२०८२ मंसिर १३ गते शनिवार
कनेक्ट आइपिएस नेपाल क्लियरिङ हाउसले सञ्चालन गरेको विद्युतीय भुक्तानीको सरल माध्यम हो। यस प्रणालीमार्फत् बैंक तथा वित्तीय संस्थामा नगई घरबाटै आफ्नो बैंक खातामा रहेको रकम विभिन्न तरिकामा भुक्तानी गर्न सकिन्छ।
कनेक्ट आइपिएससँग जोडिएपछि एकभन्दा बढी बैंकखाता लिंक गरी अन्तरबैंक पैसा स्थानान्तरण गर्न सकिने कम्पनीका सिइओ निलेशमान सिंह प्रधान बताउँछन्।
‘कनेक्ट आइपिएसको वेबसाइट छ। राष्ट्र बैंकले तोकिदिएको सीमाभित्र रहेर कारोबार गरिरहेका छौं,’ सिइओ प्रधानले भने, ‘वेबसाइटबाट दस लाख र मोबाइल एप्सबाट प्रतिकारोबार एक लाखसम्म भुक्तानी गर्न सकिन्छ।’
क्लियरिङ हाउसले अहिले चेक क्लियरिङ, कनेक्ट आइपिएस, कर्पोरेट पे, नेसनल पेमेन्ट स्विच, एनएचसिएल-आइपिएस गरी ५ वटा सेवा प्रत्यक्ष सञ्चालन गरिरहेको छ।
यीमध्ये कनेक्ट आइपिएसमा बैंकहरूका सामान्य सदस्यहरूले अतिरिक्त सेवा लिन सक्ने प्रणाली हो।
‘मोबाइल इन्टरनेटको माध्यमबाट सरल भुक्तानीमा पहुँच पुर्याउनु कम्पनीको उद्देश्य हो,’ कम्पनीका सिइओ प्रधानले भने, ‘सेवाग्राहीले जुनसुकै ठाउँमा बसेर सोझै खाताबाट कारोबार गर्न सक्नेछन्। तेश्रो माध्यम अपनाउनु पर्दैन।’
सरकारले खाताबाट गरिने कामहरू डिजिटलाइज गर्ने भनिरहेको बेलामा कम्पनीले सहयोगी हुनेगरी काम गरिरहेको उनको भनाइ छ। यसअनुसार पछिल्लो समय नेपाल सरकारलाई भुक्तानी, नागरिक लगानीकोषमा भुक्तानी, सेयर कारोबार, सञ्चय कोषमा रकम जम्मा गर्न समेत सम्भव भएको छ।
कसरी सेवा सुरू गर्ने?
कनेक्ट आइपिएसमार्फत् कारोबार सुरू गर्न सबभन्दा पहिले प्रयोगकर्ताले एप डाउनलोड गर्नुपर्ने हुन्छ। दस लाखभन्दा बढी कारोबार रकम भए कनेक्ट आइपिएसको वेबसाइटमार्फत् जानुपर्ने हुन्छ।
एप कसरी डाउनलोड गर्ने?
यदि एन्ड्रोइड फोन छ भने गुगल प्लेस्टोरमा गएर connect IPS टाइप गर्नुहोस्। प्लेस्टोरमा यसको लोगोसहित नेपाल क्लियरिङ हाउसको कनेक्ट आइपिएस एप देखापर्छ। त्यसलाई आफ्नो मोबाइलमा इन्स्टल गर्नुपर्छ।
एप्पल फोन भए एपस्टोरमा गएर माथिकै तरिका अपनाएर एप डाउनलोड गर्न सकिन्छ।
एपमा आफ्नो साधारण विवरण भरेर लग-इन आइडी र पासवर्ड बनाउन सकिन्छ। त्यसपछि प्रयोगकर्ताले सञ्चालन गरिरहेको कुनै पनि दुईभन्दा बढी बैंकलाई एपबाट नै भेरिफाइ गर्न सक्नेछन्।
वेबसाइटमा कसरी दर्ता हुने?
दस लाख भन्दा बढीको कारोबारका लागि कनेक्ट आइपिएसको वेबसाइटमा जानुपर्छ। वेबसाइटको माथिल्लो दायाँ कुनामा साइन इन र साइन अप भन्ने विकल्प हुन्छ। साइन इन कनेक्ट आइपिएसमा पहिल्यै जोडिएकाहरूका लागि हो जहाँ लग-इन आइडी र पासवर्ड हाल्नुपर्छ।
नयाँ प्रयोगकर्ताले साइन-अपमा क्लिक गरेपछि एउटा फारम खुल्छ। त्यसमा नाम, इमेल, ठेगाना, मोबाइल नम्बर लगायत विवरण हुन्छन् जुन भर्नुपर्छ। त्यो भरिसकेपछि तल लग-इन गर्ने नाम र पासवर्ड हाल्नुपर्छ।
यति गरेपछि पेज खुल्छ। त्यसमा आफ्नो बैंकको विवरण भर्ने ठाउँ हुन्छ। यी सबै विवरण भरिसकेपछि बैंकले सकेसम्म छिटो स्वीकृत गर्छ। भेरिफाइ गर्न बैंक नै पुगिराख्नु पर्दैन। अधिकांश बैंकको घरैमा बसेर अनलाइन भेरिफाइ गर्न सकिन्छ। त्यसपछि कारोबार सुरू गर्न सकिन्छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij