२०८२ मंसिर ७ गते आइतवार
जुम्ला । सामाजिक विकृतिको रुपमा रहेको छुई प्रथा अन्त्य गर्न जुम्लाका स्थानीय तहमा अभियान थालिएको छ । यहाँको पातारासी गाउँपालिकाभित्रका सात गाउँ छुईगोठमुक्त भएका छन् ।
पातारासी गाउँपालिका– ५ का माथिलोर्प र तलिलोर्प गाउँ छुईगोठमुक्त भएका छन् । सोही गाउँपालिकाको– ४ का लुम र भोटगाउँ छुईगोठमुक्त भएका छन् भने वडा– २ का तल्फी, परे र धोपगाउँ छुईगोठमुक्त भएको पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखा संयोजक भगवती गिरीले बताए।
छुई अर्थात महिनावारी भएका अवस्थामा छुईगोठ वा छुईखुल्लोमा बस्ने यो पुरानै चलन हो । गैरसरकारी संस्था सर्वदीय नेपाल, जुम्ला र पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखाले महिला, पुरुष र धामीझाँक्रीलाई सचेतीकरण गर्दै छुई भएको अवस्थामा घरभित्रै बस्ने वातावरण सिर्जना गरेपछि गाउँ छुईगोठमुक्त गर्न थालिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए।
महिनावारी तथा रजस्वला भएको बेला घरैमा बस्ने साउनी बोहरा, उनका पति कालु बोहरालाई गाउँपालिकाले सम्मान गरेको छ । यस्तै, वीरे सार्की र उनकी श्रीमती रेउली सार्कीलाई पनि सम्मान गरिएको हो । महिनावारी अर्थात छुई भएको अवस्थामा घरैमा बस्ने तथा अरूलाई बस्न प्रेरित गरेको हौसला मिलोस् भन्ने उद्देश्यका साथ सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत बुढ्थापाले बताए । विगतमा दुई जिल्लामा छुइगोठ भत्काइएको थियो ।
रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्ने वा अन्य भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्न नहुने गाउँपालिका अध्यक्ष लछिमान अध्यक्ष बोहोराले बताउनुभयो । कानूनको पूर्णरुपमा पालना हुन नसकेका कारण छाउपडी प्रथा जटिल बन्दै गएको सर्वेदय नेपाल जुम्लाका निर्देशक कमलराज खत्रीले बताउनुभयो । यसअघि यहाँको तिला गाउँपालिकाले १५ गाउँ छुईगोठमुक्त गरिसकेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij