Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

भरतपुर अस्पतालमा रोटरी स्पाइनल इन्जुरी सेन्टर निर्माण सुरु

भरतपुर अस्पतालमा रोटरी स्पाइनल इन्जुरी सेन्टर निर्माण सुरु


  • 4.9K
    Shares

    भरतपुर अस्पतालमा रोटरी स्पाइनल इन्जुरी सेन्टर निर्माण सुरु
    images

    भरतपुर। मेरुदण्डमा समस्या देखिएका बिरामीको उपचारका लागि रोटरी क्लबको अगुवाइमा भरतपुर अस्पताल परिसरमा रोटरी स्पाइनल इन्जुरी सेन्टर निर्माणको काम थालिएको छ । आज जग पूजा गरेर निर्माण कार्य थालिएको हो ।  

    चितवनका ६, नवलपरासीका दुई र  ललितपुरको एक गरी ८ वटा क्लबले आर्थिक सङ्कलन गरी सेन्टर निर्माण गर्न लागेका हुन । निर्माण समितिका संयोजक उत्तमलाल चुकेका अनुसार रु ६ करोडमा सेन्टर निर्माण गर्ने तयारी गरिएको छ । सुरुमा २५ शय्या र पछि ५० शय्या बनाइने उनले जानकारी दिए । रोटरी क्लबसँगै स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसँग सहयोग सङ्कलन गरिने चुकेले जानकारी दिए।

    रोटरी क्लब अफ चितवन रत्ननगर, नारायणगढ, भरतपुर, नारायणी मिडटाउन, गैँडाकोट, पूर्वी चितवन, कावासोती र जावलाखेलको संयुक्त परियोजनाको रुपमा सेन्टर अघि बढाइएको हो । रोटरी क्लब अफ रत्ननगरका पूर्व अध्यक्ष जनक पौडेलले निर्माण सम्पन्न भएसँगै भरतपुर अस्पताललाई हस्तान्तरण गरिने बताए । एक वर्षभित्रमा निर्माणको काम सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए।

    मेरुदण्डका बिरामी राखिने भएकाले भूइँ तला मात्र बनाइने छ । अस्पताललाई हस्तान्तरणपछि पनि आवश्यक सहयोग रोटरीले गर्ने पौडेलको भनाइ छ । भरतपुर अस्पतालमा यसअघि नै विसं २०६९ असार १ गतेबाट स्पाइनल सेन्टर सञ्चालन गरिएको थियो । हाल १० शय्याको सो सेन्टर कोभिडका कारण अन्य विभागमा गाभेर सञ्चालन गरिएको छ । 

    भरतपुर अस्पतालका मेडीकल सुपरिटेण्डेन्ट प्रा।डा। कृष्ण प्रसाद पौडेल स्पाइनल उपचारको विज्ञ समेत हुनुहुन्छ । 

    अस्पतालको पाँच कठ्ठा जमिनमा सेन्टर निर्माण थालिएको हो । यसले स्पाइनलमा समस्या भएका बिरामीको उपचारमा सघाउ पुग्ने पौडेलको भनाइ छ । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार निर्माणपछि यसको सञ्चालन विकास समितिलेनै गर्ने छ । सेन्टर पूर्ण रुपमा निर्माण गरी उपकरणसहित जडान गरेर रोटरीले अस्पताललाई हस्तान्तरण गर्ने उहाँले जानकारी दिए । 

    सेन्टरलाई उपचारसँगै पुनःस्थापना केन्द्रको रुपमा विकास गरिने छ । मेरुदण्डका बिरामीमा अन्य समस्या भएमा अस्पतालमानै उपचार गर्न सकिने भएकाले यो सेन्टर निकै प्रभावकारी हुने अधिकारीको भनाइ छ । सरकार आफैले गर्नुपर्ने काममा रोटरीको अगुवाइमा हुन लागेको भन्दै उनले सबैलाई आवश्यक सहयोगका लागि अनुरोध गरे ।

    प्रकाशित मिति :कार्तिक २९ २०७८ सोमवार - १२:५५:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij