२०८२ मंसिर ८ गते सोमवार
काठमाडौं- नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे भोलि, बिहीबार बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त हुने भएका छन्। मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्री नियुक्तिका लागि बाटो खुलेको छ।
संघीय सरकारमा गठबन्धन गरिरहेका चार दलमध्ये प्रदेश सभामा रहेका प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादीले यसअघि नै पाण्डेलाई मुख्यमन्त्री बनाउने सहमति गरिसकेका छन्।
मुख्यमन्त्री शाक्यको राजीनापछि अब प्रदेश प्रमुखले निश्चित समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन्। माओवादी केन्द्रका सांसद विशाल खड्काले प्रदेश प्रमुखले भोलिसम्मको समय दिएर सरकार गठनको आह्वान गर्ने र पाण्डे भोलि मुख्यमन्त्री नियुक्त हुने बताए।
‘भोलि उहाँ (राजेन्द्र पाण्डे) मुख्यमन्त्री नियुक्त हुनुहुन्छ। त्यसपछि गबन्धनबाट एक/एक जना मन्त्रीले समेत शपथ लिनुहुन्छ’, खड्काले भने।
पाण्डे झण्डै सात महिना मात्रै मुख्यमन्त्री हुनेछन्। गठबन्धनबीचको सहमति अनुसार त्यसपछिको बाँकी समय कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ मुख्यमन्त्री बन्नेछन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij