Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

म्याग्दीमा जिप दुर्घटना : ४ जनाको मृत्यु चार घाइते

म्याग्दीमा जिप दुर्घटना : ४ जनाको मृत्यु चार घाइते


  • 4.2K
    Shares

    म्याग्दीमा जिप दुर्घटना : ४ जनाको मृत्यु चार घाइते

    म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिकाले जिप दुर्घटनाका घाइतेलाई उपचार र मृतकका परिवारलाई किरियाखर्च उपलब्ध गराउने भएको छ । रघुगङ्गा–१ बेगमा सोमबार साँझ जिप दुर्घटना हुँदा वडा सदस्यसहित चारको मृत्यु र चारजना घाइते भएका थिए । 

     प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले घाइतेलाई जनही रु एक लाखका दरले उपचार खर्च उपलब्ध गराइने जानकारी दिनुभयो । मृतकका परिवारलाई किरिया खर्चका लागि रु ५० हजारका दरले उपलब्ध गराउने निर्णय भएको उहाँले बताए । 

     बेनीदेखि बेगको सिम जाँदै गरेको ग१ज ७२५१ नम्बरको जिप औँलामा दुर्घटना हुँदा बेगकी वडा सदस्य गौमाया विक, चालक दुढबहादुर थापा, यात्रु खिमु पुन र खिमानन्द शर्माको मृत्यु भएको थियो । मृतक र घाइते सबै बेगका हुन् । ५४ वर्षीय बलबहादुर बिक, २३ वर्षीय मनोज पुन, २० वर्षीय भीम फगामी र ३० वर्षीय ज्ञानबहादुर शेरपुञ्जालाई बेनी अस्पतालले मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरेको छ । 

     प्रहरीका अनुसार जिप सडकदेखि करिब तीन सय मिटर तल खसेको थियो । मङ्गलबार बिहानै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए। 

     यसैगरी, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा र प्रशासकीय अधिकृत अमृत सुबेदीले आज शोक विज्ञप्ति जारी गरेर मृतकप्रति श्रद्धाञ्जलि र घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । वडा सदस्यको निधन भएको शोकमा गाउँपालिका, शाखा र वडा कार्यालय तथा बेगका विद्यालयहरु आजका लागि बन्द गरिएको छ । 

     तकममा घरबास सुरु 

     जिल्लाको पर्यटकीय गाउँ धवलागिरि गाउँपालिका–७ ताकममा होमस्टे (घरबास) सुरु भएको छ । धौलागिरि चक्रीय, गुरिल्ला, गुर्जा र ढोरपाटन पदमार्गको प्रवेश विन्दुमा पर्ने ताकम घुम्न आउने पाहुनाहरुको सुविधाका लागि घरबास सञ्चालन गरिएको हो । पाँच घरमा ४० जना क्षमताको होमस्टे सञ्चालन गरेको ताकम सामुदायिक होमस्टे सञ्चालक समितिका अध्यक्ष कृष्णबहादुर भण्डारीले बताए । 

     “भ्रमणमा आउने स्वदेशी तथा विदेशी पाहुनाहरुलाई खानबस्नको सुविधाका लागि घरबास चलाएका हौँ,” उनले भने, “कोरोना महामारीका कारण सुनसान घरबासमा पछिल्लो समय पाहुनाहरु आउन थालेका छन् ।” घरबासमा स्थानीय खाना, खाजाका परिकार र बास बस्ने सुविधा छ । पाहुनाका लागि घरमा छुट्टै कोठा बनाएको होमस्टे सञ्चालक नेत्रलाल सुवेदीले बताए । होमस्टेका लागि आवश्यक पर्ने अग्र्यानिक तरकारी पनि आफँैले उत्पादन गरेको उनले बताए । 

     स्थानीय चामलको भात, कोदोको ढिँडो, रोटी, भुटेको मकै, भाँगोको अचार, खट्टे लगायतका परिकार खुवाउने गरेका छन् । घरबास सञ्चालन भएका घरमा गण्डकी प्रदेश सरकारको सहयोगमा शयनकक्ष, शौचालय र प्रतीक्षालय निर्माण गरिएको छ । पूर्वाधार निर्माण गर्न प्रदेश सरकारले रु १० लाख अनुदान उपलब्ध गराएको थियो । घरबास घएपछि ताकम घुम्न जाने पाहुनलाई खाने बस्नेको समस्या हटेको छ । सुविधायुक्त होटेल नभएको ठाउँमा घरबास प्रभावकारी बनेको ताकमका वडाध्यक्ष कलानिधि सुवेदीले बताए । 

     ताकम गाउँको पृष्ठभूमिमा धौलागिरि र गुर्जा हिमालको दृश्य देखिन्छ । राधाकृष्ण नाच ताकमको सांस्कृतिक पहिचान हो । भजन, सालैजो, यानीमाया गीत र नृत्य थप आकर्षण हुन् । ताकमदेखि करिब एक घण्टा पैदल हिँडेपछि ऐतिहासिक ताकमकोत पुगिन्छ । ताकमदेखि कोत पुग्ने सडक पनि निर्माण भएको छ । जगन्नाथ, अन्नपूर्ण, दुर्गालगायत देवीदेवताको मूर्ति रहेका यहाँ नवदुर्गा, जेष्ठी पूर्णिमा, मङ्सिर पूर्णिमा, चैत्राष्टमी पर्वका अवसरमा विशेष मेला लाग्ने गर्छ । पछिल्लो समय पूजाआजा नभएको र मेला नलागेको समयमा पनि दैनिकजसो भक्तजन आइरहेका पुजारी हेमनाथ पौडेलले बताए। 

     विसं १२४६ देखि १५४५ सम्म बगाले थापाको र १५४६ देखि १८८२ सम्म मल्ल राजाले कोत घरका रुपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाल लगायतका हातहतियार छन् । समुन्द्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा अवस्थित ताकमकोतबाट गुर्जा, धौलागिरि, नीलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाका साथै मनोरम पहाडी भूगोल, ग्रामीण बस्ती र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । 

    प्रकाशित मिति :मंसिर १४ २०७८ मंगलवार - १३:१२:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij