२०८२ माघ ७ गते बुधवार
काठमाडौं । गायक शिव परियारको स्वरमा रहेको ‘तिम्रो याद भुलाउन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा उमेश रेग्मीको शब्द तथा संगीत, महाराज थापाको संगीत संयोजन छ ।
युवराज वाइवाले निर्देशन गरेको भिडियोमा प्रेमिकाले छाडेपछि उसको याद भुलाउन एउटा प्रेमीले मदिराको सहारा लिएको देखाइएको छ ।
भिडियोमा सञ्चारकर्मी नरेश भट्टराई र टेलिभिजनकर्मी तथा मोडल साक्षी लम्साल फिचर्ड छन् । याद भुलाउन मदिराको सहारा लिँदा प्रेमीले आफूलाई अझ बिगारिरहेको सन्देश भिडियोमा ब्यक्त गरिएको छ । गीतबारे गायक शिव परियार भन्छन्, ‘यसलाई राम्रो आधुनिक गीतका रुपमा चित्रण गर्न चाहन्छु।
लामो समयदेखि अमेरिका बस्दै आएका उमेश रेग्मीको शब्द तथा संगीतमा अहिलेका धेरै चलेका गायक–गायिकाले गीत गाईसकेका छन् । अमेरिकामा रहेर पनि नेपाली गीत संगीतमा सक्रिय रेग्मीको ‘बाबाको दुई पैसे जागिर, मेरो याद तिमीलाई आउँछ आउँदैन’, ‘मैले गर्ने मायामा’, ‘प्रिय तिम्रो तस्विर’, ‘छोरी’ लगायत गीत चर्चित छन्।
निसल पौडेलले छायाँकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । गीतको भिडियो गोत्र इन्टरटेन्टमेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij