२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं। सेयर धितो ऋणमा कडाइले बजार घटेपछि नेपाल राष्ट्र बैंकले सोमबार यसबारे प्रष्टीकरण दिएको छ। राष्ट्र बैंकले आफ्नो वेवसाइटमा एफएक्यु (बारम्बार सोधिने प्रश्नहरु) शीर्षकमा सेयर धितो ऋण बारे प्रष्टीकरण दिएको हो।
राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिको ब्यवस्था अनुसार निर्देशन जारी गर्दै एउटा बैंकिङ संस्थाबाट बढीमा ४ करोड र सबै गरेर १२ करोडसम्म लिन पाउने व्यवस्था गरेको छ। यो व्यवस्थापछि सेयर बजार निरन्तर घटिरहेको छ। आइतबार त बजार १०८ अंकले घटेको थियो। सोमबार पनि बजारमा तीव्र उतारचढाव छ।
यसै सन्दर्भमा राष्ट्र बैंकले "के व्यवसाय गर्नको लागि सेयर धितो राख्न पाइन्छ ? यस्तो कर्जा लिँदा समेत मार्जिन कर्जाको एकल ग्राहक कर्जा सीमा लागू हुन्छ?" भनेर प्रश्न उठाउँदै उत्तर दिएको छ।
भनिएको छ- उद्यमी व्यवसायीहरुले उद्योग व्यवसायका लागि अन्य धितोसँगै सेयर समेत धितो राख्न चाहेमा सेयर धितो राखी कर्जा लिन पाइन्छ।
बैंक तथा वित्तीय संस्थाले व्यवसायिक प्रयोजनको लागि प्रवाह भएको कर्जाको लागि अन्य सम्पत्ति धितो राखे सरह अतिरिक्त धितोको रुपमा सेयर समेत धितोको रूपमा राख्न सक्छन्।
अन्य संस्थाको सेयर किन्ने प्रयोजनदेखि बाहेकका व्यावसायिक प्रयोजनको लागि सेयर धितो राखी प्रवाह भएको कर्जामा मार्जिन प्रकृतिको कर्जामा जस्तो एकल ग्राहक कर्जा सीमाको रूपमा रहेको एउटा इजाजतपत्रप्राप्त संस्थाबाट अधिकतम ४ करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँको सीमा लागू हुँदैन राष्ट्र बैंकले प्रष्टीकरण दिएको छ।

यो प्रष्टीकरणले सेयर कारोबारीलाई भने सहज हुने छ। कसैले उद्यम ब्यवसायमा भनेर सेयर धितो ऋण लिन सक्छन्। त्यो पैसामा सीमा हुँदैन। यसको नियमन राम्रो नभएमा बैंक ऋण बजारमै जाने सम्भावना उच्च छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij