२०८२ भाद्र २ गते सोमवार
नेपाल राष्ट्र बैंकले मिति २०७८ कार्तिक ११ गते रु.२० अर्ब बराबरको १४ दिन अवधिको लागि रिपो जारी गर्ने भएको छ। बैंकिङ्ग प्रणालीमा तरलता व्यवस्थापनमा समस्या रहेकोले राष्ट्र बैंकले बोलकबोल माध्यमबाट रु.२० अर्ब बराबरको रिपो जारी गरेर बैंकिङ्ग प्रणालीमा तरलता प्रवाह (Inject) गर्न लागेको हो। राष्ट्र बैंकले गत बिहीवार पनि ७ दिन अवधिको लागि रु.१० अर्ब बराबरको रिपो जारी गरेको थियो जुन बिहीवार परिपक्क हुँदैछ।
यस उपकरणको बोलकबोलमा इजाजत पत्र प्राप्त "क", "ख" र "ग" वर्गका बैंक वित्तिय संस्थाहरुले भाग लिन पाउनेछन् भने भाग लिने बैंक वित्तिय संस्थाहरुले नेपाल राष्ट्र बैंक सँग अनिवार्य रुपमा माष्टर रिपर्चेज एग्रीमेण्ट (Master Repurchage Agreement) गरेको हुनुपर्नेछ।
मौद्रिक तरलता व्यवस्थापनको अल्पकालीन उपकरणको रुपमा आर्थिक वर्ष २०६१/६२ देखि बोलकबोलको मध्यमबाट रिपो तथा रिभर्स रिपो कारोबार नेपाल राष्ट्र बैंक र वाणिज्य बैंक, बिकास बैंक एवं वित्त कम्पनीहरु बिच हुँदै आएको छ। रिपो बोलकबोल अन्तर्गत नेपाल राष्ट्र बैंकले नेपाल सरकारको ट्रेजरी बिल धितोको रुपमा लिई बैंक वित्तिय संस्थाहरुलाई तरलता उपलब्ध गराउने गर्दछ।
कार्तिक ९ गते सम्म बैंक वित्तिय संस्थाहरुले रु.४,८०६ अर्ब निक्षेप संकलन गरी रु.४,५०७ अर्ब कर्जा प्रवाह गरेका छन्। असोज महिनामा मात्र बैंक वित्तिय संस्थाहरुको निक्षेप रु.६७ अर्बले बढेको थियो भने कर्जा प्रवाह रु.१३२ अर्बले थप विस्तार भएको थियो। यस्तै, कार्तिक लागे यता निक्षेप रु.२२ अर्बले वृद्धि भएको छ भने कर्जा रु.२७ अर्बले बढेको छ।
निक्षेप संकलन वृद्धिको तुलनामा कर्जा प्रवाहमा वृद्धि बढी हुनु तरलता व्यवस्थापनमा समस्याको मुख्य कारण हो। बैंकिङ्ग प्रणालीमा तरलता असहजताको परिणाम स्वरुप कार्तिक महिना यता बैंक वित्तिय संस्थाहरुले रु.४.६३ अर्ब बराबरको Overnight रिपो तथा रु.२६८.९६ अर्ब बराबरको अस्थायी तरलता सुबिधा (SLF) लिएका छन् भने अन्तर बैंक व्याजदर बढेर ४.९६% कायम रहेको छ जुन व्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको अस्थायी तरलता सुबिधाको दर ५% नजिक रहेको छ।
यस्तै,गत साता भएको रु.१० अर्ब बराबरको रिपोको बोलकबोलमा १५ बैंक वित्तिय संस्थाहरुले रु.२८.५ अर्बको लागि न्युनतम ४.९७% र अधिकतम ५% व्याजदर सहित आवेदन दिएका थिए। गएको ७ सता यता राष्ट्र बैंकले रु.१६० अर्ब अर्ब बराबरको रिपो जारी गरिसकेको भएतापनि बैंक वित्तिय संस्थाहरुको तरलता व्यवस्थापन सहज हुन सकेको छैन।
के हो रिपो?
बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार अल्पकालीन अवधिको तरलता प्रवाहका लागि प्रयोग हुने उपकरण ‘रिपो’ हो ।
यस उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको अर्थात बैंक तथा वित्तीय संस्थाहरूको केन्द्रीय बैंकमा रहेको खातामा नेपाल राष्ट्र बैंकले बाँडफाँट अनुसारको रकम जम्मा गरिदिने भएकोले तोकिएको समयावधिका लागि तरलता प्रवाह हुन जान्छ।
बोलकबोल प्रक्रियाबाट निष्कासन हुने यस उपकरणमा बहु–ब्याजदर विधिको प्रयोग गरिन्छ। रिपो उपकरणको बोलकबोलमा सफल बोलकर्ताको खातामा रकम जम्मा गर्नुअघि ती बोलकर्ताले बाँडफाँट अनुसारको रकमको ११० प्रतिशत रकम बराबरको आफ्नो स्वामित्वमा रहेको टे«जरी बिल वा विकास ऋणपत्र धितो स्वरूप नेपाल राष्ट्र बैंकमा बुझाउनु पर्दछ।
रिपो उपकरणको बोलकबोलमा सहभागी हुन इच्छुक संस्था र केन्द्रीय बैंकबीच अनिवार्य रूपमा मास्टर रिपर्चेज एग्रिमेण्ट भएको हुनुपर्दछ। अन्यथा रिपो उपकरणको बोलकबोलमा सहभागी हुन पाइँदैन।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij