कोरोनाका कारण लामो समयदेखि बन्द रहेका फिल्म हल आजदेखि सञ्चालनमा आउँदैछन् । हल सञ्चालनमा आए पनि अहिले फिल्म रिलिज हुने र दर्शक भीड हुने सम्भावना भने न्यून रहेको छ । नयाँ फिल्म प्रदर्शन हुन्छ कि हुँदैन भन्ने अन्योलमा बिहीबार फिल्म ‘लप्पन छप्पन–२’ को निर्माण पक्षले प्रदर्शन मिति घोषणा गरेको छ ।
मुकुन्द भट्टले निर्देशन गरेको यो फिल्म फागुन २७ गते महाशिवरात्रीबाट प्रदर्शनमा आउने भएको छ । बिहीवार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा सौगात मल्ल, अर्पण थापा र अनुपविक्रम शाही फिचर छन् ।
एक्सन जनरामा निर्मित फिल्ममा शिव श्रेष्ठ, प्रकाश कुँवर, स्व. दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतको पनि अभिनय रहेको छ । खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको यो फिल्मबाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तले अभिनयमा डेब्यू गर्दैछन् । फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।
फिल्मको पटकथा र संवाद मुकुन्द भट्ट र सुनिल नेउरेले तयार पारेका हुन् भने पटकथामा अमित शर्माले पनि सघाएका छन् । सुरज अधिकारी र प्रजापति सिवाकोटी कार्यकारी निर्माता रहेको फिल्ममा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट, दीपक आरजे र बुलेट फ्लोको संगीत, किङ योगी र दीलिप ओकेडाको कोरियोग्राफी, हिमाल केसी र मुकुन्द भट्टले द्वन्द्व र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् ।