२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । कारोबारको चौथो दिन (बुधबार) शेयर बजारमा हरियाली देखिएको छ । गत बिहीबारदेखि लगातार घटिरहेको शेयर बजार बुधबार भने बढेर बन्द भएको हो ।
आज नेपाल स्टक एक्सेन्च(नेप्से) परिसूचक ५.२८ अंकले बढेर २६३३.६५ विन्दुमा पुगेको छ । नेप्से ०.२० प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ०.८९ अंकले बढेर ४९६.७४ विन्दुमा पुगेको छ ।
कारोबारमा आएका कूल २२३ वटा कम्पनीको ५३ लाख १० हजार २ सय १५ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ७४ करोड २० लाख ८५ हजार ७ सय ४ रूपैयाँ बराबरको कारोबार भएको छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ९ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ४ वटा उपसमूहको शेयर घटेको छ ।
आज पनि २ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सामलिङ्ग पावरको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ४ सय ६१ रूपैयाँ ४० पैसा पुगेको छ । यस्तै, न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर ३ सय ७५ रूपैयाँ ६० पैसा पुगेको छ ।
बुधबार नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १४ करोड ५३ लाख ९३ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
आज आईसिएफसी फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ५.६२ प्रतिशतले घटेर ८ सय ४० रूपैयाँमा झरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij