२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बालविकासमा कार्यरत शिक्षक (ईसीडी शिक्षक)लाई पारिश्रमिक दिन स्थानीय तहलाई निर्देशन दिएका छन् । आज बसेको शिक्षक महासंघका पदाधिकारीहरूसँगको वार्तामा मन्त्री पौडेलले सरकारले तोकेको पारिश्रमिकका विषयमा स्थानीय तहलाई कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।
“ईसीडीका शिक्षकहरूले सरकारले तोकेको पारिश्रमिक नपाएको गुनासो छ,” उनले भने, “सरकारले गरेको निर्णय कडाइका साथ लागु गराउन स्थानीय तहलाई निर्देशन दिएका छौँ ।” उनले ईसीडी शिक्षकलाई दिनुपर्ने तलब मुलुकका कुन–कुन स्थानीय तहले पालना गरेको छैन, त्यसको तथ्यांक संकलन गरी अनुगमन तथा समन्वयका लागि शिक्षा, समन्वय इकाइका प्रमुखलाई निर्देशन दिएको पनि जानकारी दिए ।
यसअघिको सरकारले प्रस्तुत गरेको बजेटमा विद्यालय कर्मचारी र बाल विकास शिक्षकको न्यूनतम पारिश्रमिक १५ हजार पुर्याउने उल्लेख गरेको थियो । तर, अधिकांश शिक्षकले तलब नपाएको गुनासो गर्दै आएका छन् । यस्तै, उनले शिक्षक अस्पतालका डीपीआर तयार गरी छिटो ल्याउन समितिलाई निर्देशन दिएको बताए । वार्ताका क्रममा मन्त्री पौडेलले शिक्षक सेवा आयोगको विज्ञापन यही महिनाको अन्तिमसम्म निकाल्न निर्देशन दिएको बताउँदै भने, “शिक्षकको आन्तरिक बढुवा पनि हुनेछ ।”
उनले शिक्षकका मागमा आफू सकरात्मक रहेको बताउँदै मन्त्रालय, क्याबिनेट र संविधान संशोधन मार्फत टुंग्याउने विषयलाई टिपोर्ट गरी ल्याउन निर्देशन दिने बताए । यता मन्त्री पौडेलले आजै विधि विज्ञान प्रयोगशालाको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा अनुसन्धानको क्षेत्रलाई फराकिलो बनाउनुपर्ने भन्दै आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको उनले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij