Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

सबै खबर एकै ठाउँमा

आज दिनभरको २९ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको २९ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 183
    Shares

    आज दिनभरको २९ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्
    images

    १. विवाह पञ्चमीः भगवान राम र जानकीको विवाहोत्सव सम्पन्न

    हिन्दु धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल जनकपुरधाममा आज विवाह पञ्चमी पर्व हर्षोल्लासका साथ मनाइएको छ । मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा त्रेतायुगमा भगवान श्रीराम र माता जानकी (सीता)को विवाह भएको स्मरण गर्दै विशेष पूजा–आराधना, शोभायात्रा र धार्मिक अनुष्ठान गरिएको हो । बिहानैदेखि मिथिलाको मुटु मानिने जानकी मन्दिर परिसर श्रद्धालु भक्तजनहरूले खचाखच भरिएको थियो । 

    २. देश अहिले अफ्ठ्यारो स्थितिमा छः अध्यक्ष दाहाल

    नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देश अहिले अफ्ठ्यारो स्थितिमा रहेको बताउनुभएको छ । मुस्लिम समुदायसँग नेपाली कम्युनिष्ट पार्टी विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले देश अफ्ठ्यारो स्थितिमा रहेको बताउनुभएको हो । गत भदो २३ र २४ गतेको आन्दोलनपछि देशमा अफ्ठ्यारो स्थिति आइरहेको उल्लेख गर्नुभयो । २४ गतेको विध्वंशपछि सिंगै नेपाली समुदायमा आत्मनिर्णयको अधिकारमाथि पनि प्रश्नचिन्ह खडा भएको बताउनु भयो । राष्ट्र भनेको निश्चित भूगोलभित्र बस्ने जातजाति, धर्म, संस्कृतिका व्यक्तिहरुको योगफल भएको बताउनु भयो ।
    उहाँले भन्नुभयो, ‘अहिले देश बडो अफ्ठ्यारो स्थितिमा छ । तपाईंहरुले पनि महशुस गर्नुभएको होला । 

    ३. अन्तिम २ मिनेटमा ५ अंकले बढ्यो शेयर बजार

    शेयर बजार अन्तिम समयमा गएर बढेको छ । अन्तिम दुई मिनेटमा नेपाल स्टक एक्सचेञ्ज –नेप्से) ५.३२ अंकले बढेको छ । मंगलवार नेप्से २ बजेर ५८ मिनेटसम्म पनि घटेर राताम्य देखिएको थियो । तर अन्तिम २ मिनेटमा खरिदकर्ता हाबी भएर बजार एकाएक बढेको छ । आज नेप्से ०.२० प्रतिशत बढेर परिसूचक २६५५.९९ बिन्दुमा पुगेको छ । बजार बढ्दा कारोबार रकम भने ५ अर्ब ८२ करोड ३० लाख २८ हजार रुपैयाँ बराबरको १ करोड १९ लाख ७६ हजार ७८० कित्ता शेयर कारोबार भएको छ । 
    बजार बढ्दा १२२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १२५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १० वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

    ४. ‘काठमाडौं इन्टरनेशनल परफरमेन्स आर्ट फेस्टिभल’ मा सात देशका कलाकार सहभागि

    काठमाडौंमा सात देशका कलाकारको सहभागितामा ‘काठमाडौं इन्टरनेसनल परफरमेन्स आर्ट फेस्टिभल’ शुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानसँगको सहकार्यमा बिन्दु स्पेस फर आर्टिष्ट नेपालको आयोजनामा उक्त फेस्टिभलमा नेपालसहित भारत, चीन, बङ्गलादेश, अष्ट्रिया र फिलिपिन्सका कलाकार सहभागी छन् । फेस्टिभलले विभिन्न देशका कलाकारहरुबीच कला संस्कृति आदानप्रदान हुने र एक अर्काबीचको सिकाई साटासाट प्रतिष्ठानले जनाएको छ । मानिसले जन्मेपछि विवाह गर्नुभन्दा अगाडि र विवाह पछाडि फरक पहिचान बोक्ने भएकाले त्यसलाई आधार मानेर आफूले ‘मेरो परिचय’ नामक प्रश्तुती पस्केको कलाकार सौरगङ्गा दर्शनधारीले बताउनु भयो । 

    ५. अफगानिस्तानमा बालबालिकाका लागि पोलियो खोप अभियान शुरु

    अफगानिस्तानको जनस्वास्थ्य मन्त्रालयले सोमवार २०२५ को चौथो उप–राष्ट्रिय पोलियो खोप अभियान शुरु गरेको छ । लगभग ७४ लाख बालबालिकालाई पक्षाघातबाट जोगाउने प्रयासमा यो अभियान शुरु गरिएको हो । मन्त्रालयको एक विज्ञप्ति अनुसार बिहीवारसम्म चल्ने चार दिने अभियान देशका ३४ प्रान्तहरूमध्ये १७ प्रान्तमा मौखिक पोलियो खोपका थोपा खुवाइनेछ । अफगानिस्तानमा यस वर्ष कम्तिमा नौ पोलियोका घटनाहरू रिपोर्ट गरिएको छ । जसमध्ये सबैभन्दा पछिल्लो अक्टोबरको शुरुमा दक्षिणी उरुज्गान प्रान्तमा पत्ता लागेको हो । छिमेकी पाकिस्तानसँगै अफगानिस्तान विश्वका दुई देशहरू मध्ये एक हो जहाँ जंगली पोलियोभाइरसको प्रशारण जारी छ । 

    ६. अमेरिका र युक्रेनद्वारा जेनेभा वार्तामा परिष्कृत शान्ति ढाँचाको मस्यौदा तयार

    ह्वाइट हाउसले स्विट्जरल्याण्डको जेनेभामा भएको वार्ताका क्रममा संयुक्त राज्य अमेरिका र युक्रेनले अपडेट गरिएको र परिष्कृत शान्ति ढाँचाको मस्यौदा तयार पारेको बताएको छ । ह्वाइट हाउसले जारी गरेको संयुक्त विज्ञप्तिअनुसार आगामी दिनहरूमा संयुक्त प्रश्तावहरूमा काम जारी राख्न दुवै पक्ष सहमत भएका छन् । यस ढाँचा अन्तर्गत अन्तिम निर्णय युक्रेन र संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिहरूले गर्नेछन् । विज्ञप्तिमा युक्रेनले संयुक्त राज्य अमेरिका र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति कृतज्ञता व्यक्त गरेको पनि उल्लेख छ । 

    ७. इजरायली हवाई आक्रमणमा वरिष्ठ हेज्बुल्लाह कमाण्डरको मृत्यु

    इजरायली सेना र लेबनानी समूहले बेरुतको दक्षिणी उपनगरहरूमा इजरायली हवाई आक्रमणमा वरिष्ठ हेज्बुल्लाह कमाण्डर हैथम अली अल–तब्ताबीको मृत्यु भएको बताएको छ । जुन एक वर्ष पुरानो युद्धविरामलाई थप तनावपूर्ण बनाउने उच्च–प्रोफाइल हत्या हो । हिज्बुल्लाहले हारेट ह्रेइक जिल्लामा विश्वासघाती इजरायली आक्रमण भनेर अल–तब्ताबीको मृत्युको पुष्टि गरेको छ ।  समूहले उनलाई आफ्नो सबैभन्दा प्रमुख कमाण्डरहरू मध्ये एकको रूपमा वर्णन गरेको छ ।  

    ८. जलवायु परिवर्तनले जोर्डनको जैतुन उत्पादन खतरामा

    ५ हजार ४ सय वर्षभन्दा पुरानो विश्वका केही पुराना जैतुनको रूखहरूको घर जोर्डनले हालैका वर्षहरूमा उत्पादनमा सबैभन्दा तिब्र गिरावटको सामना गरिरहेको छ । जोर्डनको कुल क्षेत्रफलको लगभग ९२ प्रतिशत भाग सुख्खादेखि अर्ध–सुक्खा हावापानीमा पर्छ । कडा र खडेरी प्रतिरोधीका लागि परिचित जैतुनको रूखहरू यी परिस्थितिहरूमा फस्टाउँछन् । जोर्डनमा धेरै प्राचीन रोमन–युगका जैतुनको बगैंचा अझै पनि देशभर उभिएका छन् । तर पनि यस मौसममा शताब्दी पुराना रूखहरूले पनि संघर्ष गरेका छन् ।

    ९.टर्किए र दक्षिण कोरियाबीच आणविक ऊर्जामा सहकार्य हुने

    दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङको अन्कारा भ्रमणको क्रममा सोमवार टर्किए र दक्षिण कोरियाले एक समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ । जसको उद्देश्य आणविक ऊर्जा क्षेत्रमा सहयोगलाई सुदृढ पार्नु हो । दक्षिण कोरियाली राष्ट्रपतिसँगको संयुक्त पत्रकार सम्मेलनमा, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्किएमा आणविक ऊर्जा केन्द्र निर्माणको बारेमा दक्षिण कोरियासँग वार्ता जारी रहेको बताउनु भयो ।

    १०. दोहामा कतार अन्तर्राष्ट्रिय यात्रा प्रदर्शनी

    सोमवारदेखि शुरु भएको यात्रा र पर्यटनको लागि कतार अन्तर्राष्ट्रिय प्रदर्शनी दोहा प्रदर्शनी र सम्मेलन केन्द्रमा चलिरहेको छ । जसले पर्यटन र यात्रा उद्योगका अग्रणी विश्वव्यापी कम्पनीहरू र अधिकारीहरूलाई एकै ठाउँमा ल्याउँछ । यस वर्षको तीन दिने संस्करणमा ६० भन्दा बढी देश र क्षेत्रका ३ सय भन्दा बढी प्रदर्शकहरूले भाग लिइरहेका छन् । जसले राष्ट्रिय पर्यटन बोर्डहरू, आतिथ्य ब्रान्डहरू, ट्राभल कम्पनीहरू, नवप्रवर्तकहरू र सांस्कृतिक संस्थाहरूलाई एउटै छानामुनि एकताबद्ध गर्दैछन् । प्रदर्शनीले लगभग १२ हजार आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

    ११. पाकिस्तानको संघीय बल मुख्यालयमा आक्रमणः ३ जनाको मृत्यु

    पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तीय राजधानी पेशावरमा रहेको संघीय कन्स्टेबुलरीको मुख्यालयमा सोमवार भएको आक्रमणमा तीन सुरक्षाकर्मीको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका प्रहरीले जनाएको छ । खैबर पख्तुनख्वाका प्रहरी महानिरीक्षक जुल्फिकार हमीदले मिडियालाई बताएअनुसार एक आत्मघाती हमलाकारीले पहिले फ्रन्टियर कन्स्टेबुलरीको रूपमा चिनिने संघीय कन्स्टेबुलरीको मुख्यालयको मुख्य ढोकामा आफ्नो ज्याकेट विस्फोट गराएको थियो । आक्रमणपछि दुई आतंककारी मुख्यालयको प्रारम्भिक क्षेत्रमा प्रवेश गरे,  तर ड्युटीमा रहेका गार्डहरूले दुवै आतंककारीलाई घटनास्थलमै गोली हानी मारेको प्रहरी प्रमुखले बताउनु भयो । 

    १२. अब पुरानो पार्टीको धङधङीबाट मुक्त हुनूस्ः माधव नेपाल

    नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले अब पुरानो पार्टीको धङधङीबाट मुक्त हुन कार्यकर्तालाई निर्देशन दिनुभएको छ । अखिल नेपाल ट्रेड युनियनले मंगलवार आयोजना गरेको कार्यक्रममा उहाँले १४ वटा घटकलाई मिलाएर नेपाली कम्युनिष्ट पार्टीको गठन गरेकोले अब सबै नयाँ भएको बताउनुभएको हो । उहाँले पेरिसडाँडा मेरो, आलोकनगर तपाईंहरुको भन्ने मानसिकताबाट मुक्त हुन पनि आग्रह गर्नुभयो । यो संगठन मेरो, अर्को संगठन अरुको भन्ने भ्रममुक्त भएर अब सबै जनसंगठनहरुलाई एकतावद्ध गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले ईतिहासको चर्चा गर्दाखेरि पनि २०५२ सालदेखिको मात्रै नभएर २००६ सालदेखिको चर्चा गर्न पूर्वमाओवादी कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । 

    १३. ओलीलक्षित गृहमन्त्रीको टिप्पणीः ‘सार्वजानिक खपतको लागि निर्वाचन हुँदैन भन्नेलाई सरकारले कामबाट जवाफ दिन्छ’ 

    गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासन प्रवद्र्धन गर्दै निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी वर्तमान सरकारको रहेको बताउनुभएको छ । लुम्बिनी प्रदेशद्वारा मंगलवार भैरहवामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्नुहुँदै उहाँले निर्वाचनलाई नै मूल मन्त्र बनाएर काम गरिरहेको बताउनु भयो । वर्तमान सरकार निर्वाचन गराएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको उहाँको दाबी छ । उहाँले एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै केही व्यक्तिहरु सार्वजानिक खपतको लागि विभिन्न बाहाना देखाएर निर्वाचन हुँदैन भनेर हिँडिरहेको बताउनु भयो । 

    १४. नेकपाको एकता सन्देश सभाले निर्वाचनको लागि दबाब सिर्जना गर्नेछः संयोजक दाहाल

    नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल मंसिर १२ गतेदेखि आफूहरुले गर्न लागेको एकता सन्देश सभाले निर्वाचनको लागी दबाब सिर्जना गर्ने बताउनुभएको छ । अखिल नेपाल ट्रेड युनियनले मंगलवार आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा (मोवादी केन्द्र), एकिकृत समाजवादी सहितका विभिन्न कम्युनिष्ट घटक दलहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीको धनगढीदेखी विराटनगरसम्म एकता सन्देश सभा गर्न लागिएको बताउनु भयो । 

    १५. प्रशासन चलाउने शक्ति पदमा नभई विश्वासमा हुन्छः मुख्यसचिव अर्याल

    मुख्यसचिव एकनारायण अर्यालले प्रशासन चलाउने शक्ति पद भन्दा पनि विश्वास रहेको बताउनुभएको छ । ३५ वर्षको सरकारी सेवापछि मंगलवार अनिवार्य अवकाशमा जान लाग्नुभएका मुख्यसचिव अर्यालले प्रधानमन्त्री तथा उच्च अधिकारीहरूको उपस्थितिमा आयोजित विदाइ समारोहमा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले सरकारी सेवामा प्रशंसाभन्दा बढी चुनौती, आलोचना र असहज परिस्थितिहरू आउने बताउनु भयो । कुनैपनि राष्ट्रिय सेवकले प्रश्नबाट भाग्न नसक्ने उहाँको भनाई छ । उहाँले विशेषगरी संवेदनशील क्षण र निर्णायक अवस्थाहरूमा सबै पक्षलाई सन्तुष्ट पार्न नसकिने बताउनु भयो । 

    १६. सामाजिक सुरक्षा कोषमा रहेको डेढ खर्ब रुपैयाँ रोजगारीको लागि खर्च हुन सकेनः संयोजक दाहाल

    नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले समाजिक सुरक्षा कोषमा जम्मा भएको रकम युवाहरुको रोजगारिको लागि खर्च हुन नसकेको बताउनुभएको छ । अखिल नेपाल ट्रेड युनियनले मंगलबार आयोजना गरेको कार्यक्रममा उहाँले कोषमा रहेको एक खर्ब ५० अर्व रुपैयाँ फ्रिज भएर बसेको बताउनु भयो । उहाँले पछिल्लो पटक आफू प्रधानमन्त्री हुँदा विदेशमा रहेका मजदुर र श्रमिकहरुको मागअनुसार नै सामाजिक सुरक्षा कोषमा आवद्धता गर्ने घोषणा गरेको स्मरण समेत गर्नुभयो । कोषमा आवद्ध हुने मजदुरहरु र रकम झन्डै ढेड खर्ब पुगेको सुन्दा खुशी लागेपनि त्यत्रो रकम जम्मा भएर पनि मजदुरहरुलाई रोजगारी सृष्टि गर्न खर्च गर्न नसक्दा चिन्तित तुल्याएको बताउनु भयो ।

    १७. निजामति क्षेत्रमा मुख्यसचिव अर्यालले दिएको योगदान अनुकरणीय

    प्रधानमन्त्री सुशीला कार्कीले निजामति क्षेत्रमा मुख्यसचिव एकनारायण अर्यालले दिएको योगदान अनुकरणीय रहेको बताउनुभएको छ । बुधवारदेखि अनिवार्य अवकाशमा जान लाग्नुभएका मुख्य सचिव अर्यालको विदाईका लागि मंगलवार सिंहदरबारमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अर्यालको मेहनत, समर्पण र प्रशासनिक नेतृत्व उच्च उदाहरणका रूपमा स्थापित भएको उहाँको भनाइ छ । उहाँले अर्यालले आफ्नो लक्ष्यप्रति देखाएको प्रतिवद्धता, कार्यशैलीमा देखिएको अनुशासन र दीर्घ अनुभवले निजामति सेवामा महत्वपूर्ण छाप छोडेको उल्लेख गर्नुभयो । 

    १८. नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान

    सरकारले रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याललाई मुख्यसचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । उहाँकाअनुसार बैठकले बुधवारदेखि अनिवार्य अवकाशमा जान लागेका मुख्युचिव एकनारायण अर्याललाई सरकारको तर्फबाट धन्यावाद दिएको छ । उहाँले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक ईश्वर कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरी काठमाडौं उपत्यका प्रहरी कार्यालयमा पदस्थापन गर्ने निर्णय भएको पनि बताउनु भयो ।

    १९. प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगमा ६८ दल दर्ता

    आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हालसम्म कूल ६८ राजनीतिक दल दर्ता भएका छन् । प्रतिनिधि भभा सदस्य निर्वाचन प्रयोजनको लागि मंगलावरसम्म ६८ वटा दलहरु दर्ता भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता पन्थले हाल आयोगमा दर्ता कायम रहेका दलहरुको संख्या १ सय ३२ पुगेको छ । आयोगले यही मंसिर १० गतेसम्म प्रतिनिधि सभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि समयसीमा निर्धारण गरेको छ । उहाँले बाँकी सबै राजनीतिक दलहरुलाई समेत निर्वाचन प्रयोजनको लागि आयोगमा दर्ता हुन आह्वान गर्नुभयो ।

    २०. प्रधानमन्त्रीले समय नदिएको भन्दै सिंहदरबार गेट अगाडि जेन–जी समूह प्रदर्शनमा

    प्रधानमन्त्री सुशीला कार्कीले ज्ञापन पत्र बुझ्ने समय नदिएको भन्दै जेन–जी समूहले सिंहदरबार गेट अगाडि प्रदर्शन गरेको छ । प्रधानमन्त्री कार्कीले जेन–जी पुस्ताको माग सम्बोधन नगरेको तथा भेट्न समेत नदिएको भन्दै मिराज ढुंगाना समूहले मंगलावार सिंहदरबार गेट अगाडि प्रदर्शन गरेको हो । सिंहदरबार प्रवेश गर्न खोज्दा ढुंगाना समूह र प्रहरीबीच धकेलाधकेल समेत भएको छ । प्रदर्शनपछि सञ्चारकर्मीसँग कुरा गर्दै ढुंगानाले वर्तमान सरकार जेन—जी पुस्ताको मागप्रति गम्भीर नभएको आरोप लगाउनुभएको छ ।

    २१. यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको ‘समावेशी समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता

    यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको ‘समावेशी समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ । नुमा लिम्बूको अध्यक्षतामा दर्ता भएको उक्त पार्टीले मंगलवार दल दर्ता प्रमाण पत्र पाएको छ । दल दर्ता प्रमाणपत्र बुझ्नुअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता विश्वराज अधिकारीले राज्यका हरेक निकायमा लैङ्गिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व गराउने उद्देश्यले दल दर्ता गरिएको बताउनु भयो । उहाँले पुराना राजनीतिक दलहरुले यो समुदायलाई लामो समयदेखि भोट बैंकको रुपमा प्रयोग गरेपछि यो समुदायको हक र अधिकार स्थापित गर्न नसकेको आरोप लगाउनु भयो । 

    २२. प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दायर

    नेकपा (एमाले)ले प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । सोमबार तत्कालीन प्रतिनिधि सभा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले असंवैधानिक ढंगले विघटन गरिएको प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै रिट दायर गर्नु भएको हो । रिटमा प्रधानमन्त्री सुशीला कार्की असंवैधानिक ढंगले प्रधानमन्त्री भएको जिकीर गर्दै सो नियुक्ति बदर गरी संसदमार्फत नै सरकार निर्माण प्रक्रियालाई अघि बढाउन पनि माग गरिएको तत्कालीन एमाले संसदीय दलका प्रमुख सचेतक बर्तौलाले जानकारी दिनु भयो । उहाँले न्युज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै आफ्नो पार्टीले दायर गरेको सो रिटमाथि तत्काल मिति तय गरी सुनुवाई प्रक्रिया अघि बढाउन पनि जोड दिइएको बताउनु भयो ।

    २३. महिलाहरुको नियुक्ति र बढुवालाई प्राथमिकतामा राखेको छुः प्रधानमन्त्री कार्की

    प्रधानमन्त्री सुशीला कार्कीले सरकारी नियुक्ति र बढुवामा महिलालाई प्राथमिकता दिने बताउनुभएको छ । मंगलवार काठमाडौंमा एक समारोहकाबीच लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ गर्दै उहाँले सो कुरा बताउनु भएको हो । प्रधानमन्त्री कार्कीले महिलाहरुलाई प्राथमिकताका साथ सरकारी नियुक्ति र बढुवामा प्रश्रय नदिए आफूमाथि नै प्रश्न चिन्ह खडा हुने समेत बताउनु भयो । उहाँले आफूले हरेक नियुक्ति र बढुवामा महिलाहरु कहाँ छन् भनेर खोज्ने गरेको जिकिर समेत गर्नुभयो । प्रधानमन्त्री कार्कीले आफूले सकेसम्म महिलाहरुलाई सरकारी नियुक्ति र बढुवामा जोड दिने समेत स्पष्ट पार्नुभयो । आफू सरकारमा आएको करिव २ महिना बढी भएको र यस बीचमा पनि आफूले महिलाहरुलाई अघि बढाउने कुरालाई प्रश्रय दिएको उहाँको दाबी थियो । 

    २४. श्रवण शक्ति कम भएकाहरुलाई वरिष्ता र बेकरी तालिम

    श्रवण शक्ति कम भएका (बहिरा) युवाहरुलाई वरिष्ता र बेकरी तालिम दिइएको छ । शारीरिक रुपमा कमजोर भएका नागरिकहरुलाई पनि आयआर्जनको काममा जोडिनका लागि टेवा पु¥याउने उद्देश्यले उनीहरुलाई सो तालिम दिइएको हो । आय आर्जनको क्षेत्रमा काम गर्नका लागि टेवा पु¥याउने उद्देश्यले उनीहरुलाई पनि उद्यमशीलता र त्यसका लागि आवश्यक क्षमता अभिवृद्धिका लागि उत्प्रेरित गर्ने उद्देश्यले सो तालिम दिइएको नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) नेपालद्वारा सञ्चालित दिगो पर्यटन परियोजनाका प्रवन्धक धर्म दवाडीले जानकारी दिनुभयो । सो कार्यक्रमले शारीरिक रुपमा कमजोर भएकाहरुलाई पनि पर्यटन क्षेत्रको मूलधारमा ल्याउन सघाउ पु¥याउने उद्देश्य लिइएको पनि उहाँले बताउनु भयो । 

    २५. सबै राजनीतिक दलहरु निर्वाचनका लागि तयार भइसकेः सञ्चारमन्त्री खरेल

    सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै राजनीतिक दलहरु निर्वाचनको लागि तयार भइसकेको बताउनुभएको छ । मंगलवार एमालेले पनि निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएपछि उहाँको सो प्रतिक्रिया आएको हो । मन्त्रीपरिषद् बैठकमा निर्णयहरु सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री खरेलले अव निर्वाचन हुँदैन कि भन्ने आशंका गर्ने ठाउँ नरहेको समेत बताउनुभयो । 

    २६. ‘लगानी प्रवद्र्धन गर्न खुलाइएका सरकारी निकायहरु प्रभावकारी भएनन्’ 

    लगानी प्रवद्र्धन गर्न बनाइएका कतिपय निकायहरु प्रभावकारी नभएको भन्दै निजी क्षेत्रका अगुवाहरुले त्यसको रिफर्म गर्न जरुरी रहेको बताउनुभएको छ । उहाँहरुकाअनुसार त्यस्ता निकायहरु रिजल्ट दिन भन्दा पनि कर्मचारी व्यवस्थापन गर्ने थलो मात्रै बनेको भन्दै असन्तुष्टी व्यक्त गर्नुभयो । आज उद्योग दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले लगानी प्रवद्र्धन गर्नका लागि खुलाइएका निकायहरुले रिजल्ट दिन नसकेको बताउनु भयो ।

    २८. मार्जिन कारोवार सुविधा सम्बन्धी निर्देशन जारी गरिने

    “मार्जिन कारोवार सुविधा सम्बन्धी निर्देशन, २०८२” धितोपत्र दलाल व्यवसायीमार्फत लगानीकर्तालाई मार्जिन कारोवार सुविधा उपलब्ध गराउने उद्देश्यले सरकारले निर्देशन जारी गर्ने भएको छ । 
    धितोपत्र सम्वबन्धी ऐन, २०६३ को दफा ८७ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नेपाल धितोपत्र बोर्डले निर्देशन जारी गर्ने तयारी स्वरुप प्रारम्भिक मस्यौदा सार्वजनिक गरेको हो । मस्यौदामा मार्जिन कारोवारका लागि योग्य शेयरको व्यवस्था गरिएको छ । मार्जिन कारोवार सुविधाको प्रयोजनका लागि कम्तिमा ५० लाख कित्ता सर्वसाधारण शेयर सूचिकरण भएको, नेटवर्थ चुक्ता पुँजी बराबर र सो भन्दा बढी भएको, पछिल्लो तीन वर्षमा दुई वर्ष लाभांश वितरण गरेको, प्रारम्भिक सार्वजनिक निष्काशनमार्फत निष्काशन भएको शेयर सूचिकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको, धितोपत्र बजारले तोकेको अन्य व्यवस्थाहरु पूरा गरेको सूचिकृत संगठित संस्थाको शेयर मात्र योग्य हुने व्यवस्था गरिएको छ । 

    २९. सुनको मुल्यमा एकैदिन ५ हजार २ सयले वृद्धि

    सुनको मूल्य आज ५ हजार २ सय रुपैयाँले वृद्धि भएको छ । अघिल्लो दिन सोमवार १ हजार ९ सयले घटेको सुन आज ५ हजार २ सयले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलवार ५ हजार २०० ले बढेर प्रतितोला सुनको भाउ २ लाख ४७ हजार ९ सय कायम भएको छ । सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ । आज एक तोला चाँदीको मूल्य ३ हजार २ सय कायम भएको छ । अघिल्लो दिन सोमवार सोही परिमाणको चाँदी ३ हजार १ सय ३५ रुपैयाँमा खरिदविक्री भएको थियो । पछिल्ला दिनहरुमा सुनचाँदीको मुल्यमा चरम उतारचढाव देखिँदै आएको छ । मूल्य बढ्नुमा नेपाली करण भन्दा पनि अन्तर्राष्ट्रिय परिदृश्यले नै अर्थ राख्ने गरेको छ । - न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :मंसिर ९ २०८२ मंगलवार - १९:४५:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij