२०८२ मंसिर ६ गते शनिवार
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहक महानुभावहरूका लागि कार्ड लेस क्यास विड्र सेवाको सुरुआत गरेको छ । यो सुविधामार्फत सिटिजन्स बैंकका मोबाइल बैंकिङ्ग सुविधा लिएका ग्राहकहरूले बिना कार्ड एटीएमबाट पैसा निकाल्न सक्नेछन् । यस प्रविधिमा मोबाइलमा पासवर्ड प्राप्त गरी सो पासवर्ड निकाल्न खोजिएको रकम र मोबाइल नम्बर एटीएम मेसिनमा प्रविष्ट गरी पैसा निकाल्न सकिने छ ।
यो प्रविधि सरल एवं सहज हुनुका साथै आफूसँग कार्ड नभएको अवस्थामा समेत एटीएमबाट पैसा निकाल्न सकिनेछ । उक्त प्रविधिको एक समारोहका बीच उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बिना कार्ड एटीएमबाट पैसा निकाल्ने प्रविधि डिजिटल बैंकिङ्गको क्षेत्रमा एउटा महत्वपूर्ण कोशेढुङ्गा भएको बताएको छ ।
उहाँले अब प्रत्येक ग्राहकले आफ्नो मोबाइलबाटै सम्पूर्ण बैंकिङ्ग कारोबार गर्ने समय आएको र सिटिजन्स बैंक पनि यस दिशातर्फ अग्रसर भइसकेको बताउनुभयो । बैंकले यसअघि मोबाइलबाटै खाताको विवरण हेर्ने, विभिन्न उपयोगी सेवाको भुक्तानी गर्ने, रकमान्तर गर्नेलगायत नयाँ कार्ड तथा पिन अनुरोध गर्ने, मुद्दति खाता खोल्ने, कर्जा अनुरोध गर्ने, अनलाइन खाता खोल्ने, केवाईसी गर्नेजस्ता सुविधा प्रदान गर्दै आइरहेको छ । सिटिजन्स बैंकले १७४ वटा शाखाहरूबाट करीब १३ लाख ग्राहकहरूलाई आधुनिक बैंकिङ्ग सेवा दिँदै आएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij