२०८२ मंसिर ७ गते आइतवार
संखुवासभा । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने बताएका छन् । संखुवासभाको तुम्लिङटार विमानस्थलमा बुधबार पत्रकारसँग संक्षित कुराकानी गर्दैै कोइरालाले सभापति पदमा उठ्ने घोषणा गरेका हुन् । पार्टी सभापति पदका लागि आफू बलियो उम्मेदवार भएको उनले दाबी गरे । औपचारिक रूपमा सभापति पदको उम्मेदवारीे चाँडै घोषणा गर्ने उनले बताए ।
अहिलेको पाँचदलीय गठबन्धन चुनावअघिसम्म मात्रै रहने कोइरालाले बताए । आगामी चुनावमा कुनै पार्टीसँग कांग्रेसको तालमेल नहुने उनको भनाइ थियो । आगामी चुनावमा अन्य पार्टीसँग गठबन्धन गर्ने विषयमा कांग्रेसले सहमति नगरेको उनले बताए । कांग्रेसले सत्ता गठबन्धनका लागि मात्रै सहकार्य गरेको कोइरालाको दाबी छ ।
कोइरालाले आगामी निर्वाचनपछि कांग्रेसले बहुमतको सरकार बनाउने पनि दाबी गरे । एक्लै चुनाव लड्दा पनि आगामी चुनावमा कांग्रेसले बहुमत ल्याउने उनले बताए ।
अहिले एकाएक शशांक संखुवासभामा पुगेका छन् । कोइरालालाई संखुवासभा कांग्रेस सभापति दीपक खड्काले हेलीकप्टरमा संखुवासभा लिएर गएका हुन् । खड्काले फेसबुकमार्फत बुधबार र बिहीबार कोइराला संखुवासभामै रहने पनि जानकारी दिएका छन् । ‘उहाँ (शशांक) संखुवासभा जानु भएको छ । कुनै कार्यक्रमको लागि जानु भएको होइन । रिफ्रेसका लागि जानु भएको हो,’ शशांकका स्वकीय सचिव भरत तिवारीले भने ।
उनले शशांक कोइराला सभापतिको प्रतिस्पर्धाबाट बाहिर नभागेको पनि दाबी गरे । ‘डाक्टरसाप सभापति लड्ने तयारीमै हुनुहुन्छ । उहाँहरुको दाजुभाइ भेटघाट भएको हो भइरहन्छ । शेखर दाइले आफूलाई सभापतिमा सहयोग गर्न प्रस्ताव गर्नु भएको चाहिँ हो’ उनले भने ।
‘हाम्रो पार्टीमा कोइराला परिवारको छुट्टै बिरासत छ नि । हामी केही दिनदेखि यसकै कसरतमा थियौँ तीन कोइराला एक भएको सन्देश कसरी दिने र मिलाउने भनेर,’ कांग्रेसका एक नेताले इकागजसँग भने, ‘आज पत्रकार सम्मेलन गर्नेसम्मको कुरा भइसकेको थियो । तर, एकाएक सचिवालयका सदस्यले कोइरालालाई एक हुन दिएनन् । सचिवालयमा बसेर नेता बिगार्ने, कांग्रेसको इतिहास बोकेको कोइराला परिवार बिगार्न त भएन नि ।’ (इकागज)
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij