२०८२ माघ १० गते शनिवार
आइतबार उच्च अंकले बढेको सेयर बजार आज पनि दोहोरो अंकले बढेको छ। साताको दोस्रो कारोबार दिन सोमबार पुँजीबजार मापन गर्ने परिसूचक 'नेप्से' ३०.०३ अंकले बढेर २६१६.९४ विन्दुमा उक्लिएको छ। आइतबार नेप्से ६०.४१ अंकले बढेको थियो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज कूल चार अर्ब ५३ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल २३० वटा कम्पनीका ८२ लाख पाँच हजार ५२ कित्ता सेयर ५४ हजार ५०५ पटक किनबेच भएका छन्।
आज २८ करोड ४४ लाख रुपैयाँभन्दा बढीसहित खरिद-बिक्री रकममा हिमालयन डिस्टिलरी अग्रस्थानमा रहेको छ। यसैगरी, दोस्रो स्थानमा अपी पावर र तेस्रोमा शिवम् सिमेन्ट्स परेका छन्।
आज उत्पादन र प्रशोधनबाहेक सबै उपसमूहको परिसूचक हरियाली बनेको छ। लघुवित्त उपसमूहको परिसूचक सबैभन्दा धेरै बढेको छ। कारोबार भएकामध्ये १४९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने बाँकी कम्पनीको घटेको छ।
मध्य भोटेकोशी जलविद्युतको सेयर मूल्य १० प्रतिशतले बढेपछि सकारात्मक सर्किट लागेको थियो। आज रुरु जलविद्युतका लगानीकर्ताले सबैभन्दा धेरै २.५९ प्रतिशतका दरले गुमाएका छन्।
यसैगरी आज ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ५.८६ अंकले बढेर ४८७.८७ विन्दुमा उक्लिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij