२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । निजी मेडिकल कलेज सञ्चालकहरुले मेडिकल कलेजहरु संकटमा रहेको भन्दै सबै मेडिकल कलेजहरु ताला लगाउनुको विकल्प नरहेको बताएका छन्। एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्डल कलेज अफ नेपालले शनिबार एक विज्ञप्ति जारी गर्दै मेडिकल कलेजका सञ्चालकमाथि आक्रमण जारी रहेकाले मेडिकल व्यवसायीसँग धैर्यताको बाँध फुटिसकेको बताएका हुन्।
संस्थाका अध्यक्ष बसरुद्धिन अन्सारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीले शान्तिपूर्ण रुपमा पटक–पटक राज्यका अंगहरुसँग श्रृंखलाबद्ध रुपमा मेडिकल कलेज व्यवसायीहरुमाथि भइरहेको आक्रमण रोक्न आग्रह अनुरोध गरेपनि कुनै सम्बोधन नगरेको ठहर गरेका छौं। निजी क्षेत्रबाट सञ्चालित मेडिकल व्यवसायीसँग धैर्यताको बाँध फुटिसकेको अवस्थामा अब हाम्रा सबै मेडिकल कलेजहरुमा ताला लगाउनुको विकल्प देखिएन। तसर्थ, कोरोना भाइरसको तेश्रो चरणको महामारी सन्निकट रहेको समयमा हामीले हाम्रा स्वास्थ्य संस्थाहरुमा ताला लगाएर चाबी सरकारलाई बुझाउने परिस्थिति सृजना नहोस्। ’
‘राज्य निजी क्षेत्र मैत्री छैन् भन्ने कुरा मेडिकल कलेज सञ्चालकहरुमाथि गरेको व्यवहारबाट प्रष्ट भइसकेको कुरा हो। नेपालमा निजी क्षेत्रबाट सञ्चालित मेडिकल कलेजहरुलाई धरासायी बनाएर वर्षेनी हजारौं नेपाली विद्यार्थीहरुलाई अरबौं रुपैया बोकेर विदेशीभूमीमा पठाउन राज्य संयन्त्र नै सक्रिय रहेको छ। पर्दा पछाडी रहेर अमुक विदेशी शक्ति र तिनका एजेण्टहरुको इशारामा नेपालको मेडिकल शिक्षा र स्वास्थ्य सेवालाई तहसनहस बनाउने सड्यन्त्र स्वयं राज्यका नियामक निकाय तथा मेडिकल शिक्षा सुधारको नाममा अमूक विदेशी एजेण्टको भरिया बनेर कुर्लनेहरुले गरेका छन्। ’
विज्ञप्तिमा भनिएको छ,‘जब राज्य नै एजेण्टहरुको संरक्षक बन्छ भने त्यहाँ कुनैपनि व्यक्ति, व्यवसायी सुरक्षित रहन सक्दैनन्। विश्वका ठूल्ठूला देशहरु विकसित राष्ट्र बन्नुमा निजी क्षेत्रको लगानी र तिनले तिर्ने करबाट सम्भव भएको हो। तर, यहाँ त सरकारी संस्थाहरुलाई त कोल्याप्स पारिएको छ नै निजी क्षेत्रबाट अरबौं ऋण लिएर सञ्चालित संस्थाहरुलाई समेत सिध्याउने कार्य भइरहेको छ।’ यसअघि अनेरास्ववियूले शुक्रबार शिक्षा मन्त्रालयमा काठमाडौं मेडिकल कलेजका सञ्चालक सुनील शर्मालाई मोसो दलेको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij