बेलायत । बेलायतमा आगामी २७ जनवरीबाट कोभिड–१९ महामारीबाट बच्न लगाइएका सबै प्रतिबन्ध हटाउने भएको छ ।
बिहीबार बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यस्तो घोषणा गरेका हुन् । अब २७ जनवरीबाट बाहिर निस्कँदा मास्क समेत लगाउनु नपर्ने भएको छ । घरबाटै काम गर्नु पर्ने नियम आइतबारबाट हटाइएको छ । कार्यालय स्कुल, बजार सबै खोल्ने निर्णय भएको छ ।
बाहिरबाट प्रवेश गर्नेलाई दुवै डोज खोप लगाएको प्रमाणपत्र देखाए पछि पीसीआरको नेगेटिभ रिपोर्ट देखाउनु नपर्ने निर्णय प्रधानमन्त्री जोनसनले गरेका छन् । कोरोना संक्रमित भएका व्यक्तिले आइसोलेसनमा बस्नुपर्ने नियम भने मार्च २४ सम्मका लागि कायम राखिएको छ । ७ दिन आइसोलेसनमा बस्नुपर्ने नियमलाई ५ दिनमा झारिएको छ ।
देशका ७२ प्रतिशत जनाताले कोभिड–१९ विरुद्ध खोपको पूर्ण डोज लगाइसकेको, ५५ प्रतिशतले बुस्टर डोज समेत लगाइसकेकाले जोनसनले जानकारी दिएका छन् । कोभिड–१९ संक्रमण र खोपका कारण देशमा ९५ प्रतिशत जनताको शरीरमा कोरोना भाइरसविरुद्ध एन्टीबडी बनिसकेकाले प्रतिबन्ध लगाउन जरुरी नभएको उनको भनाइ छ । बेलायतमा बिहीबार १ लाख ७ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको थियो । ३३० जनाले कोरोनाका कारण ज्यान गुमाएका थिए । दैनिक कोरोना पुष्टि हुनेको संख्यामा बेलायत अहिले विश्वमा चौथो नम्बरमा छ। डिसेम्बरदेखि बेलायतमा ओमीक्रोन भेरियन्टसहित संक्रमण तीब्र गतिमा फैलिएको थियो ।
त्यसपछि त्यहाँ विभिन्न प्रतिबन्धहरु लगाइएको थियो ।
