२०८२ मंसिर ६ गते शनिवार
काठमाडौँ । संघीय मामिला तथा प्रशासन मन्त्रालयले १६ जना सहसचिवको सरुवा गरेको छ। केही दिन अघि मात्र मन्त्रिस्तरीय निर्णय गर्दै १० जना सहसचिवका सरुवा गरिएको शुक्रबार थप ६ सहसचिव सरुवा गर्ने निर्णय भएको छ ।
१६ जना सहसचिवको सरुवा हुँदा श्रवणकुमार तिमिल्सेना, शिवकुमार कार्की, मनमाया पंगेनी र कृष्णप्रसाद पन्थ गृह मन्त्रालयबाट बाहिर पठाइएको छ भने सहसचिव राजेश्वर ज्ञवाली, नारायणप्रसाद रिसाल र सुरेन्द्र पौडेललाई गृह मन्त्रालयमा प्रवेश गराइएको छ ।
गृहबाट बाहिरिएका झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तानिएको छ । यस्तै अख्तियारमा प्रवक्ताको भूमिकामा रहेका नारायणप्रसाद रिसाल गृह मन्त्रालयमा भित्रिएका छन् । यस्तै नवलपरासीका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेश पोखरामा खटाइएको छ भने बागलुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीलाई समावेशी आयोगमा पुगेका छन् ।
यस्तै धनकुटाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थ लुम्बिनी प्रदेशको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा खटाइदा लगानी बोर्डका सहसचिव सुरेन्द्र पौडेल गृह मन्त्रालयमा भित्रिइएका छन् । यता सामान्यको अतिरिक्त समूहमा थन्काइएका राजेश्वर ज्ञवालीलाई गृहमा भित्राइएको छ । यस्तै,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव भरत अर्यालको झोलुंगे पुल डिभिजन कार्यालयमा पठाइएको छ ।
राजश्व प्रशासन तालिम केन्द्रका दीर्घराज मैनालीलाई सामाजिक विकास मन्त्रालय प्रदेश १ मा खटाइएको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव रिता जोशीलाई सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशको सचिव बनेर खटाइएको छ । यस्तै कर्णाली प्रदेशको आन्तरिक मन्त्रालयका सचिव झक्क आचार्यलाई कर्णाली प्रदेशकै आर्थिक मामिला मन्त्रालयमा पठाइदा आन्तरिक मामिला मन्त्रालय कर्णाली प्रदेशको सचिव चक्रबहादुर बुढालाई अर्थ मन्त्रालयमा तानिएको छ ।
यस्तै संघीय मामिला मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव राम आधार शाह शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा शिवप्रसाद रेग्मीलाई वन मन्त्रालय सरुवा गरिएको छ। यस्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण खारेज भएपछि संघीय मामिला मन्त्रालयको अतिरिक्तमा रहेका भगवान् अर्याललाई लगानी बोर्डमा सरुवा गरिएको छ। उता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव बद्रीनाथ अधिकारीलाई गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सरुवा गरिएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij