२०८२ मंसिर ८ गते सोमवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली नोट छाप्न योग्य १० कम्पनीको सर्टलिस्ट सार्वजनिक गरेको छ। राष्ट्र बैंकले नोटको डिजाइन, प्रिन्ट, सप्लाई र डेलिभरी गराउन योग्य विभिन्न १० कम्पनीको नाम सार्वजनिक गरेको हो ।
बैंकले ७ साउनमा आह्वान गरेको टेण्डर भर्ने कम्पनीहरू मध्ये योग्य १० कम्पनीको सर्टलिस्ट निकालेको हो।
त्यसअनुसार ब्राजिलको कासा दा मोइडा डु ब्रासिल, चीनको चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशन, स्वीडेनको क्रान ए.बी., युकेको दे ला रुइ इन्टरनेशनल लिमिटेड, जर्मनीको गिसेक डेभ्रिएन्ट करेन्सी टेक्नोलोजी सर्टलिष्टमा परेको छ।
त्यस्तै राष्ट्र बैंकले नेपाली नोट छाप्नका लागि रसियाको जोइन्ट स्टक कम्पनी गोज्नाक, कोरियाको कोरिया मिन्टिङ सेक्युरिटी प्रिन्टिङ एण्ड आइडी कार्ड अपरेटिङ क्रप, फ्रान्सको अबर्थर, स्वीटजरल्याण्डको ओरेल फुस्ली सेक्युरिटी प्रिन्टिङ र भारतको सेक्युरिटी प्रिन्ट्रिङ एण्ड मिन्टिङ कर्पोरेशन अफ इन्डियालाई योग्य मानेको छ।
राष्ट्र बैंकले यी दश कम्पनीमध्ये एकलाई नेपालमा प्रचलित एक हजार, पाँच सय, एक सय, पचास, बीस, दश, पाँच रुपैयाँको नोट छाप्न ठेक्का दिने छ। उक्त कार्यका लागि विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने राष्ट्र बैंक स्रोतले जनाएको छ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij