ‘१८ वर्षदेखि आन्तरिक बढुवा रोकिएकाले निष्क्रिय रहेका शिक्षक पनि अब सक्रिय बन्छन्‚’ पौडेलले भने, ‘देशभरका विद्यालयको नक्सांकन गरेर भौतिक निर्माण र मानवीय स्रोतको परिचालन गर्ने पद्धति विकास गर्दैछौं ।’ अबका दिनमा शिक्षकले फाइल बोकेर मन्त्रालय धाउने चलन अन्त्य गरेर आवश्यकताको आधारमा काम हुने पद्धति विकास गरेको उनले दाबीसमेत गरेका छन् ।

    राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत विद्यालयको भवन निर्माण र विज्ञानप्रविधि कक्ष स्थापना गरेर विद्यालय तहको शिक्षा गुणस्तरीय बनाउने उनले बताए । उच्च शिक्षालाई मर्‍यादित र गुणस्तरीय बनाउन भने विश्वविद्यालयहरूमा व्यापक सुधार ल्याउने उनको भनाइ छ । ‘त्रिभुवन विश्वविद्यालयमा प्राध्यापकहरूको समस्या बढी छ, समयमा परीक्षाफल नआएर विद्यार्थी मर्कामा छन्‚’ पौडेलले भने, ‘केही सुधार ल्याउन पहल भइसकेको छ ।’ उनले विश्वविद्यालयमा पनि आयोगमार्फत दरबन्दी पुरा गर्ने काम थाल्ने प्रतिबद्धता जनाए ।

    मन्त्री पौडेलले ४ वर्षदेखि १२ वर्षका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन सरकारले तयारी गरेको भन्दै खोप ल्याउने क्रम सुरु भइसकेको बताए । ‘विद्यालयमै पुगेर खोप लगाउने काम हुन्छ‚’ उनले भने, ‘विद्यालय खुलाउने अभियानमा खोप कार्यक्रम प्रभावकारी हुनेछ ।’ अर्को प्रसंगमा उनले एमसीसी यथास्थितिमा पारित नहुने बताए । पार्टी र गठबन्धनको धारणा पनि यही हो । गठबन्धनका दलमा बहसको विषय भएकाले परिमार्जनसहित पारित गर्न समयसमेत माग्ने कुरा भएको उनले बताए ।

    प्रकाशित मिति :माघ २३ २०७८ आइतवार - १६:५७:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij