काठमाडौँ । नोबेल मेडिकलका सञ्चालक सुनिल शर्मालाई कारबाही नगरे थप आन्दालेन गर्ने विद्यार्थीले चेतावनी दिएका छन् । एमबिबिएस प्रथम वर्षका विद्यार्थीसँग कानुनविपरीत अतिरिक्त शुल्क असुल्न खोजेको भन्दै विद्यार्थीले आन्दोलन गर्दै आइरहेका छन् ।
अतिरिक्त शुक्त्त खारेजीको विरोधमा १४ पुसदेखि आन्दोलित विद्यार्थीको माग पूरा गर्नुको साटो उल्टै केही अभिभावकलाई दबाबमा पारेर सहमतिको बहाना बनाउँदै पीडित विद्यार्थीलाई थप दबाबमा राख्न खोजेपछि पीडित विद्यार्थी र संगठनहरूसँग नोबेल मेडिकल कलेजकाको द्वन्द्व थप चर्किएको हो। शनिबार चार जना अभिभावकलाई राखेर सबै विद्यार्थीसँग सहमति भएको भन्दै नोबेलले सहमतिपत्र सार्वजनिक गरेपछि असन्तुष्ट विद्यार्थी र उनीहरूलाई समर्थन गर्दै आएका पाँच विद्यार्थी संगठनहरू थप आक्रोशित बनेका छन्।
पीडित विद्यार्थी र संगठनहरूसँग कुनै छलफल नै नगरी र आमअभिभावकहरूको सहमति नै नलिईकन केही अभिभावकलाई दबाबमा पारेर सहमतिका नाममा नोबेलले थप जालझेल गरेको विद्यार्थीले आरोप लगाएका छन् ।
पीडित विद्यार्थी र संठगनहरूले आइतबार संयुक्त्त विज्ञप्ति जारी गर्दै एकलौटी सुटुक्क गरेको सहमतिको बहाना मान्य नहुने बताएका छन् । त्यस्तै नियम–कानुनविपरीत कार्य गर्नेलाई पक्राउ गरेर कारबाही गर्न माग गरेका छन्।
