२०८२ भाद्र १ गते आइतवार
बैदेशिक रोजगारका लागि नेपालीहरुको प्रमुख गन्तव्य हो खाडी (मध्यपूर्व) मुलुक । अनि खाडी मुलुकसँग जोडिने अर्को विषय पनि छ अप्राविधिक र अदक्ष नेपाली कामदार ।
कुवेत, साउदी अरव, युएई, कतार, ओमान, वहराईन जस्ता मुलुकहरुमा १०औँ लाख नेपाली श्रम गर्न पुगेका छन् । र अधिकांश अदक्ष र अप्राविधिक । रोजगारी त भयो तर श्रम बढी र आम्दानी कम । तर अब दक्ष प्राविधिकहरुलाई पनि खाडीको श्रम बजारमा पठाउन थालिएको छ ।
मध्यपूर्वका देश मध्ये कुवेतमा नेपालबाट धेरैजसो क्लिनर, सेक्युरिटी र लेवरका काममा मात्र जाने गर्दछन् तर कुवेतका लागि नेपाली राजदुत दुर्गाप्रसाद भण्डारी र दुतावासको सक्रियतामा नर्सहरु पठाउने तयारी गरिएको छ ।
कुवेत जाने नेपाली नर्सले नेपालमाभन्दा कम्तीमा चार गुणा बढी तलव पाउने छन् । हालै कुवेतस्थित नेपाली राजदूतावासले ६ सयभन्दा बढी नेपाली नर्सहरुको डिमाण्ड नेपाल पठाईसकेको बताएको छ ।
‘कुवेतका कतिपय अस्पतालहरुमा रोजगारका लागि ६ सयभन्दा बढी नर्स ल्याउने तयारी छौँ । र अहिले ती आम्दानीको हिसावले पनि निकै राम्रो छ ।’ राजदूतावासका एक अधिकारीले भने । ती अधिकारीका अनुसार नेपाली नर्सको मासिक तलव ८ घण्टाको नेपाली रुपियाँ एक लाख ५० हजारभन्दा बढी हुनेछ ।
जसमा, उनीहरुले खाने, बस्ने ब्यबस्था आफै गर्नुपर्ने छ । ‘कसैमाथि अन्याय भए वा समस्या परे दुतावास यहाँ बसेको छ, त्यसको समाधान राजदूतावासले गर्नेछ’ ती अधिकारीले भने । उनका अनुसार राजदुतको पटक-पटक माथिल्लो तहमा भएको छलफल र अनुरोध पश्चात् नेपाली नर्सले अवसर पाउने भएका हुन् ।
ती अधिकारीले भने, ‘कुवेतमा बिशेषगरी क्लिनर, सेक्युरिटी र लेवरका काममा मात्र श्रमिक आउछन् । समस्या पनि उनीहरुकै धेरै हुन्छन् । कति अप्राविधिक कामदारलाई मात्रै पठाउने ? अब दक्ष र प्राविधिक कामदारलाई पनि त्यहाँ अवसर दिलाउ भन्ने हो । अब यहाँ नेपालीहरुले सुरक्षित र सम्मानित ढंगले काम गरुन भन्ने पनि हो ।’
कुवेत सरकारले नेपालबाट डाक्टर, नर्स, इन्जिनियर लगायत अन्य दक्ष कामदारको अपेक्षा गरेको नेपाली राजदूतावासले जनाएको छ ।
खाडी मुलुकमा पीसीएल नर्सको कम्तीमा ९० हजार र व्याचलर पासको कम्तीमा १ लाख ५ हजारभन्दा बढी बेसिक तलव हुन्छ । चिकित्सकको हकमा मेडिकल अफिसरको तहले कम्तीमा साढे ३ लाख तलव लिँदै आएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij