२०८२ मंसिर ९ गते मंगलवार
काठमाण्डौं । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज विश्वासको मत लिने भएका छन् । गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले शुक्रबार प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका थिए ।
सो विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आज दिउँसो १२ बजे बस्ने प्रदेशसभा बैठकमा छलफल र मतविभाजन हुने भएको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।
नेकपा एमालेबाट मुख्यमन्त्री बनेका आचार्यले एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी निर्माण भएसँगै प्रदेशसभामा बहुमत गुमाएका छन् । आचार्यले मुख्यमन्त्री नियुक्त भएको ५९ दिनपछि आज विश्वासको मत लिन लागेका हुन् ।
एमाले विभाजनपछि अल्पमतमा रहेका आचार्यले प्रदेशसभामा विश्वासको मत पाउने सम्भावना छैन । ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । तर एमालेसँग ४१ प्रदेशसभा सदस्य छन् ।
प्रदेशसभामा विपक्षी गठबन्धनको पक्षमा ५० जना सांसद देखिएका छन् । गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने सहमति भएको भनिए पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत मुख्यमन्त्रीमा दाबी गरिरहेको छ ।
सोही कारण कांग्रेस र एकीकृत समाजवादीले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्न सक्ने सम्भावना रहेको कांग्रेस निकट स्रोते बतायो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij