२०८२ मंसिर ७ गते आइतवार
विश्वमा अहिले जति पनि कोरोना खोप बनेका छन्, यी खोप दुई मात्रा लगाउनु पर्ने भनिएको छ। समय क्रममा यसले शरीरमा कोभिड–१९ विरुद्ध बनाउने एन्टिबडी कम हुने हुँदा बुस्टर डोज लगाउनु पर्ने चर्चा चलिरहेको छ। थुप्रै मुलुकले बुस्टर डोज लगाउन पनि सुरु गरिसकेका छन्।
यो हेर्दा अहिले सम्म व्यक्तिहरुले बढीमा यो खोप तेस्रो पटक लगाएका छन्। तर बेल्जियमका एक युवाले ८ पटक कोरोना खोप लगाएको पुष्टि भएको छ। नवौँ पटक खोप लगाउन जाँदा उनी पक्राउ परेका छन्। बेल्जियमको वाले शालरायका ती युवाले कोभिड–१९ बाट बच्न नभई पैसा कमाउनका लागि त्यति धेरै खोप लगाएको पाइएको छ।
बेल्जियम मिडिया लावेनिरमा प्रकाशित खबर अनुसार ती युवकले विभिन्न व्यक्तिहरुको नाममा खोप लगाउने गरेका थिए। उनले ती व्यक्तिहरुसँग पैसा लिएर खोप लगाउने गरेका थिए, जसलाई खोप नलगाइकन खोप लगाएको प्रमाण पत्र चाहिएको थियो।
ती युवकले त्यस्ता व्यक्तिहरुसँग पैसा लिने गर्थे र उनीहरुको नाममा आफैँ खोप लगाउन जाने गर्थे । यसरी ९औँ पटक खोप लगाउन जाँदा स्वास्थ्यकर्मीले तिनका हर्कत पत्ता लगाएका हुन्।
८ पटक खोप लगाए पनि उनमा कुनै साइट इफेक्ट भने नदेखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन्। उनले पैसा दिएर खोप लगाउन पठाउने व्यक्तिहरुको नाम भने खुलासा गरेका छैनन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij