२०८२ भाद्र ८ गते आइतवार
काठमाडौँ । यतिबेला नेपाल सरकारले भौतिक उपस्थितिमा विद्यालय खोल्न र पठन पाठन गर्न रोक लगाएको अवस्था छ।
कोभिड १९ महामारीको (तेस्रो) ओमिक्रोन भेरियण्टका कारण स्वास्थ्य जोखिम बढेको भन्दै कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को सिफारिसमा नेपाल सरकारले उक्त निर्णय गरेको हो।
कोभिड १९ नेपाल भित्रिएदेखि नै पटक पटक शिक्षा क्षेत्रलाई मात्रै कोरोना सर्ने ठाउँ मानेर बन्द गरिएको भन्दै शिक्षाकर्मीहरू बारम्बार गुनासो गरिरहेका छन्।
राजधानीको साँखु पालुबारी सामुदायिक विद्यालयका शिक्षक राजेन्द्र दंगाल सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनु भन्दा पनि हचुवाको भरमा विद्यालय बन्द गर्ने निर्णय गरेको बताउँछन्।
सार्वजनिक यातायातमा भिडभाड कायमै राखेको, निजी सवारीमा जोर बिजोर प्रणाली लागु गरेर सास्ती दिएको सरकारले अनुगमन नगर्दा सङ्क्रमणको जोखिम झनै बढेको उनको भनाइ छ।
स्कुल, कलेज र शैक्षिक क्षेत्रलाई बारम्बार सरकारले प्रहार गर्दा नेपालको शैक्षिक क्षेत्रको भविष्य के हुन्छ भन्ने प्रश्न उठेको उनी बताउँछन्।
बौद्ध नयाँबस्ती स्थित जोन एकेडेमीका प्रधानाध्यापक भोज कुमार धमला नेपाल सरकारको यो निर्णय व्यवहारिक नभएको धारणा राख्छन्। स्कुल र शैक्षिक संस्थामा मात्रै कोरोना देख्ने सरकारको दृष्टिकोण नै गलत भएको भन्दै शैक्षिक संस्था मासिनु समग्र देशकै लागि विडम्बनाको कुरा हुने उनी बताउँछन्।
प्रशासनले लगाएका नियमहरू मान्नुपर्ने आफूहरूको दायित्व भए पनि त्यो विभेदपूर्ण हुन नहुने उनको भनाइ छ। धमलाकै शब्दमा भन्ने हो भने बालबालिकाहरू विद्यालयमा बढी सुरक्षित हुन्छन्। ७/८ घण्टा सडकमा खेल्ने बालबालिकाहरू विद्यालयमा रहँदा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराइने हुँदा सुरक्षित रहन्छन् । अधिकांश बालबालिकाहरू वैकल्पिक शिक्षाको पहुँचमा समेत नभएको अवस्थामा भौतिक कक्षा बन्द गर्नु उपयुक्त नभएको उनको भनाइ छ।
यसअघि हिजो मात्रै राजधानीको गोकर्णेश्वर नगरपालिकाले आउँदो आइतबार देखि भौतिक उपस्थितिमै विद्यालय खोल्ने निर्णय गरेको थियो।
अघिल्लो पटक पनि भौतिक उपस्थितिमा पहिलो चोटि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको उक्त नगरपालिकाले यसपटक पनि अग्र स्थानमा रहँदै यो निर्णय गरेको हो। नगरपालिकाभित्रका सामुदायिक एवं संस्थागत विद्यालयका शिक्षक, अभिभावक, शिक्षाका पेशागत संस्थाका पदाधिकारीहरूको चाहना तथा मागअनुसार विद्यालय खोल्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ।
उक्त निर्णयको विद्यालय, शिक्षक, कर्मचारी, विद्यालयका छाता सङ्गठन आदिले स्वागत गरेका छन् भने अन्य पालिकाले पनि यो निर्णय बाट प्रेरित हुँदै आवश्यक तयारी सहित विद्यालय खोल्नुपर्ने धारणा राखेका छन्।
तर प्रशासनलाई भने यो निर्णय पटक्कै मन परेको छैन। अघिल्लो लकडाउनमा गोकर्णेश्वर नगरपालिकाको विद्यालय खोल्ने निर्णयलाई एकै दिनमा बन्द गराएको र पछि समर्थनमा व्यापक जनआवाज उठेपछि पछि हटेको प्रशासनले यो पटक पनि त्यस्तै प्रतिक्रिया दिएको छ। गोकर्णेश्वर नगरपालिकाले विद्यालय सञ्चालन गर्ने तयारी गरेको समाचार पछि काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले प्रशासनको अर्को आदेश नभएसम्म विद्यालय खोल्न नपाइने प्रतिक्रिया दिएका छन्। प्रशासन फेरी पनि बन्द गराउन तिर उन्मुख हुने उनको आशय छ।
यसरी हेर्दा अझै पनि नेपालका विद्यालय तथा शैक्षिक संस्थाहरू खुलिहाल्छन् भन्न सकिने अवस्था छैन।
कहाँ छ वास्तविक समस्या?
नेपाल सरकार र प्रशासनले जनताको जीवन रक्षाका लागि भन्दै भौतिक रूपमा विद्यालय सञ्चालन गर्न रोक लगाउनु एक हिसाबले उचित निर्णय लाग्दछ। कोरोना सङ्क्रमण बढ्दै गए गत वर्ष जस्तै अस्पतालमा बेड तथा अक्सिजन अभाव हुने र हाम्रो स्वास्थ्य प्रणालीले धान्नै नसक्ने भयावह स्थिति नआउला भन्न सकिन्न। त्यसो भन्दै गर्दा विद्यालय बन्द गरेर अन्य क्षेत्रमा भिडभाड रोक्न नसक्दा सङ्क्रमणको ग्राफ नियन्त्रणमा आउन सकेको छैन। सडक, पार्क, बजार, विवाह लगायतका समारोह, राजनैतिक पार्टीका कार्यक्रम लगायत अन्य थुप्रै ठाउँमा मानिसको खचाखच भिड रहनु र कोरोना सर्छ भन्दै विद्यालय चाहिँ बन्द रहनु आफैमा हास्यास्पद छ। स्वास्थ्य प्रणालीलाई मजबुत बनाउँदै रोगसँग लड्ने क्षमता विकास गर्नुको साटो घरमै बस भन्ने आदेश दिनुले देशको शैक्षिक क्षेत्र मात्रै नभई अर्थतन्त्र नै जोखिममा परेको अवस्था छ।
त्यसबाहेक नेपाल सरकारले भनेजस्तो वैकल्पिक विधि पूर्ण रूपमा अवलम्बन गर्न नेपालका शैक्षिक संस्थाहरू सक्षम छैनन्। प्रविधिको पहुँच सबै ठाउँमा पुगेको छैन भने शिक्षक, विद्यार्थी र अभिभावक त्यसप्रति अभ्यस्त बन्न पनि नसकेको अवस्था छ। सँगै पछिल्लो पुस्ताका बालबालिकाको लत बनेको पब्जी, फ्रिफायर लगायतका अनलाइन गेम र टिकटक लगायतका मनोरञ्जन माध्यमहरूले पनि वैकल्पिक सिकाइमा चुनौती थपेका छन्। एकोहोरो शिक्षकले अनलाइनमा कराइरहने र विद्यार्थी अनलाइन गेम तथा टिकटकमा रमाइरहने समस्या रहेको शिक्षकहरूको गुनासो छ। विभिन्न अध्ययनहरूले समेत बालबालिका घरभित्रै थुनिएर रहँदा उसको शारीरिक, मानसिक, सामाजिक तथा संवेगात्मक विकासमा असर पर्ने निष्कर्ष दिएको हुँदा सिकाइका लागि भौतिक उपस्थिति नै उत्तम उपाय भएको निष्कर्षमा पुग्न सकिन्छ।
अतः कोरोनाको महामारीलाई बेवास्ता गर्ने र विद्यालय खोल्ने निर्णय मात्रै गर्नु भुल हुनेछ भने सधैँ बालबालिकालाई घरभित्रै थुनेर विद्यालय बन्द राख्नु महाभूल हुनेछ। त्यसैले मध्यविन्दु विकल्पका रूपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै विद्यालय सञ्चालन गर्ने र प्रशासनले सहयोगी भूमिका निर्वाह गर्दै सहजीकरण र अनुगमन गर्ने गरेमा यो समस्या समाधान हुन्थ्यो कि ? (मात्र एजुकेसन)
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij