२०८२ भाद्र १ गते आइतवार
सिन्धुली । अंग्रेज सेनालाई गोर्खा फौज र स्थानीय मिलेर पराजित गरेको ऐतिहासिक सिन्धुलीगढीमा २५४ औं विजयोत्सव मनाइएको छ ।
सिन्धुलीगढीको विजयोत्सवको अवसरमा पञ्चेबाजा घन्काउँदै । तस्बिर: राजकुमार कार्की/कान्तिपुर
नेपाल एकीकरणका क्रममा सिन्धुलीको कमलामाई नगरपालिका–३ स्थित सिन्धुलीगढी युद्धमा तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनीको सेनालाई हराइ विरासत कमाएको दिनको सम्झनामा बुधबार सिन्धुलीढीमा विजयोत्सव मनाइएको हो । विजयोत्सवको उद्घाटन पूर्व उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले गरेका छन् । वि.सं १८२४ को असोज १५ गते कप्तान किनलोकको नेतृत्वमा आएको ब्रिटिस सेनालाइ गोर्खाली फौजले सिन्धुलीगढीबाट पराजित गरेर पठाएको थियो ।
एमाले महासचिव समेत रहेका पोखरेलले पञ्चेबाजासहित ठूलो गढीमा पुगेर नेपालको झण्डा फहराएका थिए । नेपालीको गौरवगाथा बोकेको सिन्धुलीगढीको पहिचान विश्वसामु भइसकेको उनको भनाइ थियो । कमलामाइ नगरपालिकाका नगरप्रमुख खड्गबहादुर खत्रीले सिन्धुलीगढीमा भएको विकास र ओइरिएका पर्यटकहरुबाट नै राष्ट्रप्रतिको माया झल्किएकाले दलीय स्वार्थभन्दा माथि उठ्न सबैमा आह्वान गरे ।
११ वर्ष अघिबाट कात्तिक २४ गते सिन्धुलीगढीमा विजय दिवस मनाउन सुरु गरिएको हो । गढी क्षेत्रमा सानोगढी, ठूलोगढी, पौवागढी, आड, टुँडिखेल, पुनर्निर्माणमा रहेको रानी दरबार, मठमन्दिर, जेलघर, अदालत रहेका छन् । युद्ध संग्रहालय निर्माण सकेर चार महिना अघिबाट खुला गरिएको छ । विजयोत्सवको दिन प्रवेश नि:शुल्क गरिएकाले स्थानीयहरु संग्रहालय अवलोकनमा झुम्मिएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij