२०८२ मंसिर ११ गते बिहिवार
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्णबैठक (फुलकोर्ट) बोलाएका छन् ।
सर्वोच्च बार एसोशिएसनले प्रधानन्यायाधीशलाई भेटेरै र नेपाल बार एसोशिएसनले विज्ञप्तिमार्फत प्रधानन्यायाधीशले कार्यपालिकामा भाग खोजेको विषयमा गम्भीर चासो देखाएपछि फुलकोर्ट बस्न लागेको हो ।
यो बैठकले सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्काको संयोजकत्वमा गठित गोलाप्रथाद्वारा मुद्दा सुनुवाइ गर्ने सम्वन्धी प्रतिवेदनमाथि समेत छलफल गर्ने सर्वोच्चका एक न्यायाधीशले बताए । उनका अनुसार फुलकोर्ट बैठकले यस विषयमा छलफल गरी प्रतिवेदन ग्रहण गर्ने र प्रतिवेदनले गोलाप्रथाद्वारा मुद्दा सुनुवाइ गर्दा संशोधन गर्नुपर्ने निर्देशिका र कार्यविधिमा संशोधनको गृहकार्य पनि गर्नेछ ।
आज बस्ने भनिएको बैठकमा दसैं अवधिमा मुद्वा सुनवाइ गर्ने न्यायाधीशहरूको नामसमेत तय गरिने ती न्यायाधीशको भनाइ छ । सर्वोच्च अदालतमा घटस्थापनादेखि दसैं बिदा दिने चलन छ । यो बीचमा बन्दीप्रत्यक्षीकरणलगायतका अत्यावश्यक मद्दाको सुनुवाइ गर्न सिमित न्यायाधीशलाई जिम्मा दिने चलन छ । कुन दिन कुन न्यायाधीश उपस्थित भएर मुद्दाको सुनुवाइ गर्ने भन्ने विषयमा पनि फुलकोर्टमा छलफल हुने उनले बताए ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार बैठक दिउँसो १ बजेपछि बस्नेछ । दसैं बिदाको अवधिमा मुद्दा सुनवाइ गर्ने न्यायाधीशहरुको नाम तय गर्ने लगायतका एजेण्डामाथि छलफल हुने प्रवक्ता दाहालले जानकारी दिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij