काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले अहिले देशभर चिसो बढेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामि २४ घण्टामा प्रदेश १ र बागमती प्रदेशको पहाडी भू-भागको एक - दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
साथै तराईका भू-भागहरुमा बिहानको समयमा कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अनपाउन मौसम पूर्वानुमान महाशाखाले सचेत गराएको छ ।
२०७८ पौष ११ गते (आईतबार)
दिउँसो : देशको गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदुर पश्चिम र कर्णाली प्रदेश का एक- दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ। सुदुर पश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरु लगायत अन्य उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
यसैबीच जाडो बढेसँगै कोइला तथा हिटरको प्रयोग बढेको छ । बन्द कोठामा कोइला,हिटर बाल्दा रिङ्गटा लाग्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने लगायतका समस्या देखिने भएकाले सचेत रहन चिकित्सकहरुले आग्रह गरेका छन् । चिकित्सकहरुका अनुसार लामो समय सम्म कोइला वा हिटर बालेर बस्दा निसास्सिने, बेहोस हुने जस्ता समस्या देखिन्छ ।
हावाको ओहोरदोहोर राम्ररी नहुने कोठामा धेरै बेर सम्म, कोइला तथा हिटर बाल्नु हुँदैन । हिटर नजिकै बसेर लामो समय सम्म बस्दा छाला सुख्खा हुने, आँखामा समस्या आउने, नाकको रक्तनली फुट्ने लगायतका समस्या देखिन्छ । जाडोयाममा शरीरलाई न्यानो बनाउनका लागि बाक्लो लुगा लगाउने, तातो झोलिलो खानेकुरा खाने, अनावश्यक घरबाहिर नजान चिकित्सकहरुले सचेत गराएका छन् ।
