२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । सभामुख अग्नी सापकोटाविरुद्ध मुद्दाको सुनुवाइ आज पनि नहुने भएको छ। सर्वोच्च अदालतको बुधबारको संवैधानिक इजलासमा मुद्दाको पेशी तोकिएको थियो। तर अदालत प्रशासनले मुद्दाको सुनुवाइ नमिल्नेमा राखेको जनाएको छ। इजलासमा सो मुद्दाको पेशी पटकपटक चढाइएपनि सुनुवाइ हुन सकेको छैन।
यसअघि भदौ १६ गते मुद्दाको पेशी संवैधानिक इजलासमा चढेको थियो। त्यतिबेला पनि सो मुद्दाको सुनुवाइ हेर्न नमिल्नेमा राखिएको थियो। माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै उनीविरुद्ध १० वर्षअघि मुद्दा परेको थियो। द्वन्द्वकालमा लामाको अपहरण पछि हत्या भएको थियो ।
तत्कालीन एमालेका स्थानीय नेता अर्जुन लामाको हत्या प्रकरणमा मृतककी पत्नी पूर्णिमाया लामाले काभ्रे जिल्ला प्रशासनमा जाहेरी दिएकी थिइन्। २०६२ वैशाखमा माओवादीले अपहरण गरेको र सोही वर्षको असार दोस्रो साता हत्या गरिएको भन्दै सापकोटाविरुद्ध उजुरी दिएकी थिइन्। उक्त जाहेरीअनुसार काभ्रे प्रहरीले बयानका लागि सापकोटालाई बोलाएको थियो।
त्यसपछि लामाको हत्यामा संलग्न रहेको भन्दै सापकोटालाई सभामुख नबनाउन माग गर्दै अदालतमा रिट दायर भएको थियो। वरिष्ठ अधिवक्ता तथा मानव अधिकारवादी दिनेश त्रिपाठीले सभामुखका लागि योग्य नभएको जिकिर छानबिनका लागि सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
डा।बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला सापकोटा सूचना तथा सञ्चारमन्त्री नियुक्त भएका थिए। सापकोटालाई मन्त्री बन्नबाट रोक्न माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य सुशील प्याकुरेल,पत्रकार कनकमणि दीक्षितलगायत मानवअधिकारवादीले रिट जाहेर गरेका थिए। रिटमा प्याकुरेललगायत निवेदकले मन्त्री र भविष्यमा कुनै पनि पदमा नियुक्ति नगर्न माग गरेका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij