२०८२ भाद्र ८ गते आइतवार
सात विद्यार्थी संगठले त्रिभुवन विश्वविद्यालयको करार शिक्षकलाई स्थायी गर्ने निर्णय तत्काल खारेजीको माग गरेका छन् । सात विद्यार्थी संगठनले आज विज्ञप्ति जारी गर्दै आन्तरिक प्रतिस्पर्धाको नाममा गरिने उक्त प्रक्रियाले विश्वविद्यालयको गुणस्तर खस्किने र गलत नजिर बस्ने स्पष्ट पारेका छन् ।
उनीहरूले उक्त निर्णय कार्यान्वयन हुन नदिने र त्यसका निम्ति संयुक्त विद्यार्थी आन्दोलन शसक्त प्रतिरोधमा उत्रने चेतावनीसमेत दिएका छन् ।
विज्ञप्ति निकाल्नेहरूमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ, माओवादीनिकट अखिल (क्रान्तिकारी), एकीकृत समाजवादीनिकट अनेरास्ववियू, जसपानिकट समाजवादी विद्यार्थी युनियन, क्रान्तिकारी माओवादीनिकट अखिल क्रान्तिकारी, नेकपानिकट (अखिल क्रान्तिकारी) र राष्ट्रिय जनमोर्चानिकट अखिल छैठौं रहेका छन् ।
यस विषयलाई लिएर त्रिवि केन्द्रीय क्याम्पसमा भएको प्रदर्शनमा प्रहरी हस्तक्षेप र गिरफ्तारीको खेद व्यक्त गर्दै विद्यार्थी आन्दोलनलाई एक्यबद्धता जनाउन शुक्रबार १ बजे कीर्तिपुर क्याम्पसमा बृहत् प्रदर्शनसहित सभाको आयोजना गर्ने विद्यार्थी संगठनहरूले जनाएका छन् ।
‘सिटीभिटीले चिकित्सा शिक्षा ऐन विपरित गर्न खोजेको भर्नाको बारेमा हाम्रो ध्यानाकर्षण भएको छ । रोकिएको पिसिएल नर्सिङको भर्ना तत्काल खुलाउन माग गर्दछौं । चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क वाहेक थप शुल्क उठाउने मेडिकल कलेजहरूलाई कारबा´ही गर्न सरकारसँग माग गर्दछौं ।
अन्यथा विद्यार्थी आन्दोलनले नै कारबाही गर्ने चेतावनी दिन चाहन्छौं,’ विद्यार्थी संगठनहरूले भनेका छन्, ‘पूर्वाञ्चल विश्वविद्यालयले विगत डेढ वर्षअघि लिएको परिक्षाको परिक्षाफल आजसम्म प्रकाशन नगरेकाले विद्यार्थीहरूको करियरलाई असर परिरहेको छ । यस्ता विषयमा गैरजिम्मेवार नबन्न पदाधिकारीहरूलाई खबरदारी गर्दछौं । विश्वविद्यालयको क्यालेन्डर बनाई कडाईका साथ कार्यान्वयन गर्न माग गर्दछौं ।’
दैनिक उपभोग्य वस्तुमा भएको महंगीलाई नियन्त्रण गर्न सरकारले कदम चाल्नुपर्ने भन्दै विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरु´द्धको आन्दोलनलाई सशक्त बनाउँदै थप कठोर क्रियात्मक कार्यक्रम सार्वजानिक गर्ने जनाएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij