२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । २५ ओटा कम्पनी आईपीओ निष्कासन गर्ने तयारीमा रहेका छन् । उक्त कम्पनीहरु कुल रू. ६ अर्ब ८० करोड ७६ लाख ४०० बराबरको ६ करोड १३ लाख ५६ हजार ४ कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेका हुन् ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएसँगै आईपीओ निष्कासन गर्ने तयारीमा रहेका हुन् । २५ ओटा कम्पनी मध्ये ६ ओटा लघुवित्त वित्तीय संस्था, २ ओटा इन्स्योरेन्स कम्पनी, १५ ओटा हाइड्रोपावर कम्पनी र दुई अन्य समूहका कम्पनी रहेका छन् । अन्य समूहका कम्पनीहरुमा इमर्जिङ नेपाल र डिस मिडिया नेटवर्क रहेको छन् ।
यी २५ ओटा कम्पनी मध्ये सबैभन्दा बढी ग्रीन भेञ्चर लिमिटेडले ६२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको छ । कम्पनीको विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
त्यसैगरी, दोस्रोमा रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले रू. ११२ प्रिमियम थप गरी प्रतिकित्ता रू. २१२ मा ६० लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
यी २५ ओटै कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि मात्र आईपीओ निष्कासन गर्नेछन् । पछिल्लो सयमा आईपीओमा लगानीकर्ताको आकर्षण बढ्दै गएको देखिन्छ । छोटो समयमा नै शेयर सूचीकृत भइ दोस्रो बजारमा कारोबार शुरु हुने भएकाले र थारै लगानीबाट आकर्षक प्रतिफल प्राप्त हुनाले पनि यसप्रति लगानीकर्ताको आकर्षण बढेको देखिन्छ ।
पछिल्लो उदाहरणमा जीवन विकास लघुवित्तलाई हेर्न सकिन्छ । रू. १ हजारको लगानी एक महीनामा ५५ हजार सम्म पुगेको थियो । यसले गर्दा आईपीओ भर्नका लागि मात्र पनि लगानीकर्ताले डिम्याट खाता खोलेको पाइन्छ ।
यसोत, शेयर बजारबारे धेरै प्रचार प्रसार बढी भएकाले पनि डिम्याट खाता खोल्नेको संख्या बढेको पनि हो । प्रविधिको विकास र विस्तारले सबै कार्य अनलाइन मार्फत गर्न सकिने भएकाले पनि सहज भएकोे हो । आज अर्थात् मंसिर १७ गतेसम्ममा डिम्याट खाताको संख्या ४७ लाख १२ हजार ७४ पुगेको छ ।
पछिल्लो समय सर्वोत्तम सिमेन्ट शेयर खरीद प्रकरणमा मुछिएपछि धितोपत्र बोर्डका अध्यक्ष भिक्ष्मराज ढुङ्गाना बर्खास्त भएका थिए । अध्यक्ष बर्खास्त भएसँगै लामो समय भइसक्दा पनि बार्डले कुनै पनि कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको थिएन । अब भने क्रमश सबै प्रक्रिया पूरा गरेका कम्पनीहरुलाई आईपीओ निष्कासनको अनुमति दिने बार्डले जानकारी गराएको छ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij