२०८२ मंसिर ७ गते आइतवार
सिन्धुली। ऐतिहासिक तथा पर्यटकीयस्थल सिन्धुलीगढी घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्यामा ह्वात्तै बढेको छ । सिन्धुलीगढीमा नेपाल–अंग्रेज युद्धपछि नेपालमै पहिलो युद्ध सङ्ग्रहालय निर्माण गरिएपछि छिमेकी मुलुक भारत तथा तेस्रो मुलकबाटसमेत पर्यटकहरु सिन्धुलीगढी अवलोकनका लागि आउन थालेका हुन् ।
सिन्धुलीगढी १८२४ मा नेपाललाई उपनिवेश बनाउँन आएका व्रिटिस अंग्रेजहरुसंग भएको युद्धमा गोर्खालीहरुले विजय प्राप्त गरेका युद्धस्थल हो । कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्गबहादुर खत्रीका अनुसार हिजो आज दैनिक एक हजारबढी आन्तरीक तथा बाह्य पर्यटकहरुले सिन्धुलीगढी, युद्ध संग्रहालय तथा त्यहाँबाट देखिने सुन्दर दृष्यपान गर्ने गरेका छन् ।

‘अंग्रेजी नयाँ वर्षको दिन शनिबारमात्र सिन्धुलीगढीमा भारतीय पर्यटकसहित एक हजारबढीले अवलोकन भ्रमण गरेका छन् । यो हालसम्मकै सबैभन्दा धेरै पर्यटक एकै दिन सिन्धुलीगढी पुगेको रेकर्ड हो,’ खत्रीले भने । नगरपालिकाले प्राथमिकतामा राखेर सिन्धुलीगढीको पूनर्निर्माणमा थालेसंगै पछिल्लो ६ महिना यता अमेरीका, बेलायत, श्रीलंका, अष्ट्रेलिया, जापान, पाकिस्तान भारत लगायतका देशका नागरिकहरुले सिन्धुलीगढीको अवलोकन गर्न थालेका छन् ।
विसं १८२४ मा नेपाललाई उपनिवेश बनाउँन आएका व्रिटिस अंग्रेजहरुसंग भएको युद्ध र युद्धस्थलका बारेमा चासो राख्दै पाकिस्तानका जल, थल र वायु सेनाका प्रमुखले समेत केही महिना अघिमात्र सिन्धुलीगढीको अवलोकन गरेका छन् ।
नगरप्रमुख खत्रीका अनुसार अंग्रेजी नयाँ वर्ष सन् २०२२ मनाउन तथा अवलोकन भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकहरुबाट शनिबार एकैदिन एकलाख १२ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।
सिन्धुलीगढीको अवलोकनका लागि नेपालको राजधानी काठमाण्डौं, रामेछाप, दोलखा, काभ्रेका साथै पूर्वी नेपाल र मध्ये तराईका जिल्लाबाट हजारौं पर्यटकहरु आइपुग्ने गरेका छन् । नेपाली सेनाको करिब ८ करोड रुपैयाँको लागत सहयोगमा गत साउनमा युद्ध संग्रहालय निर्माण सम्पन्न गरेपछि सिन्धुलीगढी अवलोकनका लागि आउने पर्यटकहरुको संख्यामा बृद्धि भएको हो । संग्रहालयमा तोप, घरेलु हातहतियार लगायतका युद्ध सामाग्री तथा युद्धवृत्त चित्र प्रदर्शनीमा राखिएको छ । उक्त संग्राहलय राष्ट्रपती विद्यादेवी भण्डारीले उद्घाटन गरेकि थिइन् ।
सिन्धुलीगढी भ्रमणमा आउनेहरुले सिन्धुलीगढी युद्ध संग्रहालय, रानिदरबार, ठुदो दरबार, गणेश हिमाल, तराईका फाँटहरुकासाथै महाभारत क्षेत्रमा पाईने लोपोन्मुख प्राकृतिक जडीबुटीहरुको अवलोकन गर्न सक्ने सिन्धुलीगढीका ज्ञाता तथा कमलामाई नगरपालिकाका अधिकृत सागर कुमार ढकाल बताउँछन् ।
सिन्धुलीगढी पर्यटन वर्ष २०२०का लागि सरकारले घोषणा गरेका उत्कृष्ट एक सय पर्यटकीय गन्तव्यस्थल मध्येको एक स्थल हो । यहाँ अहिले हरेक महिना कम्तीमा १५ हजारबढी पर्यटकहरु आउने गरेका छन् । ‘हामीले ऐतिहासिक सम्पदाको संरक्षण, पूनर्निर्माण तथा प्रचार प्रसारलाई जोड दिदैँ सिन्धुलीगढीलाई नेपालकै एक उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक काम गरिरहेका छौं,’ ढकालले भने ।
सिन्धुलीगढीमा ऐतिहासिक दरबार भग्नावषेश भएपछि चार करोड ३८ लाख बढीको लागतमा पूरानै शैलिमा निर्माण कार्य धमाधम भईरहेको छ । नेपाल-अंग्रेज युद्धका क्रममा हताहत भएको स्थलमा समाधि स्थल, आड भन्ञ्याङबाट गढीसम्म बडाहाकीम पदयात्रा गरेको बाटोलाई पूनर्निर्माण, लोकगायक कृष्ण विक्रम थापाको शालिक स्थापना जस्ता कार्यहरु भईरहेको ढकालको भनाई छ ।
यसबाहेक दुबै गढीमा प्रवेशद्धार, सानो र ठूलो पौवा, आड भन्ञ्याङ्ग गढी दरबार, युद्ध किल्ला, पिकनीक स्पोट, होमस्टे, अतिथी गृह, पानी, शौचालय, पार्किङ, हेलीप्याड, भ्यूटावर, म्युजियमका साथै स्थानीय भाषा संस्कृति संरक्षणमा जोड दिइएको छ । पछिल्लो समय हरेक कात्तिक २४ गते सिन्धुलीगढीमा अंग्रेजविरुद्धको विजयोत्सवकारुपमा नेपाली सेनाले नेपाली झण्डोत्तलन र सलामी समेत दिने गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij