२०८२ भाद्र ७ गते शनिवार
राष्ट्रियता के हो भन्ने सन्दर्भमा हामीमाझ अनेकौं बहस छन् । अहिले फेरि राष्ट्रियताको बहस एकपटक तातेको छ । देशभक्तिको स्वर उर्लेको छ । भावुकताले सीमा नाघेको छ । भनिन्छ– ‘राष्ट्रवाद’ राजनीति शास्त्रमा सबैभन्दा बिकाउ शब्द हो ।
कोही भन्छन्– भूगोल हो राष्ट्र । कोहि भन्छन् जातजाती हो राष्ट्र । कोही भन्छन् देशको माया भरिनुमा छ राष्ट्रभक्ती । वास्तवमा मुलुक माया गर्ने कुराले मात्र देशभक्ति वा राष्ट्रियताको सम्बद्धधन हुन्छ जस्तो लाग्दैन । देशलाई शान्त बनाउने, समृद्ध बनाउने, प्रगतिपथमा हिँडाउने कुराले राष्ट्रलाई माथि उठाउँछ र देशभक्ति झन् व्यापक पार्छ ।
सडकमा नारा लगाउने, रेलिङ भाँच्ने र भारतको बिरोध गर्ने भाष्य निर्माण भएको छ । यस्तो हुनु हाम्रो समाज उग्र राष्ट्रवादले आक्रान्त हुनु हो । नेपाली समाजले झेल्दै आएको जुन मनोदशा छ, त्यसले राष्ट्रवादको वास्तविक भाष्य निर्माण गर्न दिएको छैन ।
गरिब देशलाई अभावले नै गाँज्छ । अभावले निम्न स्तरको चेतना निर्माण गर्छ । निम्नस्तरको समाजको राष्ट्रवादी चेतना उन्नत हुनु कुरा भएन । हाम्रो देशमा उठेका मुक्ति आन्दोलन सफल हुँदा पनि त्यो जनतासम्म पुग्न नसक्नु कारण पनि यहीँ लुकेको छ ।
एउटा देशमा दुइटा शिक्षा प्रणाली हुन्छ भने त्यो कसरी न्यायोचित हुन्छ ? एउटा देशमा कसैलाई डाक्टर चाकरी, कसैले अस्पताल नै नहेरी मर्नुपर्ने बाध्यता हुन्छ भने त्यो कसरी समानतामुलक समाज हुन्छ ? यसैले फेरौ परिभाषा । देशभक्तिको नारालाई समृद्धिमा जोडौ , समृद्धिलाइ देशभक्तिसँग जोडौं । फेरौ भाष्य !
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij