२०८२ मंसिर ७ गते आइतवार
भोजपुर । बहुउपयोगि जडीबुटी चिराइतोको मूल्य बढेपछि यहाँका किसान उत्साहित भएका छन् । चार÷पाँचवर्ष अगाडिदेखि लगातार ओरालो लागेको चिराइतोको मूल्य यसवर्ष वृद्धि भएको हो । पछिल्लो समय मूल्यमा कमी आएपछि धेरै किसानले यसको खेतीलाई छाड्दै गएका थिए । अहिले विभिन्न गाउँबस्तीमा चिराइतो व्यापारीले धमाधम चिराइतो खरिद गर्न थालेका छन् ।
गत वर्ष आठदेखि दश हजारमा बिक्री भएको चिराइतो अहिले किसानको घरबाट प्रतिमन रु २६ देखि २८ हजारसम्ममा बिक्री भइरहेको किसान एकराज विष्टले जानकारी दिए । उहाँले,‘‘ केही वर्ष अघिबाट मूल्यमा गिरावट आइरहेको थियो । यसवर्ष मूल्यमा वृद्धि भएको छ । अहिले घरबाट नै प्रतिमन रु २६ देखि २८ हजारसम्ममा बिक्री भइरहेको छ ।’’यस अघिका वर्षमा मूल्य घटेपछि धेरै किसानले यसको व्यावसायिकखेती छाड्दै गएका थिए । तर यस वर्षबाट मूल्य बढेपछि उनीहरु यसको विस्तारमा जुटेको किसान उनको भनाइ छ ।
उनले भने,‘‘ ११ रोपनी बारीमा चिराइतोखेती गरिरहेको छु । मूल्य बर्सेनि वृद्धि हुनको साटो घटेका कारण मनमा उत्साह कम थियो, तर यस वर्ष केही भए पनि मूल्य बढेको छ । म जस्ता किसानमा खुसी थपिएको छ । गतवर्ष मैले प्रतिमन रु ६ हजारमा बिक्री गरेको थिए ।’’
परिवारसँग बसेर आफ्नै ठाउँमा गरिनेखेती भएकोले विदेशमा दुःख गर्नु भन्दा हाल पाउने गरेको मूल्य पनि ठिकै रहेको किसान विष्टको भनाइ छ ।
‘‘निरन्तर खेती गरिरहेकोले एक न एक दिन राम्रो मूल्य पाउनेमा म आशावादी थिए । मेहनत अनुसारको मूल्य त छैन तर अहिले पाएको मूल्य अन्यबालीको तुलनामा ठिकै छ, निरन्तर रुपमा खेती गरिरहेको छु, । यस वर्ष केही राम्रो मूल्य लिन पाएँ ।” उनले भने ।
ज्वरो, दम रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेको आदि रोगका लागि यसका पात, डाँठ, जरा सम्पूर्ण भाग नै प्रयोग गर्न सकिने स्थानीय किसान देवबहादुर विष्टले जानकारी दिए । चिराइतो बहुउपयोगी जडीबुटी भएकाले भविष्यमा यसको मूल्य राम्रो हुने उहाँको भनाइ छ ।
उनले भने,‘‘ यसको महत्व धेरै छ । पछिल्लो समय हाम्रो ठाउँका धेरै साथीले व्यावसायिकखेती गरिरहनु भएको छ । सोचे जस्तो मूल्य नपाए पनि विदेशमा गएर दुःख गर्नु भन्दा यो आम्दानी पनि राम्रै छ ।’’ मनको थोरै मूल्य भए पनि अन्यबाली लगाउनु भन्दा यसको आम्दानी तुलानात्मक रुपमा राम्रै रहेको उनीहरु बताउँछन् । सरकारको तर्फबाट सहयोग भएमा यसलाई विस्तार गर्न थप टेवा मिल्ने किसान बताउँछन् ।
स्थानीयवासी पदम बस्नेतले भने ,‘‘हाम्रो ठाउँमा धेरै किसान यसको खेतीमा आवद्ध छौँ । उत्पादन पनि राम्रो छ । यसको बजारीकरणको लागि सरकारको तर्फबाट साथ भए हामीलाई राहत हुने थियो ।’’विशेष गरेर एक हजार ५०० मिटरदेखि दुई हजार ५०० मिटरसम्मको उचाइको हावापानीमा चिराइतो राम्रोसँग फस्टाउने डिभिजन वन कार्यालय भोजपुरको भनाइ छ । कार्यालयले पनि यस्ता ठाउँको छनोट गरेर चिराइतो खेतीको लागि आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ ।
यहाँको चिराइतो भारत, चीन र बङ्गलादेशमा निर्यात हुने गरेको व्यावसायीको भनाइ छ । जिल्लाको अधिकांश माथिल्लो भेगमा यसको व्यावसायिक खेती हुने गरेको छ ।
टेम्केमैयुङ गाउँपालिका–५ मझौले, तिम्मा, षडानन्द नगरपालिकाको किमालुङ, दोभाने, हेलौंछा, साम्पाङ, खार्तम्छा, आमचोक गाउँपालिकाको युँ, वासिङथर्पु, पौवादुङमा गाउँपालिकाको श्यामशिलालगायत ठाउँ चिराइतोका लागि मुख्य पकेट क्षेत्रका रुपमा छन् ।
जिल्लामा गतवर्ष ३३ हजार ४०० केजी चिराइतो उत्पादन भएको सो कार्यालयले जनाएको छ । खेती विस्तारका लागि जिल्लाको माथिल्लो भेगका किसानलाई प्रोत्साहनमूलक विभिन्न कार्यक्रम सञ्चालन भइरहेको कार्यालय प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए ।
उनले भने ,‘‘चिराइतोसँगै अन्य जडीबुटीको खेती विस्तारको लागि कार्यालयको तर्फबाट विभिन्न सहयोग गरिरहेका छौँ । किसानले चिराइतोखेती विस्तारमा रुची देखाउने गरेका छन् ।’’
पकेट क्षेत्र निर्धारण
यहाँका दुई स्थानीय तहका चार वडालाई चिराइतो पकेट क्षेत्रको रुपमा निर्धारण गरेर खेती भइरहेको छ । जडीबुटी खेतीको लागि राम्र्रो क्षेत्र मानिएको टेम्केमैयुङ गाउँपालिकाको १ तिम्मा, ५ खावा र भोजपुर नगरपालिका– ३ गुप्तेश्वर र ४ शिद्धेश्वरलाई चिराइतो पकेट क्षेत्र निर्धारण गरेर यसको खेती विस्तार गरिएको डिभिजन वन कार्यालयको भनाइ छ ।
कार्यालयले चिराइतोको खेती विस्तारका लागि ६ ओटा जडीबुटी फर्मलाई सात केजी चिराइतोको बीउ वितरण गरेको सहायक डिभिजन वन अधिकृत डम्बर भण्डारीले जानकारी दिए । भण्डारीले भने ,‘‘यहाँको हावापानी हेर्दा माथिल्लो भेगमा चिराइतो खेतीको निकै राम्रो सम्भावना छ । हामीले पकेटक्षेत्र नै निर्धारण गरेर किसानलाई प्रोत्साहन गरिरहेका छौँ । गतवर्ष विभिन्न फर्मलाई सात केजी चिराइतोको बीउ दिएर थप विस्तार गर्न सहयोग गरेका छौँ ।’’जिल्ला जडीबुटी फोकल समितिको निर्णय अनुसार आम्चोक र हतुवागढी क्षेत्रमा टिमुरखेतीको लागि पकेट क्षेत्र तोकिएको छ ।
कार्यालयले जडीबुटीको बिरुवा उत्पादन, भण्डारण र बजारिकरणका अनुदान गर्दै आएको जनाएको छ । किसानको माग र आवश्यकताको आधारमा अनुदान दिँदै आएको कार्यालयको भनाइ छ । साथै सहकारीसँगको सहकार्यमा जडीबुटी सङ्कलन केन्द्रसमेत स्थापना गरिने जनाइएको छ ।
मूल्यमा उतारचढाव आए पनि विभिन्न खाले जडीबुटीका खेतीमा भने वृद्धि नै हँुदैगइरहेको वन कार्यालयको भनाइ छ । वन कार्यालयका अनुसार यहाँको साल्पासिलिछो गाउँपालिकामा चिराइतो, लोक्ता र षडानन्द नगरपालिकाको माथिल्लो भेगका क्षेत्रलाई पनि चिराइतोसँगै सतुवाखेतीलगायत जडीबुटीका लागि उपयोगी मानिन्छ ।
यहाँ वन कार्यालयको अगुवाइमा चिराइतो, सतुवा, तेजपत्ता, लोठसल्ला, खिरौले, टिमुरलगायतका जडीबुटीको खेती विस्तार भइरहेको छ । स्थानीय तहमा रहेका सामुदायिक, कवुलियति, साझेदारी वनलाई लक्षित गरेरसमेत खेती विस्तारको योजना रहेको कार्यालयको भनाइ छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij