२०८२ मंसिर ७ गते आइतवार
कालीकोटको तिलागुफा नगरपालिका–३ फोइमहादेव गाउँमा निःशुल्क योग तथा आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र कालीकोटको आयोजनामा आइतबार फोइमहादेव गाउँमा शिविर सञ्चालन गरिएको हो ।
दम, खोकी, ज्वरो, पिसाबसम्बन्धी समस्या, स्त्री रोग, पायल्स, नाक, कान, घाँटी, बाथ तथा बालरोगलगायत विभिन्न समस्याको उपचारका लागि शिविर सञ्चालन गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र कालीकोटका वरिष्ठ वैद्य लक्ष्मीप्रसाद पाण्डेले बताए ।
“हामीले विगतदेखि नै निःशुल्क स्वास्थ्यशिविर चलाउँदै आएका छौं, त्यहाँबाट ३२६ जनाले सेवा लिएको छ ।”, उनले भने । सो अवसरमा विभिन्न रोगको उपचार तथा परामर्श सेवा प्रदान गरेको कार्यालय प्रमुख वीरेन्द्रकुमार केसीले जानकारी दिए । आयुर्वेद स्वास्थ्य केन्द्र कालकोटका डाक्टर नमराज बोहरासहितको टोलीले बिरामीको उपचार तथा परामर्श सेवा दिएको हो ।
२९ वर्षदेखि ६० वर्ष उमेर समूहका बिरामीले सेवा लिएको प्रमुख केसीले जानकारी दिए । निःशुल्क उपचार पाउँदा नागरिक हर्षित भएको महादेव माध्यमिक विद्यालयका प्रधानाध्यपक नरदीप शाहीले बताए ।
ग्रामीण सडक कालोपत्र गर्दै
कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले नगर क्षेत्रभित्रको १२ किलोमिटर ग्रामीण सडक कालोपत्र तथा ग्राभेल गर्ने भएको छ । रास्कोट नगरपालिका–७ शान्तिघाटदेखि आरसिपी बजार हुँदै बडिमालिकासम्मको ग्रामीण सडक कालोपत्र तथा ग्राभेल हुने भएको हो ।
हाललाई नगरपालिका क्षेत्रमा रहेको १२ किलोमिटर सडक कालोपत्र तथा ग्राभेल हुने नगरपालिका उपप्रमुख मीमसरा बम शाहीले बताए । “कालोपत्रका ठेक्का भइसकेको छ । प्रदेश सरकारको १२ करोड लागतमा कालोपत्र तथा ग्राभेल हुनेछ”, उहाँले भन्नुभयो,“एक वर्ष अवधिको सम्झौता रहेको छ । त्यही आधारमा कालोपत्रको काम एक वर्षमा सम्पन्न हुनेछ ।”
नगरपालिकाभित्रैका नौ वटै वडासम्म सडक पुगेको र स्थानीय तह बनेपछि सबै वडामा सडक सञ्जालले जोडिएको उपप्रमुख बम शाहीले बताउनुभयो । “क्रमशः सबै वडामा पुगेका ग्रामीण सडक कालोपत्र र ग्राभेल गर्ने योजना रहेको छ”, उनले भने,“हामीले नौ वटै वडामा आफ्नै नगरपालिकाले स्काइभेटर(डोजर). मार्फत सडक निर्माणको काम गरिरहेका छौं ।
नगरपालिका क्षेत्रका बस्तीबस्तीमा सडक पु¥याउने योजना रहेको र समाजलाई सम्झाउन नसक्दा आफ्नो प्रतिबद्धता अनुसार काम हुन नसकेको रास्कोट नगरपालिका प्रमुख काशीचन्द्र बरालले बताउनुभयो । “हामीले नागरिकसँग गरेका प्रतिबद्धता अनुसार नै काम गरिरहेका छौं”, उहाँले भन्नुभयो,“हामीले ग्रामीण सडक मात्र निर्माण गरेका छैनौं । त्यसको स्तरोन्नति र मर्मतसम्भारलाई त्यतिकै ध्यान दिएका छौं ।”
रास्कोट जिल्लाका नौ वटा स्थानीय तहमध्ये ग्रामीण सडक कालोपत्र गर्ने पहिलो भएको जिल्ला समन्वय समिति कालीकोटका प्रमुख अनिपाल शाहीले बताए । “जिल्लाका प्रायः सबै स्थानीय तहमा सडक पुगेका छन्”, उनले भने, “रास्कोट नगरपालिका जिल्लाकै पहिलो ग्रामीण सडक कालोपत्र गर्ने नगरपालिका भएको छ ।”
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij