२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१३ सोल्टी दोबाटोबाट सुन कछुवासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूका साथबाट कछुवासहित रु ३६ हजार ६५५ पनि बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने ४४ वर्षीय सञ्जय तामाङ, तनहुँ घर भई काठमाडौँको माछापोखरी बस्ने प्रकाश खाती, दोलखा घर भई बूढानीलकण्ठ बस्ने राजकुमार तामाङ र तनहुँ घर भई हाल रानीबारी बस्ने हरि परियार रहेका परिसरले आज एक सूचना जारी गरी जनाएको छ ।
पहेँलो कछुवा अबैधरूपमा बिक्री गरिरहेको भन्ने जानकारीका आधारमा शनिबार साँझ खोजतलासमा गएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूका विषयमा प्रहरी वृत्त कालीमाटीमा प्रारम्भिक अनुसन्धानपछि थप कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक निरञ्जन दत्त भट्टले जानकारी दिनुभयो ।
हराएका मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण
यसैबीच, महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थानबाट हराएका २३ थान मोटरसाइकल तथा स्कुटरहरू फेला पारी सम्बन्धित धनीलाई आज बुझाएको छ । महाशाखाले कात्तिकमा पनि २३ वटै मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएको थियो ।
महाशाखाले उपत्यका र आसपासका चक्रपथ, नयाँ बानेश्वर, बसुन्धारा, पुरानो बानेश्वर, नारायणटार, नागर्जुन, सातदोबाटो, कोटेश्वर, काँडाघारी, कङ्लकी, भैँसेपाटी, भीमसेनगोला, गङ्गालाल, लोकन्थली, कपन, सानेपा, माकलबारी, मङ्गलबजार, टोखा, विजेश्वरी, र चागल स्वयम्भूलगायत विभिन्न स्थानबाट हराएका मोटरसाइकल फेला पारेको थियो ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले विशेष सूचना सङ्कलन तथा सुराकीमार्फत ती मोटरसाइकल वरामद गरेको जानकारी दिए।
सवारी हराएको थाहा पाउनासाथ हटलाइन नम्बर ‘१०३’ वा अनलाइन सेवा ‘लस्ट भेहिकल एप्लिकेसन’ लगइन गरेर निवेदन दिन सकिन्छ । सवारीको सुरक्षाका लागि अतिरिक्त लक र अलाराम प्रयोग गर्न महाशाखाले सवारी प्रयोगकर्तालाई अपिल गरेको छ । यस आर्थिक वर्ष २०७८÷७९ मा हराएका १७६ मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको छ भने मोटरसाइकल चोरीमा संलग्न २१ जनालाई चोरीका मोटरसाइकलसहित सम्बन्धित प्रहरी वृत्तहरुमा कारबाहीका लागि पठाएको महशाखाले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij