२०८२ मंसिर ६ गते शनिवार
वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२३ मा मृतावस्थामा फेला परेका रिक्सा चालक भारतीय नागरिक मुख्तार मियाँको रहेको खुल्न आएको छ । ४५ वर्षीय मियाँको पुस २२ गते हत्या भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भारतको बिहार राज्य वैशाली घर भई हाल वीरगञ्ज–३ छप्कैया बस्दै आएका मियाँको हत्या भएको अनुसन्धानपश्चात खुल्न आएको हो । आपसी झगडा हुँदा फलामको रिन्चले टाउकामा प्रहार गरेर मियाँको हत्या गरिएको प्रहरीले जनाएको छ ।
मियाँको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले बिहारको पूर्वी चम्पारण, मोतीहारी–६ घर भई हाल वीरगञ्ज छप्कैया बस्ने ई–रिक्सा चालक सुनिल कुमार, बारा परवानीपुर गाउँपालिका–५ बस्ने निकेश पटेल, बिहारको मुङ्गेरका घर भई वीरगञ्ज छप्कैया बस्ने सपन मण्डल, भारत बिहार घर भई वीरगञ्ज छप्कैया बस्ने नाजिर हुसैन र छप्कैया बस्ने बाबर हुसैनलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले अनुसन्धानका क्रममा मियाँको हत्या भएको खुल्न आएको र हत्यामा संलग्न पाँच जनालाई पक्राउ गरिएको बताए । मृतक मियाँ र पक्राउ परेका मण्डल एउटै घरमा डेरा गरी बस्दै आएका थिए ।
उनीहरुबीच केही दिनअघि झगडा भएपछि मण्डलले मियाँको हत्या गरी फालिदिने धम्की दिएका थिए । मण्डलले सुनिललाई भेटी मियाँको हत्या गर्न ५० हजार दिएको प्रहरी अनुसन्धानबाट खुलेको जनाइएको छ । मियाँको हत्यामा संलग्न पाँच जनालाई पक्राउ गरिए पनि एक भारतीय नागरिक फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij