२०८२ मंसिर ८ गते सोमवार
अल्पमतमा रहेकी बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज बुधबार विश्वासको मत लिँदैछिन्। त्यसका लागि दिउँसो १ बजे बागमती प्रदेशसभा बैठक बस्दैछ।
मुख्यमन्त्री शाक्यले प्रदेशसभामा पेस गरेको विश्वासको मत लिने प्रस्तावमाथि ४ कात्तिकमा छलफल भइसकेको छ। आज बुधबार मतदान हुन लागेको हो।
प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार सत्तापक्ष र प्रतिपक्षलाई मतदानका लागि छुट्टाछुट्टै कक्षको व्यवस्थापन गरिएको छ।
एमाले विभाजनको डिलमा रहेका बेला शाक्य मुख्यमन्त्री बनेकी थिइन्। तर, एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादीले शाक्यलाई साथ नदिएपछि उनी अल्पमतमा परेकी हुन्।
यस्तो छ प्रदेशसभा सदस्यको अंकगणित
१०९ सदस्यीय प्रदेशसभामामा बहुमत प्राप्त गर्न ५५ सांसदको समर्थन चाहिन्छ। तर सत्तापक्ष एमालेका ४३ जना मात्र सांसद छन्। उता विपक्षी गठबन्धनतर्फ भने माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादी पार्टीका १ जना सांसद छन्।
प्रदेशसभामा सभामुखसहित ५६ प्रदेश सभा सदस्य रहेको एमालेबाट बागमती प्रदेशको मन्त्री नियुक्त भएर पद तथा गोपनीयताको शपथग्रहण गरेको एक सातामा प्रदेशका तत्कालीन सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले एमाले विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि शाक्य अल्पमतमा परेकी थिइन् ।
पार्टी विभाजन भएपछि बागमतीमा एमालेका १३ जना प्रदेशसभा सदस्यहरुले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका थिए । त्यसपछि एमाले सभामुखसहित ४३ सदस्यमा सीमित हुँदै बहुमत गुमाएको थियो ।
एमालेमा अन्तरसंघर्ष चर्किरहेका बेला माधवकुमार नेपाल पक्षमा रहेकी शाक्य अन्तिम समयमा केपी शर्मा ओली पक्षमा लागेकी थिइन् । लगत्तै तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेललाई राजीनामा गराएर एमालेले शाक्यलाई मुख्यमन्त्री बनाएको थियो । शाक्य मुख्यमन्त्री भएको २ दिनमै एमाले औपचारिक रुपमा विभाजित भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij