नुवाकोट । नुवाकोटको त्रिशुलीमा रहेको त्रिशुली अस्पताल तोडफोड भएको छ । अस्पतालमा एक सुत्केरी गराउने क्रममा गएराति महिलाको मृत्यु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका हुन् ।
अस्पतालका मेसु डाक्टर दीपन्द्र पाण्डेका अनुसार विदुर नगरपालिका–७ की २७ वर्षीया महिलाको सुत्केरी भइसकेपछि अध्याधिक रक्तश्राव भएर मृत्यु भएको हो । महिला सामान्य तरिकाले सुत्केरी भएकी थिइन् । चिकित्सकको लापरवाहीले महिलाको मृत्यु भएको भन्दै आफन्तहरु तोडफोडमा उत्रिएका थिए ।
स्त्रीरोग विशेषज्ञहरुको निरन्तरको प्रयासका बाबजुद पनि महिलालाई बचाउन नसकिएको मेसु डा.पाण्डेले बताउनु भएको छ । करिब २०० जनाको समूहमा जम्मा भएका आफन्तहरु अस्पताल तोडफोड गरेका थिए । चिकित्सक, स्वास्थ्यकर्मीमाथि आक्रमणको प्रयास समेत गरेको उनले जानकारी दिए।
आफूहरुले लुकुर ज्यान जोगाएको र अहिले पनि त्रसित अवस्थामा रहेको डा.पाण्डेले बताए । फार्मेसी, ओपीडी कक्षलगायत अस्पतालका विभिन्न भागमा आक्रोशित भीडले तोडफोड गरेको छ। नर्स र चिकित्सकलाई धम्की दिँदै उनीहरुले आक्रमणको प्रयास गरेका थिए।
महिलाका आफन्तले आफूहरुमाथि ज्यान मुद्दा चलाउने धम्की दिएको उनले जानकारी दिए । अहिले अस्पतालको इमर्जेन्सीबाहेकका सेवा ठप्प छन्।
