२०८२ भाद्र २ गते सोमवार
विद्यार्थी आन्दोलनका प्रारम्भिक दिनहरूमा मैले नेविसंघ नेताको रूपमा गुरुराज घिमिरेको नाम सुनेको थिएँ जुनबेला नेपाली राजनीतिमा गिरीजाप्रसाद कोइरालाको दबदवा थियोे । जनआन्दोलनको आर्कहरूमा गुरुराज लगायत नेविसंघका तरुण विद्यार्थीहरूले नारा लगाएका थिए– ‘लोकतन्त्र जिन्दावाद’ । तत्कालीन सातदल र नेकपा माओवादीको नेतृत्वमा लोकतन्त्र आएको थियोे । गिरीजाप्रसाद कोइराला, सुशीला कोइराला जस्ता बृद्ध नेताहरूले सडकमा पुलिसको लौरो खाइरहेका थिए । त्यतिबेला पत्रिकातिर गुरुराजको तरुण फोटो छापिन्थियो । हामी कवितामै भन्थ्यौं ‘लोकतन्त्र जिन्दावाद !’
धेरै पछि मात्र मैले नेता गुरुराज घिमिरेको कवि ब्यक्तित्वबारे थाहा पाएँ । उनले राष्ट्रवादी, जीवनवादी र आदर्श चेतसहितको कविता लेख्छन् भन्ने थाहा पाएँ । कविताको मर्मलाई छोएर कविता लेख्न सक्ने उनले समाएको राजनीतिक बिचारधाराप्रति मेरो असहमति छ । तर उनको केही कविताको समय चेतबाट म प्रभावित छु । भलै कवितामा उनले जिकिर गरेको राष्ट्रियताको सन्दर्भमा बहस गर्न सकिन्छ ।
हालै उनको नविनतम कविता सङ्ग्रह बजारमा आएको छ, मृत्युसँग साक्षात्कार । सहकारीबाट ऋण झिकेर सुखम् दुखम् चलिरहेको बिएन पुस्तक संसारले यस कविता संग्रहलाई बजारमा ल्याएको हो । बरु फर्सीको साग खाने तर स्वाभिमान धरौटीमा नराख्ने प्रीय कमरेड सुर्य बिसी र ठाकुरजीले जोखिम मोलेर कविता संग्रह बजारमा ल्याएका हुन् ।
कविता संग्रह मुलतः तीन खालको कविता समावेश छन्, १) राष्ट्रियताको चेत बोकेका कविता २) जीवन दर्शन र आदर्श चेतका कविता ३) समसामयिक राजनीतिक, सामाजिक चेतका कविता ।
सङ्ग्रहमा मलाई एकदम मन परेको कविता हो– मृत्युसँग साक्षात्कार । यो कविता जीवन र मृत्युको चिन्तन गर्ने कविता हो । एक टुक्रा हेरांै–
हो, म जिउँदै छु त
नपत्याए मेरो धड्कन छाम्न सक्छौ
हिँड्नु, डुल्नु, खानु, पिउनु
अनि सारा सास फेर्नुमात्र
जिउनु हो र साथी ?
उसको नयाँ प्रश्नको बन्दुक
तेर्सियो म उपर
नाजवाफ थिएँ म
अर्को कविता छ फगत एक अनुभुती । यो कविताले आशावादी स्वर बोलेको छ ।
जीवनको आयाम पनि साँट्ने छैन कर्मसँग
किस्तीमा हालेर तिमीलाई बुझाएको
मेरो हर हिसाब चुक्ता हुनै बाँकी छ
तिम्रो लीलाहरूको पर्दाफास गर्नै बाँकी छ
मेरो आँशुको मूल्य असुल्नै छ अझै
उनको कवितामा अब्बल समसामयिक चेत पाइन्छ । उनी राजनीतिकर्मी भएकोले पनि त्यो राजनीतिक ढंगले आएको छ । कहिलेकाहीँ समसामयिक चेतलाइ कलाले भर्न सकिएन भने त्यो इन्टर कविता बन्ने खतरा धेरै हुन्छ । कवि गुरुराजका कवितामा आएको समसामयिक चेत इन्टर कविता हुनबाट जोगिएको छ । नेता शीर्षकमा कविता हेरौं–
मेरो लगाम उ त्यसले समाएको छ
म त एउटा जाबो टेपरिकर्डर हूँ
थिचेपछी बल्ल बोल्छु
म त एउटा गुडिया हूँ
नचाएपछी बल्ल नाँच्छु
म त एउटा भकुण्डो हूँ
बजारेपछी बल्ल उफ्रिन्छु
म त एउटा सुगा हूँ
बोलाएपछी बल्ल बोल्छु
म त एउटा आज्ञाकारी कारिन्दा
अह्राएको गर्छु , नूनको सोझो ।
उनको धेरै कविता ब्यंग्य चेत पनि छ । समाज र राजनीतिका धमिला पाटोहरूमा असहमति छ घिमिरेको । त्यो असहमति कतै मुर्त छन् कतै अमूर्त । मूर्त लाग्ने कविता राजनीति प्रबन्धमा उनी लेख्छन् –
कुहिएको लासको गन्ध
सौर्यमण्डलमा झरेको उल्कापिण्ड
आफन्तको कारूणिक चीत्कार
सत्याग्राहीमाथि घनघोर अत्याचार
छाँट न काँटको बेढङ्गको निबन्ध
धन्य हो मेरो देशको
राजनीतिक प्रबन्ध
गुरुराजको कवितामा आएको राष्ट्रवादी चेतना कतिपय ठाँउमा चाहिँ प्रश्न गर्न लायक छन् । हिमाल, पहाड, झरना मात्र होइन पृथ्वीनारायण शाहको धेरै ठाँउमा उच्च प्रशंसा गरिएको देखिन्छ । सहिद र वलिदानीको कम चर्चा भएको छ । जबकि मुलुक बन्न जनताको रगत पसिना बग्यो ।
म नेपाली हुनुको अस्तित्वको प्रमाण
मेरो प्रातः स्मरणीय पुर्खाहरूको
महान उत्सर्गको परिणाम
बिशाल राष्ट्रको निर्माण
कुनै राजाको फगत महत्वाकांक्षा मात्र
मान्दिन म यस महायज्ञलाई
( चन्द्रागिरी पर्वत )
देश जोगाउन पर्छ । देशको रक्षा गर्नुपर्छ । देश फुलाउनु पर्छ भन्ने भावका कविता संग्रहमा देख्न सकिन्छ ।
जोत्न दिन्नौ तिम्रो कमल छाती
ढोंगी र पाखण्डीहरूलाइ धपाएर
गाड्ने छौँ सौर्यको झण्डा
कायम राख्ने छौँ तिम्रो अस्तित्व
पहिचान र स्वतन्त्रता
मेरो प्रीय कालापानी
(मेरो कालापानी )
प्रेमिल भावका कवितामा यसमा समावेश छन् । धोका, मिलन बिछोडका शब्दहरू कोरिएका केही कविता छन् जस्तो –
बाटो छली हिँड्नेसँग अचानक भेट भयो
माया निकै लाग्यो तर सारै लेट भयो
( बाटो छली हिँड्नेसँग )
एउटा गीत लेखांै भन्थें लेख्नै सकिएन
जिन्दगीका गल्तीहरू देख्नै सकिएन
( जिन्दगीका गल्तीहरू )
कविताको मुल्याङ्कन गर्नु गाह्रो कुरा हो । कविताको तुलना पनि हुँदैन । तर कवितामा विचार र दर्शन चाहिँ हुन्छ ÷ हुनुपर्छ । नत्र त्यो अर्थहीन निबन्ध मात्र भइदिन्छ । यसैले गुरुराजका कवितालाई बैचारिक मुल्याङ्कन गर्न आवश्यक छ । वैचारिक रूपमा भन्न सकिन्छ गुरुका कवितामा कला छ सचेत प्रजातान्त्रिक रङ पनि ।
अनेकौं रंगहरूसँग शब्दको कुच्ची चलाएर समाजको क्यानभास रङ्गिन पारेका छन् उनका कविताले । दुःख, पिडा, आक्रोश, उत्पीडन, देशभक्ति र प्रजातन्त्र अटाउने गुरुको कविता संग्रह पठनीय र संग्रहणीय छ । सरल कवितामा गम्भीर भाव दिन सक्नु यो गुरुको कविताकारिताको पहिचान हो । यो पहिचान यो संग्रहसम्म आइपुग्दा पनि कायम छ ।
हो, गुरुका कवितामा बिपीले देख्नुभएको प्रजातान्त्रिक समाजवादको अबधारणा स्पष्ट देखिन्छ परैवाट !
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij