Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

जाली र महाजालीबीचको माथापच्ची

जाली र महाजालीबीचको माथापच्ची


  • 10.7K
    Shares

    जाली र महाजालीबीचको माथापच्ची
    तिहारको छेकमा जति गर्माएको छ ताई, त्यसभन्दा रतीभर कम गर्माएको छैन कथित नेकपाको अराजनीतिक रडाको । स्वार्थका अनगिन्ती चुला बलेका छन् अन्तरकुन्तरमा र कहाँनेर आफ्नो कपटी पकवान भर्सिन सकिन्छ भनेर झिंगेदाउ हान्नेको लिगलिगे दौड नेपथ्यमा चलिरहेकै छ । मूलतः दीपावलीको पूर्वसन्ध्या तथा सचिवालय बैठकको सेरोफेरोमा महाजाली र महाझेलीको पगरी गुतेका प्रथम अध्यक्ष आफ्नो गलत मानसिकता त्याग्न एक मासा तयार छैनन् भने अर्का नाममात्रका कार्यकारी र कामका मूर्तिवत् अध्यक्ष आफ्नो पूरै बुताले अन्तिम लडाईं गर्ने अर्को बेमौसमी उद्घोष गर्दै छन् । उनको अन्तिम लडाइँको थेगोसँग अभ्यस्त प्रथम अध्यक्षले उनलाई भुसुनोसरि पनि भाउ दिएका छैनन् ।
     
    फकाएर वा थर्काएर पुनः बाहिर पेचिलो ठानिएको पदीय मोलतोलमा अल्झेको रडाको परालको आगोमा फासफुस पार्ने ताकमा छन् प्रथम अध्यक्ष । अन्ततः सिद्धान्तविहीन यो माथापच्ची फेरि पनि द्वितीय अध्यक्षलाई जिल्याएर टुङ्गिँदै छ । प्रचण्डले पेस गरेको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनको भाषा शैली हेर्दा चालु बैठकमा द्वितीय अध्यक्षलाई थप ताछिने छ, अझै पदलोलुप चित्रित गरिने छ, फेरि एकपटक कायल पारिने छ, झ्याँको झारिने छ र बँचेखुचेको सम्मानमा अरू तातो पानी खन्याइने छ । ओलीले अर्को चक्रब्यूहमा फसाएर अधिवेशनमा अध्यक्षको उम्मेदवार नैतिक रूपमा बन्न नसक्ने गरी थला पार्ने छन् भन्ने कुरा उनले प्रतिउत्तर दिएको चिठीको भाषाबाट लख काट्न सकिन्छ ।
     
    सिङ्गो क्रान्तिकारी पार्टीलाई ओलीको पाउमा सभक्ति सुम्पेको विशेष इनाम नाङ्गेझार पारेर यसरी दिएका छन् यो पत्रयुद्धमा कि द्वितीय अध्यक्ष अब कहिल्यै पार्टी अध्यक्ष बन्न सक्ने छैनन्, न त वरिष्ठ नेताहरू नै । यसको छनक उनले समस्याको वास्तविक जड निश्चित शीर्ष नेताहरुको अतृप्त आकाङ्क्षाको प्रतिफलबाहेक केही होइन भन्दै घृणाको तीर कनिष्ठ अध्यक्षतिर सोझ्याएका छन् । चुनौतीको शैलीमा उनले भनेका छन् - ' म मानिस सानो र खुट्टाहरूसमेत सानासाना भए पनि अझै देशको कार्यभार बोक्न सक्ने अटल विश्वास र क्षमता छ ।' आफैँलाई राज्य घोषणा गर्ने लुइ चौधौंलाई माथ गर्ने गरी उनले चुनौती दिएका छन्-' मेरा लागि होइन, देशका लागि मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । यसकारण म राजीनामा दिनेवाला छैन ।' यो हुङ्कार कुनै खतरनाक तानासाहको भन्दा कम डरलाग्दो छैन । र त उनले कुनै बखतका जनयुद्धका कमान्डरलाई बेवास्ता गर्ने, गलाउने, थकाउने, अटेरी गर्ने, चुनौती दिने, तछार्ने, हुर्मत लिने जस्ता नीति अख्तियार गरेका छन् अर्का अध्यक्षविरूद्ध । एउटा विरूद्ध अर्कोलाई उकास्ने र आपसी अविश्वासको वातावरण सिर्जना गरी धमिलो पानीमा माछा मार्ने उनको साजिस सनातनी भनेर बुझ्नेहरूसमेत उनको कपटी खुँगामा परेका अनेकानेक दृष्टान्त छन् । कहिले माधवकुमारविरूद झलनाथलाई उचाल्ने त कहिले झलनाथका विरूद्ध माधवलाई उकास्ने उनको जाली चरित्रले नै उनी यो स्थानमा आइपुगेका भुक्तभोगी पूर्व एमालेहरू बताउँछन् । अहिले त बादल र ईश्वर पोखरेललाई मन्त्रीपदबाट प्रचण्डले बर्खास्त गर्न चाहेको भन्ने लाञ्छना लगाएका छन् प्रचण्डलाई र त्यही अचुक अस्त्र प्रयोग गरी बादललाई आफ्नो पाशमा राखिराख्ने रकमी चाल चलेका छन् ।
     
    प्रचण्डलाई 'कचकचे'को संज्ञामात्र दिएका छैनन् उनले बरू पदलोलुप, नातागोता पोस्ने एक षड्यन्त्रकारीका रूपमा चित्रित गर्न भ्याएका छन् । ' कोही ३०-३५ वर्षदेखि हातमा डाडु, पन्यू लिएर आफ्नाहरूलाई पोसिरहने, कोही भान्सामा पस्न त के हेर्नसम्म पनि नपाउने परिपाटीलाई अझ कति निरन्तरता दिने ? भन्दै प्रचण्डको छाला काढ्ने कोसिस गरेका छन् । गुटबन्दी र दाउपेचको ठिटिनी प्रचण्डतिर प्रहार गर्दै व्यङ्ग्य कसेका छन् -' कसरी र के भन्दा कमरेड फकिनुहुन्छ? भन्नुस् न त ! ल, मैले फेरि फकाएँ •••• आउनुस् गुटबन्दी र दाउपेच छाडौँ, हाम्रो पार्टीलाई एकजुट बनाऔँ ।' तर यस्ता सङ्गिन सवालमा प्रचण्डको प्रतिउत्तर निम्छरो छ । ओलीकै शब्द सापटी लिने हो भने 'रोइलो र कचकच'बाहेक केही छैन प्रतिउत्तरमा । सोझो भाषाको जवाफ छ्याङ्छ्याङ्ती छ । ओलीले तथ्यहरूको तोडमरोड र झुटको खेती गरेको बात लगाउँदै पार्टी एकताका निम्ति आफू त्यागी नेता बनेको दावी गरेका छन् उनले । त्यसरी नै मिथ्या आरोपको औजारद्वारा नेतानेता जुधाउन खोजेको आरोप सीधा भाषामा लगाएका छन् । त्यसो त भिन्न मतप्रति चरम असहिष्णु, फरक विचारलाई पूर्ण निषेध गर्ने, षड्यन्त्रका तानाबाना बुन्न खप्पिस खेलाडी, यतिदेखि ओम्नीसम्मको गोप्य साँठगाँठ, जनमुखी आचरणको चरम अभाव, जस आफू लिने र अपजस अर्काको पोल्टोतिर फ्याँकिदिने धुर्त स्वभाव, राष्ट्रवादको आवरणमा चरम लेण्डुपे प्रवृत्ति ओलीका पर्याय नै हुन् जसको जमेर प्रतिवाद गर्न सकेको देखिँदैन । यस्ता निरीह पात्रले त्यत्रो आँधीमय जनयुद्धलाई कसरी हाँके होला ? संशय गर्ने ठाउँ प्रसस्त दिएका छन् उनले ।
     
    हो , ओली यतिबेला अरुचिको सचिवालय बैठकमा बाध्यतावश हाई काढ्दै सामेल छन् । बैठक छल्न लाख यत्न गरे पनि कामयावी नभएपछि उनी दोब्रिएर आएका हुन् । अहिलेको उनको हालत निम्न कथाको कागको जस्तो छ । आफ्ना सारा झिटीगुन्टा बोकेर उदासी चेहरासाथ कतै रल्लिइरहेको कागलाई देख्नासाथ परेवाले नजिकै गई सोध्यो- ' होइन ओ काग भाइ, कतै टाढै पो जान लागेको हो कि के हो ? ' निरास मुद्रामा कागले जवाफ दियो - ' हो,परेवा दाइ म त पूर्वतिर बसाइँ जाँदै छु । मेरो बोली यहाँ कसैले मन पराएनन् । तसर्थ घृणाको पात्र बनेर सधैं यहाँ बस्नु उचित लागेन ।' कागको कुरा सुनेर अनुभवी परेवाले भन्यो - ' हेर काग भाइ, तिमीले अरूलाई बेठीक देख्नुको सट्टा केवल आफ्नो बोली बदल्ने प्रयास गरे सब ठिकठाक हुन्छ । अन्यथा तिमीलाई यहाँमात्र होइन, पूर्वमा पनि घृणा गरिने छ । अझ भनौं, संसारको जुनसुकै कुनामा पनि तिमीलाई सहजरूपमा स्विकारिने छैन ।' कागझैं चलाख ओलीले कागलेझैँ आफ्नो सीमा मनन गर्ने सम्भावना भने निकै क्षीण छ । जसले आफू सर्वज्ञ सम्झन्छ , त्यसले पृथक पहिचान र अस्तित्व किमार्थ स्वीकार्दैन । यो धर्तीमा आफूले नजानेको ज्ञान नै छैन भन्ने भान कसैलाई छ भने त्यो ओलीलाई नै छ भन्ने कुरा उनका कदम कदमका कथनले अभिव्यक्त गरिरहेका हुन्छन् ।
     
    आफूलाई नयाँ ब्याधी कोरोना विशेषज्ञ ठान्नेदेखि जासुसी संस्थाका प्रमुखलाई प्रधानमन्त्रीका दूत मान्नेसम्मका उनका नयाँ परिभाषा र तर्क अरू कमैलाई थाहा हुने गर्छ । उनी आफ्नो स्वार्थलाई पायक पर्ने गरी विश्लेषण र संश्लेषण गर्ने गर्छन् घटना र प्रवृत्तिका । कहिले दोस्रो अध्यक्षलाई भावी अध्यक्ष उनै हुन् भन्दिन्छन् त कहिले वरिष्ठ नेतालाई । कहिले उपाध्यक्षलाई प्रधानमन्त्रीको चारो फ्याँक्छन् त कहिले उनैको राष्ट्रियसभामा गर्ने निर्णय भएको मनोनयन अस्वीकार गर्छन् । आफू कुर्सीमा टाँसिन खोजिराख्ने उनलाई अरूले त्यस्तै सोचे भने नफ्रत पैदा हुन्छ ; र त थालिहाल्छन् उछित्तो काढ्न । उनलाई पौडी पोखरीभन्दा हिले पोखरी सुन्दर लाग्यो भने अरूलाई पनि त्यही लाग्नुपर्छ भन्ने मनोरोगबाट ग्रसित छन् उनी निम्न कथाको भ्यागुतोजस्तै ।
     
    कुनै समयको कुरा हो पौडी पोखरी र हिले पोखरीबीच आआफ्ना सुन्दरताबारे चर्काचर्की भएछ । पौडी पोखरीले हिले पोखरीभन्दा आफू निर्मल, कञ्चन र सुन्दर भएको तर्क पेस गरेछ । हिले पोखरीले आफू अनेक जीव-जीवात्माको आश्रयदाता भएकाले आफू सुन्दर भएको दावी गरेछ । यो सुन्दरताको अन्तहीन बहस त्यही बाटो गरी कतै जान लागेको भ्यागुताको जवाफलाई अन्तिम फैसला मान्ने निधोसहित् मध्यस्थताको निम्ति करजोरी विन्ती गरेछन् दुवैले । भ्यागुताले आफूलाई पायक पर्नेगरी 'वास्तवमा सुन्दर त हिले पोखरी नै हो' भन्ने निर्णय सुनाएछ । उसको तर्क रहेछ - '••••• र त कमलको फूल हिले पोखरीमा नै फुल्छ । त्यसैले मलाई पनि यहीँ आश्रय लिन मन पर्छ ।' फैसलाले पौडी पोखरी अक्क न बक्क भएछ भने हिले पोखरी मखलेल । अहिले ओली वरिपरिका भ्यागुताहरूले हिले पोखरी नै सुन्दर भनेकाले अरूको मुखबाट पौडी पोखरी सुन्दर भन्ने हिम्मत बटुल्ने कुरामा सबैतिर सन्देह नै छ । आफ्नो स्वतन्त्र विवेकले जतिबेलासम्म पौडी पोखरी निर्मल छ भन्ने आँट कथित नेकपाका नेता, कार्यकर्तामा आउन्न त्यतिबेलासम्म या त अरिङ्गालको टोकाइ सहनु वा अलग पार्टी बनाएर स्वअस्तित्व धान्नुको विकल्प छैन ।

    प्रकाशित मिति :कार्तिक ३० २०७७ आइतवार - ०८:१३:४१ बजे
    प्रतिक्रिया

    माधव घिमिरे 'अटल'

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij