२०८२ मंसिर ९ गते मंगलवार
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले वाग्तमी प्रदेशको बैठकमा विश्वासको मत लिने कार्यसूची भए पनि सत्तारुढ दल नै बैठकमा उपस्थित नहुने भएको छ। एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले आजको बैठकमा आफ्नो पार्टीका सांसदहरु सहभागी नहुने बताएका हुन्।
हिजै एमालेले प्रदेशसभा सचिवालयसमक्ष बैठक सार्न प्रस्ताव गरेको थियो। "सभामुखले परामर्श नै नगरी बैठक तय गर्नु भएछ।" सद्स्यहरु उपस्थित नभएको अवस्थामा सदन चले सदन कै लागि दुर्भाग्य हुने सचेतक निरौलाले बताए। बैठकमा मन्त्रीहरु उपस्थित भएपनि एमालेका सांसदहरु उपस्थित नहुने उनले जानकारी दिए।
एमालेले बैठक स्थगित गर्न आग्रह गरेपनि अन्य दलले भने आजै बैठक गर्नुपर्ने अडान राखेको छ। दुबै पक्षको छलफलपछिमात्र बैठकबारे निर्क्यौल हुने सभामुख सानुकुमार श्रेष्ठले बताए। "बैठक दिनको १ बजेपछि हुन्छ। बैठकमा विश्वासको मतसम्बन्धी छलफलमात्रै हुन्छ," सभामुख श्रेष्ठले भने।
बुधवार लिखित पत्र पठाउँदै एमालेले प्रदेशसभाको बैठक सार्न सचिवालयलाई आग्रह गरेको थियो। प्रदेश सभाको आजको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने कार्यसूची रहेको छ। भदौ २ गते नेकपा एमालेको एकल बहुमतबाट मुख्यमन्त्री नियुक्त भएकी शाक्य नेकपा एमाले विभाजनपछि अल्पमतमा परेकी थिइन्।
त्यसपछि मुख्यमन्त्री शाक्यले गएको असोज २४ गते बसेको प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकी थिइन्। वाग्मतीमा एमालेको ४३ सांसद रहेको छ। सत्ता गठबन्धन दल माओवादीको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३ र जसपाको १ सांसद रहेको छ। यसैगरी विवेकशील साझा पार्टीको ३, नेमकिपाको २ र राप्रपाको २ जना सांसद वाग्मती प्रदेशमा रहेका छन्।
एमालेले बैठक ११ गतेका लागि बोलाउन प्रस्ताव गरेको छ। कात्तिक पहिलो हप्ताभित्र नेकपा एमालेको स्थानीय अधिवेशन हुने र सो अधिवेशनका कारण एमालेबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरु बैठकमा उपस्थित हुन नसक्ने कारण देखाउँदै बैठक ११ गते सार्न दलका प्रमुख सचेतक दीपक निरौलाले प्रदेशसभा समक्ष लिखित प्रस्ताव गरेका हुन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij