२०८२ मंसिर ६ गते शनिवार
रोम । युरोपेली संसद्का अध्यक्ष डेविड सास्सोलीको ६५ वर्षको उमेरमा निधन भएको संसद्का प्रवक्ताले मंगलबार जानकारी दिएका छन् ।
इटालीका पूर्वपत्रकार तथा मध्यमागी वामपन्थी राजनीतिज्ञ दुई साताभन्दा लामो समयदेखि सिकिस्त बिरामी भएका कारण उनका सम्पूर्ण औपचारिक कार्यक्रम रद्द गरिएका थिए । रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर समस्या देखिएपछि उनलाई गएको महिना इटालीको एउटा अस्पतालमा भर्ना गरिएको थियो । उनका प्रवक्ता रोवर्टो कुइल्लोले एभियानोस्थित अस्पतालमा मंगलबार बिहान सबेरै उनको निधन भएको ट्विटरमार्फत पुष्टि गरेका छन् ।
गत वर्षको सेप्टेम्बरमा पनि सास्सोलीको स्ट्रासवर्गस्थित एक अस्पतालमा निमोनियाको जटिल समस्याको उपचार गराइएको थियो । त्यसपछि नोभेम्बरमा उनी पुनः नियमित राजनीतिक कामकाजमा फर्केका थिए ।
उनको स्थानमा नयाँ अध्यक्ष नियुक्तिका लागि यसै महिनाको उत्तराद्र्धमा संसद्मा मतदान गर्ने योजना बनिसकेको थियो । तर, उनले पुनः उमेदवारी नदिने जनाएका थिए ।
टेलिभिजनका पूर्वसमाचारवाचक सास्सोली सन् २०१९ को जुलाइमा ७०५ सिटको युरोपेली संसद्को अध्यक्ष बनेका थिए । बीबीसीबाट ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij