२०८२ मंसिर ७ गते आइतवार
केरला । भारतको केरलामा १२ घन्टाको अवधिमा दुई नेताको हत्या भएको छ। अलप्पुझामा आइतबार भारतीय जनता पार्टी (भाजपा) नेता रंजीत श्रीनिवासको हत्या भएको हो। उनी भाजपा ओबीसी मोर्चाका सचिव हुन्।
आइतबार बिहान घरमा अज्ञात व्यक्ति प्रवेश गरी उनको हत्या गरेको भारतीय मिडियाले जनाएका छन्।
यसअघि शनिबार राती सोशल डेमोक्रेटिक पार्टी अफ इन्डिया (एसडीपीआइ) का नेता केएस शानको हत्या भएको थियो। घटनामा घाइते भएका शानलाई स्थानीय अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको हो। मोटरसाइकलमा घर जाँदै गरेका शानमाथि अज्ञात समूहले आक्रमण गरेको थियो।
एसडीपीआइ नेताको हत्यापछि, पार्टी अध्यक्ष एमके फैजीले यस मामिलामा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) संलग्न भएको आरोप लगाएका छन्।
दुई नेताको हत्यालगत्तै अलाप्पुझा जिल्लामा फौजदारी कानुनको खण्ड १४४ अन्तर्गत सोमबारसम्म निषेधाज्ञा लागू गरिएको छ । केरलका मुख्यमन्त्री पिनराई विजयनले हत्याको निन्दा गर्दै संलग्नलाई कडा कारबाही गरिने बताएका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij