Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रशिक्षक र स्थानीय जनगणना अधिकृतमा शिक्षकले पाए नियुक्ती, नियुक्ति पाउने शिक्षकको संख्या कति ?

प्रशिक्षक र स्थानीय जनगणना अधिकृतमा शिक्षकले पाए नियुक्ती, नियुक्ति पाउने शिक्षकको संख्या कति ?


  • 53.9K
    Shares

    प्रशिक्षक र स्थानीय जनगणना अधिकृतमा शिक्षकले पाए नियुक्ती, नियुक्ति पाउने शिक्षकको संख्या कति ?

    राष्ट्रिय जनगणना, २०७८ को प्रयोजनका लागि शिक्षकलाई प्रशिक्षक तथा स्थानीय जनगणना अधिकारीका रुपमा प्रयोग गरिएका छन् । 

    विगतका जनगणनामा शिक्षकलाई गणकका रुपमा प्रयोग गर्ने गरिएकोमा यस पटक गणकका लागि आवेदन माग गरेर छनोट गरिएको छ ।

    केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले एक हजार सात सय शिक्षकलाई प्रशिक्षकका लागि तालिम दिइएकोमा डेढ हजार शिक्षकले त्यसको नियुक्ति पाएको जानकारी दिए । 

    यस्तै देशभरि साढे तीन सय जनालाई स्थानीय जनगणना अधिकारी कार्यरत छन् र तीमध्ये शिक्षकहरु डेढ सय छन् । 

    उनले भने, “यस पटकको जनगणनामा शिक्षासँग धेरै प्रश्न थपिएका छन् । यसको नतिजापछि नेपालको शैक्षिक अवस्थाको चित्रण समग्रमा हुनेछ ।”

    जनगणनाको प्रश्नपत्रमा थुप्रै शैक्षिक विवरणलाई उल्लेख गरिएको छ । पाँच वर्ष वा सोभन्दा माथिका उमेरका सदस्यले पढ्न, लेख्न जानेको वा नजानेको, पढ्नमात्र जानेको, कहिल्यै पढन, लेख्न कुनै शैक्षिक संस्थामा गएको वा नगएको, उत्तीर्ण गरेको तह, अध्ययनको क्षेत्र (१० जोड २ वा सो सरह वा सोभन्दा माथि उत्तीर्ण गरेकाका लागिमात्र) लगायतका बारेमा जनगणनामा सोधिनेछ ।

    यस्तै हाल पढ्न लेख्न गइरहेका कुरालाई पनि प्रश्नावलीमा राखिएको छ । परिवारका सदस्य स्कुल वा कलेजको औपचारिक शिक्षा, अनौपचारिक शिक्षा वा स्वअध्ययनका बारेमा सोधिनेछ । अध्ययन गरेको क्षेत्रसम्बन्धी प्रश्नमा मानविकी तथा सामाजिकशास्त्र, व्यवस्थापन, शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य÷चिकित्साशास्त्र, इन्जिनियरिङ्, कानुन, कृषि, वन, पशुविज्ञान÷पशुचिकित्सा÷मत्स्यपालन, कम्प्युटर÷सूचना प्रविधि, अन्य वा थाहा छैन भन्ने प्रश्न तयार गरिएको छ ।

    शिक्षाको तहमा नर्सरी÷केजीदेखि विद्यावारिधिसम्म सोधिने छ । त्यस्तै तह नभएको वा तह नखुलेका बारेमा पनि जानकारी लिइने व्यवस्था गरिएको छ । विदेश जानुको मुख्य कारण अध्ययन वा तालिम पनि भए नभएका बारेमा सोधिनेछ ।

    त्यस्तै आधा घण्टाको पैदल दूरीमा उच्च शिक्षा (कक्षा १२ भन्दा माथि)को सेवा उपलब्ध भए नभएको, आधा घण्टाको पैदल दूरीमा पुस्तकालय सुविधा उपलब्ध भए नभएको, वडाभित्र प्रारम्भिक बालविकास केन्द्र, आधारभूत तहका विद्यालय, माध्यमिक तहका विद्यालय, महाविद्यालय भए नभएको, अपाङ्गमैत्री विद्यालय भए नभएको, विद्युत र इन्टरनेटमा पहुँच भए नभएका विद्यालयका बारेमा पनि जानकारी प्राप्त गरिनेछ । वडामा सार्वजनिक पुस्तकालयको अवस्थाका बारेमा पनि जनगणनाले विवरण सङ्कलन गर्नेछ ।

    साक्षर हुन शिक्षण संस्थामा गए नगएको लगायतका प्रश्न नराख्ने भन्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आग्रह गरेको थाहा भएको छ । तर पछि यसलाई हटाइएको छैन । विभागका उपमहानिर्देशक रेग्मीले सुरुमा कायम गरिएका कुनै पनि प्रश्नावलीलाई नघटाइएको बताए ।

    गत जेठमा बन्दाबन्दीका कारण जनगणना हुन सकेको थिएन । स्थगित जनगणना आगामी कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन हुनेछ ।

    प्रकाशित मिति :भाद्र २९ २०७८ मंगलवार - १३:४३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij