२०८२ मंसिर ७ गते आइतवार
काठमाडौं। पछिल्लो समय बढेको खाने तेलको मूल्यमा भारतमा गिरावट आउन थालेको छ। खाने तेलको कच्चा पदार्थका रुपमा प्रयोग हुने फलको मूल्यमा गिरावट आएसँगै भारतमा खाने तेलको मूल्य घटेको हो। भारतीय मिडियाहरुका अनुसार पछिल्लो एक हप्तामा तोरीको तेलको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ गिरावट आएको छ।
नवभारत टाइम्सका अनुसार पछिल्लो समय तोरीको तेलको मूल्य १६५ रुपैयाँ (भारु)कायम भएको छ। यसअघि १७० रुपैयाँ प्रतिलिटर थियाे। पछिल्लो समय तेलको कच्चा पदार्थको मूल्यमा आएको गिरावटका कारण सोयाबिन, तोरीको तेल, पाम आयल लगायतका सबै खाने तेलको मूल्यमा गिरावट आएको हाे।
खाने तेलको कच्चा पदार्थको रुपमा प्रयोग गरिँदै आएका वस्तुको मूल्यमा अन्तर्राष्ट्रिय बजारमै गिरावट आएका कारण मूल्य घटेको नवभारत टाइम्सको भनाइ छ। पछिल्लो करिब २ वर्ष यता नेपाल, भारतसहिका मुलुकमा खाने तेलको मूल्यमा अस्वाभाविक वृद्धि भएको थियो।
भारतमा खाने तेलको मूल्यमा गिरावट आएपछि नेपालमा भने मूल्य घट्ने संकेत देखिएको छ। घिउ तेल उत्पादक संघले भारतमा सरकारले अनुदान दिएको तथा विभिन्न करहरुमा गरेको छुटका कारण उपभोक्ता मूल्य घटाइएको भन्दै त्यसको प्रभाव नेपालमा नदेखिने प्रतिक्रिया दिएको छ।
नेपाल घिउ तेल उत्पादक संघका सचिवालय सदस्य दिवाकर पाण्डेले भारतमा खाने तेल उत्पादनमा लाग्ने विभिन्न करहरुमा छुट दिइएकाले उत्पादन लागत कम पर्ने भन्दै मूल्यमा गिरावट आएको बताए। ‘भारतमा केही ट्याक्स घटाइदिएको छ। त्यो ट्याक्स घटेको हुनाले मूल्यमा केही कमी आएको छ। यहाँ ट्याक्स यथास्थितिमै छ। त्यसो भएको हुनाले हाम्रो अहिले निर्यातमा समेत असर परिरहेको छ। मूल्य घट्ने विषयमा केही भन्न सकिँदैन,’ उनले भने।
भन्सार विभागका अनुसार पछिल्लो केही वर्षयता नेपालले विभिन्न मुलुकबाट आयात गरेर भटमासको तेल, सनफ्लावर तेल र पाम आयल निर्यात गर्दै आएको छ। निर्यात गर्दा खाने तेलको माग बढेका कारण त्यसको असर आन्तरिक उपभोक्ता मूल्यमा पनि देखिँदै आएको छ। नेपाली व्यवसायीले भारत लगायतका मूलुकमा खाने तेल तथा तिनका कच्चा पदार्थ निर्यात गर्न थालेपछि त्यसको असरस्वरुप नेपालको आन्तरिक बजारमा खाने तेलको मूल्य अचाक्ली बढेको छ।
यता नेपाल राष्ट्र बैंकले भने असोजको तुलनामा कात्तिकमा घिउतेलको मूल्य घटेको दावी गरेको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो चार महिनाको आर्थिक अवस्था सार्वजनिक गर्दै घिउ तथा तेलको मूल्यवृद्धि २९ प्रतिशत रहेको उल्लेख गरेको छ। यसअघि असोज महिनामा उक्त मूल्यवृद्धि ३१ प्रतिशत थियो।
खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्य पछिल्लो समय भारतमा खाने तेलको मूल्य घटे पनि त्यसको असर नेपालमा नदेखिएको बताउँछन्। ‘हामीले थोक विक्रेताबाट खरिद गर्दा केही पनि घटेको देखिँदैन,’ उनले भने, ‘पछिल्लो समय नेपालमा आम निर्वाचनको माहोल देखिएकाले घट्ने संकेत छैन।’ निर्वाचनको बेलामा उद्योगीले नेतालाई चन्दा दिने भएकाले त्यसैको आडमा उद्योगीले खाद्यान्न तथा खाने तेलको मूल्य वृद्धि गर्ने बज्राचार्यको भनाइ थियो।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन सरकारले अनुमगन गरी खाने तेलको मूल्यबारे स्पष्ट बुझ्नुपर्ने बताउँछन्। ‘पहिलो कुरा त नेपालमा खाने तेलको मूल्य बढ्नुपर्ने कुनै पनि कारण थिएन। अनुगमन गरी मूल्यबारे जानकारी गराउने र अस्वाभाविक मूल्यवृद्धि भएको पाइएमा कारवाही गराउने निकाय सुतेको छ,’ उनले भने।
पछिल्लो समय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले नै लिएका छन्। अनुगमन गर्ने निकायका रुपमा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागकाले निरन्तर अनुगमन गुर्नपर्ने भए पनि उसले अनुमगनमा चासो नदिएको उपभोक्ता अधिकारकर्मीहरुको आरोप छ।
नेपाल खुद्रा व्यापार संघका अनुसार अहिले नेपाली बजारमा खाने तेलको खुद्रा मूल्य २४० रुपैयाँ प्रतिलिटरदेखि ३ सय रुपैयाँसम्म छ। अध्यक्ष बज्राचार्यका अनुसार सनफ्लावर तेलको खुद्रा मूल्य प्रतिलिटर २४० रुपैयाँदेखि २५० रुपैयाँ, भटमासको तेल २५० देखि २६० रुपैयाँ र भुटेको तोरीको तेलको मूल्य प्रतिलिटर २७० रुपैयाँ देखि २९० रुपैयाँसम्म रहेको छ। उनका अनुसार नेपाली बजारमा सनफ्लावर (सूर्यमुखी) तेल, भटमास तेल तोरीको तेल बढी खपत हुने गरेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij