Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

टुँडाल : किन हिन्दू धर्मका मन्दिरमा मात्र कुदिन्छ यौनजन्य कला ?

टुँडाल : किन हिन्दू धर्मका मन्दिरमा मात्र कुदिन्छ यौनजन्य कला ?


  • 42.2K
    Shares

    टुँडाल : किन हिन्दू धर्मका मन्दिरमा मात्र कुदिन्छ यौनजन्य कला ?
    images

    काठमाडौं। मन्दिर भन्नेबित्तिकै सबैभन्दा पवित्र स्थल मानिन्छ। सफा तथा शुद्ध मनले मन्दिरमा जानुपर्छ भन्ने मान्यता छ। मानिस सबैभन्दा शुद्ध र सफा हुन्छ भने त्यही मन्दिरमा हुन्छ। तर, त्यही मन्दिरमा हेर्दा भने फरक खालका आकृति देखिन्छन्। जुन तपाईं हाम्रो समाजमा गोप्य बनाइएको विषयलाई त्यहाँ भने सार्वजनिक रूपमा राखिएका हुन्छन्। ती अहिले होइन, परापूर्वकालदेखि नै राखिएका हुन्।

    मन्दिरका टुँडालहरूमा विभिन्न खालका यौन आकृति बनाइन्छ। मन्दिरभित्र प्रवेश गर्ने प्रवेशद्वारमाथि त्यो पनि सबैले देख्नेगरी यौन आकृतिहरू राखिएका हुन्छन्।
     
    निकै वर्षअघि बनाइएका मन्दिरमा कुँदिएका यस्ता विभिन्न भाव भंगीमाका यौन आसन देख्दा जोकोही आश्चर्यमा पर्न सक्छ। त्यस्ता पुराना मन्दिरमा समाजले ‘अश्लील’ वा ‘छाडा’ भन्ने यौन आसन किन र के कारण कुँदिए? यो सबैको चासोका विषय बन्ने गरेको छ।
     
    हुनत यौन हरेक प्राणीको जीवनको अपरिहार्य पाटो हो। तर, यसलाई अतिगोप्य त नितान्त व्यक्तिगत विषय ठानिन्छ। र, यौनलाई सार्वजनिक गरिँदैन। त्यसमाथि कानुनले समेत यसलाई व्यक्तिगत गोपनीयता मानेर सार्वजनिकस्थलमा यस्ता कार्य गर्नुमात्र नभएर प्रदर्शन गर्नु पनि अपराध मानिन्छ।

    तर, प्राचीन मन्दिरहरूमा कुँदिएका टुँडालमा भने मान्छेले विभिन्न यौन आसन प्रदर्शित गरिएको देखिन्छ। काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको विश्वनाथ मन्दिर, ललितपुरको चारनारायण मन्दिर, भक्तपुर दरबार क्षेत्रमा रहेका मन्दिर, पशुपतिनाथ मन्दिर, भक्तपुरको दत्तात्रय मन्दिरलगायत विभिन्न मन्दिरका टुँडालमा कामवासनामा लिप्त देवदेवी तथा नरनारीका यस्ता मूर्ति कुँदिएका छन्।

    यस्ता आकृति राख्नुको केही आध्यात्मिक, केही वैज्ञानिक तथा केही जैविक कारण रहेको संस्कृतिविद् बताउँछन्।
     
    संस्कृतविद् प्रा.डा. डिल्लीराज शर्मा यस्ता आकृति राखिनुको पछाडि विभिन्न कारण रहेको बताउँछन्। १३औं-१४औं शताब्दीमा बनाइएका मन्दिरका टुँडालमा यस्ता खालको आकृति देख्न पाइने उनको भनाइ छ।
     
    त्यो भन्दा पहिला महिला र पुरूष (देवदेवी) उभिएको मात्र आकृति बनाइन्थ्यो। तर, जब तन्त्र विद्याको प्रभाव पर्न थाल्यो त्यसपछिबाट भने यौन आकृति बनाउन थालिएको इतिहास भेटिएको उनको भनाइ छ।

    उनका अनुसार यसको पछाडि दुई वटा कारण छन्। एउटा- तान्त्रिक प्रभाव। त्यतिबेलाका राजा महाराजाले तन्त्र विद्यालाई प्रभावित पार्नका लागि यस्तो खालको आकृति बनाउन थालिएको संस्कृतिविद् प्रा.डा. शर्माको भनाइ छ।

    अर्को कुरा यौनशिक्षाबारे आमजनमानसलाई जानकारी दिन तथा यसलाई सामान्यीकरण गर्नका लागि पनि त्यस्तो तरिका अपनाइएको उनको बुझाइ छ। यस्ता आकृति कुँद्नुको कारण मानिसमा यौन चेतना तीव्र बनाउनु पनि रहेको उनी बताउँछन्।
     
    “सुषुप्त यौन चेतनालाई जागृत गराउन यस्ता आकृति कुँदिएका हुनसक्ने अनुमान गर्न सकिन्छ। प्राचीन समयमा मानिसहरूमा अध्यात्म चेत, धर्मप्रतिको लगाव बढी भएकाले धेरैजसो मानिस मन्दिर धाउने गर्थे,” उनले भने, “धेरै मानिसको नियमित गन्तव्यस्थल मन्दिरमा कुँदिएका यस्ता आकृतिले यौनशिक्षाको काम पनि गर्दथ्यो। उनीहरूलाई यौनबारे खासै चाँसो हुन्थेन। र, यसप्रति चासो बढाउनका लागि पनि यस्तो गरिएको हुनसक्छ।”

    हिन्दू धर्मका मन्दिरमा मात्र किन?

    यस्ता यौन आकृति हिन्दू मन्दिरहरूमा कुँदिएका हुन्छन्। अन्य धर्मावलम्बीका धार्मिक स्थलहरूमा यस्ता खालका यौन आकृति कुँदिएको पाइँदैन। आखिर किन?

    संस्कृतविद् प्रा.डा. शर्मा भन्छन्, “हिन्दू धर्म सबै धर्मको प्रतीक हो। यही धर्मको आडमा रहेर अन्य धर्मको विकास भएको हो। अन्य धर्मको विकास हुने क्रममा मानिसहरूको ध्यान अन्यत्र नमोड्नका लागि पनि यस्तो गरिएको हुनुपर्छ।”
     
    अन्य धर्मले यस्तोबारेमा सोच्न नसकेको उनको भनाइ छ।

    प्रकाशित मिति :मंसिर १० २०७८ शुक्रवार - ११:३३:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij